अम्रिसोले बजारभाउ पाएन

रामकुमार श्रेष्ठ
चैत्र २४, २०८०
amriso kheti (4)

नवलपरासी । झट्ट हेर्दा चिया बगानजस्तै भएका छन्, नवलुरका अधिकांश डाँडा । नांगोडाँडा हरियो बनाउन, भूक्षय, बाढीपहिरो रोक्न र स्थानीयका जीविकोपार्जनमा पनि सघाउ होस् भनी जिल्लाको पहाडी क्षेत्रका अम्रिसो खेती अहिले व्यापक बढेको छ । रमणीय डाँडासँगै गत वर्षसम्म राम्रो आम्दानी पाएर हौसिएका स्थानीय अहिले अम्रिसोले बजार भाउ राम्रो नआउँदा निराश छन् ।

गत वर्षसम्म राम्रो बजार भाउ पाएको अम्रिसो (कुचो) को यस वर्ष बजारभाउ ह्वात्तै घट्दा किसान मारमा परेका हुन् । गत वर्ष प्रतिकिलो १ सय ३० रुपैयाँमा बिक्री भएको अम्रिसो अहिले घटेर प्रतिकिलो ७० रुपैयाँ मात्र छ । नेपालमा अहिले अम्रिसो खेती अत्यधिक भएको र यसको माग नेपाली बजारले थेक्न नसक्दा र भारतीय बजारको भर पर्नुपर्दा यस्तो भएको हो ।

जिल्लाका पहाडी क्षेत्रका नांगाडाँडा कबुलियति वनमार्फत अम्रिसो खेती गरेर हराभरा भएको छ । १ सय ६७ कवुलियति वन बनाएर यहाँका स्थानीयले समूहमा अम्रिसो खेती गरेका छन् । ती वनबाट किसानले गत वर्ष मात्रै ३ करोड १८ लाख ६५ हजार रुपैयाँको अम्रिसो बिक्री गरेका थिए । अम्रिसो खेती गर्र्नु अघिसम्म वर्षमा ३ महिना खान पु¥याउन धौधौ हुने गरेको स्थानीयलाई अहिले अम्रिसो खेतीबाट बाह्रैमहिना घरखर्च धान्न सहज भएको स्थानीयवासी एवं अम्रिसो खेतीका सुपरभाइजर तुलबहादुर राना बताउँछन् । तर, यस वर्ष भने त्यो सहजता नहुने हो कि भन्ने आशंका बढेको छ ।

२०७० सालबाट व्यावसायिक अम्रिसो खेती गरेका यहाँका किसानलाई अहिले यस वर्ष एक्कासि गिरावट आएको बजार भाउले आशंका उब्जाइदिएको छ । कतै अब हाम्रो मेहनत खेर त जाने होइन ।

अम्रिसोको जति उत्पादन भएको छ, त्यो अनुसार प्रचारप्रसार र बजारीकरण हुन नसकेको स्थानीय उपभोक्ता आशबहादुर दराई मगरले गुनासो गरे ।

संकलन केन्द्रमा जम्मा भएको अम्रिसो बुटबल, भैरहवा, नारायणघाट, काठमाडौं, पोखरासम्म पुग्ने गरेको स्थानीय उपभोक्ता सूर्यबहादुर सारुले बताए । ती सहरमा खपत भएर बढी भएको अम्रिसोको कुचो भारत निर्यात हुने गरेको उनले बताए ।

रमणीय डाँडासँगै गत वर्षसम्म राम्रो आम्दानी पाएर हौसिएका किसान अहिले अम्रिसोले बजार भाउ नपाउँदा निराश

यहाँ नांगाडाँडालाई हरियो बनाउने डिभिजन वन कार्यालयले अम्रिसो खेतीका लागि बिरुवा उपलब्ध गराउने, प्राविधिक सहयोग गर्ने लगायतका सहयोग गर्दै आएको छ ।

डिभिजन वन कार्यालयले तरकारीमा मसलाको रुपमा प्रयोग गरिने तेजपत्ता, पिपला र अलैँचीका साथै अम्रिसो खेती गर्न पहाडका नांगाडाँडा स्थानीयवासीलाई समूह बनाएर कवुलियती वनको रुपमा हस्तान्तरण गरेको छ । बौदीकाली र हुप्सेकोटमा अम्रिसो खेती भने अत्यधिक सफल भएको डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत शिशिर लम्सालले बताए । पूर्वी नवलपरासीमा करिब १५ सय हेक्टरमा कवुलियती वन मार्फत अम्रिसो खेती हुने गरेको छ । विशेषगरी यहाँको पहाडी भेग लक्षित गरी डिभिजन वन कार्यालयले अम्रिसो खेती कार्यक्रम प्रोत्साहन गरेको हो ।

नेपालमा उत्पादित अम्रिसो नेपाली बजारले धान्न नसकेको र भारतकै बजार भर पर्नुपर्ने भएकाले यस वर्ष अम्रिसोले बजार भाउ पाउन नसकेको डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारीले बताए ।

अम्रिसोको बजारभाउ नआएपछि निराश बनेका यहाँका किसानमध्ये कतिपयले घरखर्च चलाउनै गाह्रो भएकाहरुले सस्तामै भए पनि बिक्री गरिहेका छन् भने कतिपयले बजार भाउ उकालो लाग्ला र बिक्री गरौंला भनेर बजार भाउको प्रतीक्षामा बसेको बौदीकाली ४ का वडाध्यक्ष मानबहादुर सारु मगरले बताए । बाटो बिस्तार र प्रचारप्रसार भएमा अम्रिसोलाई थप बिस्तार गर्न सकिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै