दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

धनबहादुर गुरुङ
वैशाख ४, २०८१
Blind Photo

पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो । अब सजिलो हुने भयो ।’

गुल्मीकी रीता ज्ञवाली खुसी साट्दै थिइन् । हाल पोखरा बस्दै आएकी उनले ‘डिजिटल मोविलिटी’ तालिम लिएपछि आत्मबल बढेको बताइन् । ‘तालिममा गुगल म्याप डाउनलोड गरियो । अनि त्यसले दिएको लोकेसन आधारमा हिंड्न सिक्यौं,’ दृष्टिविहीन उनी उत्साहित हुँदै भन्छिन्, ‘पहिला सेतो छडी लिएर हिंड्दा यो बाटोबाट कहाँ जाने हो ? यो ठाउँ जाने बाटो कता हो ? भनी सोध्नुपथ्र्यो । अब छुट्कारा पाइने भइयो ।’

दृष्टिविहीन भएकै आधारमा आफूहरुले धेरै समस्या झेल्नुपरेको उनको गुनासो छ । ‘पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिंड्ने बानी प¥यो । त्यसरी हिंड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो क्रस गरिदिन लगाउँदा वास्ता नगर्ने । कहिलेकाहीँ ह्यारेसमेन्टसम्म समस्या भोग्नुपरेको छ,’ उनले भनिन्, ‘प्रविधि हाम्रै लागि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ दूर हुन्छ । हामीले ३ दिनसम्म ‘डिजिटल मोविलिटी’ तालिममा सिकेको सीपले सहज बनाउनेमा ढुक्क छु ।’
उनीजस्तै अरु दृष्टिविहीनहरुले पनि आगामी दिनमा अरुको सहाराबिना हिंडडुल गर्नेमा विश्वस्त थिए । उनीहरुका लागि पोखरा महानगरपालिका सहयोगमा कास्की नेत्रहीन संघले आयोजना गरेको प्रविधिमा पहँुचयुक्त गमनशीलता तालिम आयोजना गरेको थियो । आइतबारदेखि सुरु तालिम ३ दिनसम्म चलेको थियो ।

प्रशिक्षार्थी रोजिना घिमिरेले पनि तालिम निकै फलदायी रहेको बताइन् । ‘हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ,’ उनले भने, ‘प्रविधिले सांगलाई सहज बनाएको छ, हामीलाई भने सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दृष्टियुक्त बनाउन मद्दत गरेको छ ।’

तालिमले मोबाइलमा सेटिङ र गुगल म्याप कसरी प्रयोग गर्ने भन्ने सिकाएको उनले बताइन् । ‘हामीले यताउता जान सधैं सहयोगी पाउँदैनौं । सेतो छडीले पनि सबै कुरा भनिदिँदैनन् । त्यसैले प्रविधि पछ्याउनैपर्छ,’ उनले भनिन्, ‘हामीले सेटिङ गर्न र गुगल म्याप कसरी प्रयोग गर्ने भन्ने तालिममा सिकियो ।’

तालिम प्रशिक्षक तथा राष्ट्रिय अपांग महासंघ, गण्डकी अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई गुगल म्यापसँगै इ–सेवा, इन्ड्राइभ, पठाओजस्ता एप्लिकेसन चलाउन पनि सिकाइएको बताए । यसबाट उनीहरुको दैनिकीमा सहयोग पुग्नेमा उनी विश्वस्त छन् । प्रविधिको उच्चतम् प्रयोग गर्न सके दृष्टिविहीन हुनु अवसरका रुपमा लिन सकिने उनको भनाइ थियो । ‘टेक्नोलोजीमा साँच्चै हाम्रो एक्सेस हुने हो भने हामीले हिनताबोध पनि गर्नु पर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ,’ उनले भने, ‘तर, चुनौती भनेको यसको सोलुसन न हाम्रो सरकारलाई थाहा छ न एप्लिकेसन डेभलपरलाई । यो चुनौती चिर्न स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्न जरुरी छ ।’

राष्ट्रिय अपांग महासंघ केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरुलाई सक्षम बनाएको बताए । ‘सामान्य रुपमा हेर्दा मोबाइल केही होइन तर सबैथोक हो,’ उनले भने, ‘प्रविधिले हामीलाई सक्षम बनाएको छ । त्यसलाई हामीले चिन्नुपर्छ ।’ सरकारले हरेक क्षेत्रमा हरेक नागरिकका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

कास्की नेत्रहीन संघ अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहीनहरुका लागि विभिन्न कार्यक्रम गरिहेको बताउँछन् । ‘हामीले नेपालमै पहिलो पटक सेतो छडी प्रयोग गरेर कस्ले राम्रोसँग हिंड्न सक्छ भनी गमनशीलता प्रतियोगिता ग¥यौं । त्यसपछि सेतो छडी लिएर हिंड्न गमनशीलता तालिम पनि दियौं,’ उनले भने, ‘अब नयाँ ढंगले जाऔं भनेर प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम गरेका हौं । उनले अहिले पनि संविधानको मर्म अनुसार सबै ठाउँमा समावेशीता नभेटिएको बताए । बि माई एआई प्रयोग गरेर दृष्टिविहीनहरुले सबै विषय थाहा पाउने प्रविधिको विकास भइसक्दा पनि त्यसमा कसैको ध्यान नगएको उनको गुनासो थियो । यसका लागि राज्यले तालिम, साधन अनि पहुँचताको सुनिश्चितता गर्नुपर्ने बताउँछन् । दृष्टिविहीनहरुको हक अधिकारका लागि संस्थाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने उनले बताए ।

पत्रकार केशवशरण लामिछानेले पत्रकारिताले आवाजविहीनरुको आवाज बोलिरहेकाले दृष्टिविहीनको आवाजलाई पनि स्थान दिइरहेको बताए । दृष्टिविहीनको समस्या सरकारसामु पु¥याउन सहयोग गर्ने उनको भनाइ थियो । प्रविधिले दृष्टिविहीनको दैनिकी सहज बनाइरहेको उनले सुनाए ।

तालिमले दृष्टिविहीनलाई प्रविधिमा पहुँच पु¥याएको संघ कास्की उपाध्यक्ष सुनिता ज्ञवालीले बताइन् । ‘तपाईंहरुले स्मार्टफोन हेरेर चलाउनुहुन्छ । हामी टकब्यागको सहायतामा चलाउँछौं,’ उनले भने, ‘सबै दृष्टिविहीनले चलाउन जानेका छैनन् । तालिममा सहभागी भएकाहरुले चलाउन सिकेका छन् ।’ तालिमबाट गुगल म्याप सहायताबाट हिंड्न सिकेको उनको भनाइ थियो । यो तालिम कास्की नेत्रहीन संघले नेपालमै पहिलो पटक आयोजना गरेको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै