प्रेमील गजलकारको भावपूर्ण बिदाइ

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०८१
prakat pageni

पोखरा।

‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ?
हातका औँला चालिराख्यौ को आउँदै आज ?
हिजो अस्ति उक्किएका घरका छेउकुना,
बिहानदेखि टालिराख्यौ को आउँदै छ आज ?

यी र यस्तै प्रेमील प्रश्न गर्ने कवि तथा गजलकार प्रकट पगेनी ‘शिव’ कहिले नआउने गरी अस्ताए ।

मंगलबार ६७ वर्षको उमेरमा यो धर्ती छाडेका उनै चर्चित कवि, गीतकार र गजलकार पगेनीको बुधबार सेती नदी फूलबारी घाटमा अन्त्येष्टि भयो । तर, अन्त्येष्टिमा पुग्ने कसैको आँखा ओभाना थिएनन् । प्रिय साहित्यिक स्रष्टाको चिरशान्तिको कामना गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए ।

सोमबार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । जन्डिस, निमोनियाबाट गम्भीर बिरामी उनको मंगलबार दिउँसो उपचारका क्रममा निधन भएको हो । पगेनीको निधनसँगै शुभचिन्तकहरु सामाजिक सञ्जालमा पनि श्रद्धाञ्जली पोस्ट्याइरहेका छन् ।

स्व. प्रकट पगेनी ‘शिव’

साहित्यिक क्षेत्रमा अमूल्य योगदान दिए पनि उनी आर्थिकरुपमा कमजोरै थिए । तसर्थ भेन्टिलेटरमा राखिएका उनको उपचारार्थ आर्थिक संकलन अभियान सुरु भएको थियो । तर केही घण्टामै प्रकट सधैंका लागि अस्ताए ।

खासमा उनी घरगृहस्थीका कविका रुपमा बढी चिनिन्छन् । गाउँघरका शब्द टपक्क टिपेर साहित्यमा ढाल्न सक्ने उनको खुबी थियो । २०६२ सालमा गजल सन्ध्या पोखराको आयोजनामा ‘प्रणयमा प्रकट दाइ’ एकल गजल साँझ भएको भएको थियो । निकै सफल उक्त साँझपछि त उनी शृङ्गारिक गजलकारका रुपमा बढी चिनिए।

उनी ‘अक्षरयात्रा पोखरा’ का परिकल्पना हुन् । पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष उनी ‘भावना परिवार’ का समेत परिकल्पनाकार रहेको साहित्यकार रुपिन्द्र प्रभावी कटुले बताए । उनी गजल सन्ध्यामा सल्लाहकार लगायत विभिन्न संघसंस्थामा आबद्ध रहे । एकेडेमीमा जाने उनको ठूलो इच्छा भए पनि राजनीतिक पहुँच नहुँदा खुम्चिनुपरेको थियो । सधैं हँसमुख उनी नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत थिए ।

पगेनीका ‘यो मन कतै अल्झेको छ’ गीतसंग्रह प्रकाशित छ । त्यसपछि उनले ‘जूनको चिठी जूनालाई’ अर्को गीतसंग्रह ल्याए । ‘प्रणयवेदका ऋचाहरू’ गजलसंग्रह र ‘अक्षरभरि अक्षता’ कवितासंग्रह प्रकाशित गरे । उनका केही उपन्यास समेत प्रकाशन तयारीमा समेत थिए । तर, त्यो अधुरो रह्यो । कवि, गीतकार, गजलकार, कलाकारबाट परिचित उनको ‘तगारो छेउ आएर पनि’ निकै रुचाइएको गीत हो ।

कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा जन्मिएका उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

जीवनकालमा उनले विभिन्न क्षेत्रमा हात हाले । केही रंगकर्म पनि रमाए । लुम्ले कृषि अनुसन्धान केन्द्रमा आर्टिस्ट रुपमा काम गरे । पोखरा प्रगति बोर्डिङमा पनि जीवनसम्बन्धी कला सिकाए । उनले बागबजार, गैह्रापाटनहुँदै न्यूरोडमा लामो समय पगेनी आर्ट चलाए ।

साढे २ वर्षयता जन्मस्थल देउराली बसोबास गर्दै आएका उनले देउरालीमै यशस्वी कटेज सञ्चालन तयारी गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width