‘पेट्रोल पम्पसहित टहरा एक सातामा हटाऊ’

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
petrol pump

पोखरा । पोखरा वडा नं.१ र २ मा पुष्पलाल मध्यपहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा, वडा प्रहरी कार्यालय बगरका प्रमुख, पोखरा १ का अध्यक्ष साहारा प्रधान, पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानांगलगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिकहरू, निर्माण व्यवसायी र स्थानीय अगुवाहरूको उपस्थितिमा स्थलगत अनुगमन गरिएको हो ।

नाला सिधा बनाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जमिन पर्ने भएकाले सोको व्यवस्थापनका लागि प्रतिष्ठानका अधिकारीहरूसँग पनि पटक पटक उच्चस्तरीय छलफल समेत पोखराका मेयर आचार्यले बताए । ‘यसका लागि हामीले उहाँहरूसँग पनि पटक पटक छलफलमा बसेका छौं,’ उनले भने, ‘यसको उपयुक्त निकास यथाशीघ्र खोजिने छ ।’ हरिचोक जस्तो व्यस्त चोकमा सडक जति फराकिलो बनाउन सकियो, त्यो त्यति नै सुरक्षित हुने उनले बताए । नाला सिधा बनाउनुपर्ने स्थानीयको सरोकार सम्बोधनका लागि नियमानुसार निर्णय लिइने उनले बताए । करिब ५० मिटर नाला निर्माणमा यो समस्या देखिएको हो ।

हरिचोकको वडा नं.१ तर्फ रहेको लान्दु्रक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका टहराहरू ७ दिनभित्र हटाउन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्देशन दिए । सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समयभित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने उनको निर्देशन छ । हरिचोकको सडक छेउमा लान्दु्रक पेट्रोलपम्प वर्षौंदेखि सडकको राइटअफ वे भित्र सञ्चालित छ ।

विस्तारको काम भइरहेको पुष्पलाल मध्यपहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू समेत यथाशीघ्र हटाउन निर्देशन दिइएको छ । सडकको राइट वे क्लियर नहुँदा सडक निर्माणको कार्य विलम्ब हुने र विभिन्न अवरोधहरू सिर्जना हुने भएकाले त्यस प्रकार नियम विपरीतका संरचनाहरू तत्काल हटाउन निर्देशन गरिएको वडाध्यक्ष साहारा प्रधान र दिवसमान प्रधानांगले बताएका छन् । यस सम्बन्धमा स्थानीयहरूसँग विभिन्न चरणमा छलफल तथा संवादहरू गरिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width