‘आलु महोत्सव किसानको चाड’

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
aalu mahotsav shreebhadra

पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको १२ औं संस्करण आइतबारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँः आलु एक परिकार अनेक’ नाराका साथ महोत्सव सुरु गरिएको हो । यसैबीच क्लबको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ ।

महोत्सव उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए । उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको बताए ।

मेयर आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक योजनामा चौरासी नहर पुनर्निर्माणलाई जोडेर पठाएको उल्लेख गरे । ‘साझा चोकदेखि बुद्ध चोकसम्मको बाटो पनि बहुवर्षेमा परेको छ, अगामी वर्ष करिब २८ अर्बका योजनाहरू महानगरमा लागु हुँदै छन्, सुइँखेत डुबान नियन्त्रणको कार्य पनि अगाडि बढेकै छ,’ उनले भने ।

महानगरका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले आलु महोत्सवका संस्थापकप्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको उल्लेख गरे । उनले बहुउद्देश्यीय भवन निर्माणको खुसीयाली साट्दै हेमजाको विकासमा महानगर प्रयासरत रहेको औंल्याए ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले आलु स्वास्थ्यका लागि महत्वपूर्ण भएको स्पष्ट पार्दै हेमजाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे । आलुका परिकारलाई मूल्य शृंखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै प्रमुख कडरियाले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

हेमजाको सिँचाइ व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपूरक योजनामा चौरासी नहर पुनर्निर्माणलाई जोडेर पठाइएको

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले किसानको पसिनालाई सम्मान गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र पनि किसानमैत्री हुनुपर्ने बताइन् ।

महोत्सवका संस्थापक धर्मराज बास्तोलाले महोत्सवले किसानको मनोबल बढाएको जनाउँदै हेमजाको उत्पादनलाई ब्रान्डिङ गर्न महोत्सव सफल भएको विश्वास जनाए ।

महोत्सवमा कलाकार जीवन दाहाल, मूल आयोजक समिति अध्यक्ष सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ लगायतले पनि धारणा राखे । महोत्सव सुरु हुनु पूर्व स्थानीय माईस्थानबाट सुरु भएको बाजागाजासहित शोभा यात्रा एवं झाँकी मिलनचोक, साँझाचोक हुँदै महोत्सवस्थल विष्णुपादुका खेल मैदान पुगेको थियो । भाँकी र्‍यालीमा सयौं हेमजावासीको उल्लेखनीय सहभागिता थियो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्यव्यंग्य एवं लाइभ पप कन्सर्टलगायत रहेका छन् ।

महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोबार भइरहेको छ भने करिब ८० टन आलु बिक्री वितरण हुने आयोजकको अपेक्षा छ । महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।

हेमजामा करिब ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिब १५ करोडको आलु बिक्री वितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ । महोत्सव वैशाख ५ गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width