‘कांग्रेस पार्टी र संगठनमा सुधार आवश्यक छ’

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
Dhadinge Govinda Lamsal

पोखरा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले पार्टी र संगठनमा सुधार आवश्यक रहेको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था धादिङ–पोखरा सम्पर्क समितिद्वारा सोमबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सचेतक लम्सालले कांग्रेस पार्टी कार्यकर्ता र जनताले अनुभूति हुने गरी सुधार गर्नुपर्नेमा जोड दिए ।

अस्थिर राजनीतिका कारण संघीयताप्रति विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै उनले यसतर्फ दलहरूले ध्यान दिनुपर्ने बताए । रास्वपा र एमालेप्रति लक्षित गर्दै सचेतक लम्सालले मुलुकको समृद्धिका लागि २०८४ कुर्न नपर्ने टिप्पणी गरे ।

कास्की कांग्रेस सचिव भानु ढकालले पार्टीभित्र निष्ठाको राजनीति नहुँदा समस्या बढ्दै गइरहेको जिकिर गरे । उनले धादिङवासीको अभिभावक बन्न कास्की कांग्रेस तयार रहेको बताए ।

सचिव ढकालले कास्कीको राजनीतिसहित हरेक क्रियाकलापमा धादिङवासीको भूमिका निकै प्रशंसनीय रहेको स्पष्ट पारे । कांग्रेस पोखरा–६ का सभापति सन्तोष पौडेल पार्टीमा जागरण ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आवश्यक रहेको स्पष्ट पारे ।

समितिका वरिष्ठ सल्लाहकार पछिल्लो कृष्णकुमार श्रेष्ठले राजनीतिक घटनाक्रमप्रति सबै चिन्तित भएको बताए । संस्थापक सभापति केदार धमलाले संस्थापक बिपीले देखाएको बाटो कांग्रेसले बिर्सिंदै गएको बताए ।

निवर्तमान सभापति लालप्रसाद पाठकले कांग्रेसले निष्ठा र संस्कारको राजनीति गर्नुपर्नेमा जोड दिए ।

एमाले सम्पर्क मञ्चका अध्यक्ष गोकर्ण अधिकारीले संघीयता मन नपराउने शक्तिले टाउको उठाउन थालेकाले यस्ता तत्वलाई परास्त गर्न कांग्रेस, एमाले मिल्नुपर्ने खाँचो औंल्याए ।

सल्लाहकार यादुप्रसाद ढकालले पार्टी नेतृत्वलाई सही ढंगले अघि बढाउन तल्लो तहदेखि नै दवाव सिर्जना गर्नुपर्ने बताए । त्रिपुरा वाराही महिला समूहकी अध्यक्ष बबिता मल्लले शुभकामना व्यक्त गरिन् ।

समितिका कार्यवाहक सभापति एवं कार्यक्रम संयोजक माधव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति देवराज अर्यालले स्वागत र सचिव श्याम इटनीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका नेतृत्व र पदाधिकारीमा चुनिएका समिति उपसभापति देवराज अर्याल, कोषाध्यक्ष लालप्रसाद ढकाल, सहसचिव भूपेन्द्र सिलवाल, सदस्य तोयानाथ ढकाल र गोविन्द पोखरेललाई बधाई ज्ञापन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width