लमजुङ महोत्सवसँगै भ्रमण वर्ष घोषणा

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०८०
rastrapati lamjung (2)

लमजुङ । आठौं लमजुङ महोत्सवका साथमा लमजुङ भ्रमणवर्ष २०८१ सुरु भएको छ । महोत्सव राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे ।

राष्ट्रपति पौडेलले लमजुङले मुलुकको साहित्य कला संस्कृतिका साथै लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको भन्दै प्रशंसा गरे । राष्ट्रपति पौडेलले छिमेकी जिल्ला तनहुँको बासिन्दा भएका कारण मेरा जीवनका ऊर्जाशील समयहरू तनहुँमा मात्रै होइन लमजुङमा समेत व्यतीत भएको स्मरण गरे ।

लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको ११ दिवसीय आठौं लमजुङ महोत्सवमा २०१ टल रहेका छन् । स्थानीय व्यापारीका लागि ४० प्रतिशत छुट दिइएको छ । महोत्सवमा २ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक समितिका निवर्तमान अध्यक्ष गुणराज सिलवालले बताए ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद उर्मिला रायमाझी, संविधान सभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सभा सदस्यहरु भेषबहादुर पौडेल, डा. टकराज गुरुङ र पार्वती तामाङ, स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका जिल्ला अध्यक्ष तथा संयोजकहरूले समेत शुभकामना व्यक्त गरेका थिए ।

महोत्सवमा बिक्री भएका टिकटबाट प्रति टिकट ५ रुपैयाँ सामाजिक सेवा कोषका लागि सहयोग गर्ने निर्णय गरिएको छ । सो रकममध्येबाट नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि १ रुपैयाँ सहयोग गरिने भएको छ । त्यस्तै, कार्यक्रम स्थल रहेको सहजी खेल मैदान विकासका लागि १ रुपैयाँ, दैवीप्रकोप उद्धार कोषमा १ रुपैयाँ ५० पैसा, आदर्श महिला तथा बालविकास केन्द्र, मानव सेवा आश्रम र जेष्ठ नागरिक आरोग्य आश्रमलाई ५०/५० पैसा सहयोग गरिने लमजुङ उद्योग वाणिज्य संघका सचिव विपीन श्रेष्ठले जानाकारी दिएका छन् । महोत्सव सञ्चालन संघका पूर्वअध्यक्ष राजेश थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts