जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
chief attorney

पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६० (२) बमोजिम प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

उनी २०५० देखि ०५४ सम्म काठमाडौंमा कानुन व्यवसाय चलाएका थिए भने त्यसपछि लमजुङमा कार्यरत छन् । मन्त्रिपरिषद् बैठकमा चाहिँ लेखनाथका श्रीकान्त बराललाई मुख्य न्यायाधिवक्ता बनाउने छलफल भएकोमा निर्णयमा अधिकारीको नाम लेखिएको हो । ‘मन्त्रिपरिषद् बैठकमा बरालको नाममा छलफल भएको थियो । उहाँलाई सरकारको तर्फबाट जिम्मेवारी दिएर सर्वोच्च अदालत पनि पठाइएको थियो,’ प्रवक्ता चुमानले भने, ‘पछि के भएर नाम फेरियो थाहा छैन । म बुझौंला ।’

खगराज अधिकारीले अघिल्लो कार्यकालमा बराललाई मुख्य न्यायाधिवक्ता बनाएका थिए । अहिले पनि पुरानै टिमलाई निरन्तरता दिने सोचमा अधिकारी रहे पनि बराल भने पोखरा आउन तयार भएनन् । कास्कीको लेखनाथ घर भएका बराल लामो समयदेखि काठमाडौंमै वकालत गर्दै आएका छन् । अघिल्लो पटक नियुक्त भएर लामो समय काम गर्न नपाए बराल फेरि फर्कने विश्वास अधिकारीलाई थियो ।

उच्च अदालतको न्यायाधीश सरहको पद भए पनि आफूले चाहे अनुसार काम गर्न नपाइने सरकारलाई कानुनी सल्लाह दिनेभन्दा पनि बहस पैरवीकै लागि अदालत कुदिरहनुपर्ने झन्झट छ । सरकारको नेतृत्व उस्तै कानुनी समस्या आइपरे वाहेक अरु बेला सल्लाह लिन चाहँदैन । अनि कार्यकारी पद पनि होइन । त्यसैले यो पदका लागि त्यति धेरै आकर्षण देखिँदैन । यत्ति हो कि सरकारको नजिक बसेर काम गर्दा जनसम्पर्क र पोर्टफोलियो चाहिँ बढ्छ । पहिल्यैदेखि लिएका मुद्दाका फाइलमा असर पर्ने र पद गएपछि पुरानै पेसामा फर्केर लय समात्न सयम लाग्ने भएकाले पनि बरालले यसपालि मुख्यन्यायाधिवक्तामा चाहाना देखाएनन् । मन्त्रिपरिषद् बैठकमा लमजुङका कृष्ण अधिकारीको प्रस्ताव थिएन । तर माइन्युट गर्ने बेलामा भने उनको नाम राखेर गरियो । बुधबार साँझ खबर पाएर अधिकारी दौरा सुरुवाल लगाएर बिहीबार पोखरा आइपुगेका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुखे बिहीबार नै उनलाई नियुक्त गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले लमजुङका एमाले नेता जो यसअघि जिल्ला अध्यक्ष पनि भइसकेका हुन्, उनैलाई रोजेर मुख्य न्यायाधिवक्ता बताए । १६ चैतमा भएको एमाले जिल्ला अधिवेशनमा उनी अध्यक्ष पदमै हारेका थिए । एमालेका निवर्तमान अध्यक्ष अधिकारी १६ चैतमा भएको जिल्ला अधिवेशनमा फेरि अध्यक्षमा लडेका थिए । उनी राजकुमार बिस्टसँग पराजित भएका थिए । प्रदेश सभा सदस्यको चुनावमा समेत उनी हारेका थिए । लमजुङमा उनी पृथ्वीसुब्बा गुरुङको कट्टर विरोधी हुन् । पृथ्वीसुब्बा गुरुङलाई कुनै हालतमा प्रतिनिधि सभा सदस्यको टिकट दिन नहुने भन्दै अधिकारी पटकपटक बालकोट धाएको समाचार सार्वजनिक भएको थियो ।

यसैबीच, नवनियुक्त मुख्य न्यायाधिवक्ता अधिकारीलाई प्रदेश प्रमुखको उपस्थितिमा बिहीबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पद तथा गोपनीयताको सपथ गराएका छन् । अधिकारी पाँचौं मुख्य न्यायाधिवक्ता हुन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width