पोखरामा पनि पठाओको सेवा तयारी

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
Pathao

पोखरा । पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ ।

काठमाडांै र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले बताए । राइड सेयरिङ व्यवसायमा पठाओ लोकप्रिय कम्पनी हो ।

बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका ९ सहर विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, विर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । मधेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध कम्पनीले जनाएको छ ।

बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ । ‘नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेका छौं,’ बस्न्यातले भने । सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ता प्रक्रिया सुरु भएको छ ।

राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्ने छन् । कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइने बस्न्यातले बताए ।

हाल पठाओको विभिन्न सेवामा २ लाख बढी ब्यक्ति आबद्ध छन् । १ लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन् । पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि १ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४ सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ । एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्छन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width