लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

उपाधिमा विभागीय टिमकै खेलाडीको वर्चस्व

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८१
lekhnath half marathan

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् ।

उनले १ घन्टा ४ मिनेट ४७ सेकेन्डमा निर्धारित २१ किलोमिटर दूरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घन्टा ६ मिनेट ३३ सेकेन्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए । प्रथम संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घन्टा ९ मिनेट २९ सेकेन्डमा दौड सकेर यसपटक तृतीय भएको आयोजक खेलकुद विकास समितिले जनाएको छ । सशस्त्रका खिमबहादुर खत्री १ घन्टा ९ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गरेर चौंथो र आर्मीका प्रताप खड्का १ घन्टा १० मिनेट ४१ सेकेन्डमा दौड सकेर पाँचौँ भए । तृतीय, चौंथो र पाँचौँले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने

१० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो, सोही कलेजका दिनेश बोगटी चौंथो र एपीएफका राजेन्द्र तामाङ पाँचौँ भए । १० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल पुलिसकी राममाया बुढा द्वितीय र आर्मीकी र्सिजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफकी पुष्पा भण्डारी चौथो र एपीएफकै आशा राउत पाँचौँ भए । १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो, चौंथो र पाँचौं हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

भेट्रान्स ५ किलोमिटरमा काठमाडौंका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको सदस्य सचिव खड्काले जानकारी दिए ।

विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोर्डनाइज्ड एकेडेमीका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार द्वितीय, भद्रकाली माविका गंगा गुरूङ तृतीय, सोही विद्यालयका इमबहादुर गुरूङ चौंथो र छोरेपाटन माविका तेञ्जोन रोका पाँचौँ भए । छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक प्रथम, कालिका माविकी स्वीकृति कार्की द्वितीय, छोरेपाटन माविकी नारायणी भण्डारी तृतीय भएको आयोजकले जनाएको छ । छोरेपाटन माविकी विष्णु थापा चौंथो र गौरीशंकर माविकी कविता मगर पाँचौँ भए । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घन्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।

विजेतालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–१७ का अध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताका ६ वटा विधामा गरेर ४ सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए । प्रतियोगितामा कास्की जिल्ला एथ्लेटिक्स संघले प्राविधिक सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width