प्रकाशकीय : हामी डगमगाएका छैनौं

कृष्णप्रसाद बास्तोला, अध्यक्ष/प्रधान सम्पादक
वैशाख १, २०८१
Adarsha samaj

आदर्श समाज राष्ट्रिय दैनिक आजबाट २९ वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा आदर्श समाज बहुमुखी प्रकाशन प्रालिका तर्फबाट पाठक, बिक्रेता, विज्ञापनदाता, विज्ञापन एजेन्सी, यस कम्पनीका सम्पूर्ण कर्मचारी, शुभेच्छुक संघसंस्था एवं सम्पूर्ण महानुभावलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । २०५३ वैशाख १ मा आदर्श समाज पाक्षिक पत्रिकाको पहिलो अंक प्रकाशित भएको थियो । त्यसको १ वर्षपछि साप्ताहिक र २०५४ माघ १९ श्रीपञ्चमीदेखि दैनिकरुपमा आदर्श समाज निरन्तर प्रकाशन हुँदै आएको छ ।

झण्डै ३ दशक अवधि पार गरिरहँदा आदर्श समाज विविधखाले राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनको साक्षी बनेको छ । बहुदल पुनस्र्थापनापछि राजनीतिक स्थिरताको कामना गरिरहेका बेला २०५२ फागुन १ बाट मुलुकमा सशस्त्र द्वन्द्व सुरु भयो । त्यसले नेपाली राजनीतिमात्र होइन, सामाजिक र आर्थिक गतिविधिमा समेत असर पा¥यो । त्यहि द्वन्द्वकै भुंग्रोबीच हामीले तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र पोखरामा व्यावसायिक पत्रकारिता यात्रा थाल्यौं ।

राजनीतिक र प्रशासनिक परिवर्तन भइरहँदा पोखरा जहिल्यै केन्द्र बन्यो । अहिले त पर्यटनको राजधानी पनि घोषित भइसक्यो । विडम्बना, यहाँको आर्थिक गतिविधि अपेक्षा गरेजस्तो फैलिन सकेको छैन । अझ भनौं उद्यमशीलतामा पोखरा अलि पछि नै परेको छ । अनि प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगले छापा माध्यमलाई किनारामा धकेलिदिएको छ । त्यसको मारमा हामीजस्ता दैनिक पत्रिका पनि परेकै छन् । हालसम्मको यात्रामा विभिन्नखाले चुनौती सामना गर्दै आगामी पत्रकारिताको आदर्श मान्यतालाई आत्मसात गर्दै समाचार, विश्लेषणका साथमा सूचना प्रवाहमा निरन्तर लागिरहेका छौं । हामी अविचलित र अविराम यात्रामा छौं । पत्रिका स्थापनाकालमै गरेको निष्पक्षताको प्रतिबद्धतामा कत्ति पनि कमी आउन दिएका छैनौं ।

सम्भावनाकै खोजी क्रममा हामीले २०५८ माघ १७ बाट नवलपरासीको गैंडाकोटबाट ‘तराई संस्करण’ प्रकाशन थालेका थियौं । परिस्थिति जटिल बन्दै गएपछि त्यतिबेला हामी पोखरा फर्किन बाध्य भयौं । गण्डकी प्रदेशको कान्छो र प्रस्टरुपमा नाम समेत नपाएको नवलपुरको गैंडाकोटसँगको सम्बन्धलाई भने हामीले टुट्न दिएका छैनौं । अहिले पुन गैंडाकोटमा कार्यालय स्थापना गरी यस क्षेत्रका समाचार, विचार र सूचनालाई प्राथमिकतामा राखेका छौं । गण्डकी प्रदेशको राजधानीसँग नवलपुरलाई जोड्ने दह्रिलो सेतू बन्न चाहान्छौं हामी ।

अहिले मुलुकमा संघीयता कार्यान्वयनमा आएको छ । संघीयताको सबलीकरणसँगै आमसञ्चार माध्यम पनि उसैगरी बलिया हुँदै जान्छन् भन्ने विश्वासमा हामी थियौं । तर त्यसो हुन सकेको छैन । एकातिर अनुदार र राज्यपक्ष त अर्काेतिर अस्थिर आर्थिक अवस्थासँग जुँध्दै सञ्चारमाध्यम अगाडि बढिरहेका छन् । यी यावत् चुनौतीबीच निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताबाट हामी कदापि विचलित हुने छैनौं । संघीयतालाई सुदृढ पार्दै लोकतान्त्रिक मूल्यमान्यताका लागि लडिरहने छौं । नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना ।

Related News

सम्बन्धित समाचार

hero news full width