पाण्डे सरकारको डेटलाइन घर्किंदै, राजीनामा आज कि भोलि

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
cm office (2)

पोखरा । गण्डकी प्रदेश सरकारको डेटलाइन उत्तरार्धमा पुगेको छ । संविधानको धारा १६८ उपधारा (२) बमोजिम बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिइएको समर्थन माओवादीले गत २३ फागुनमा फिर्ता लिएपछि २२ चैत्रभित्र राजीनामा दिने वा विश्वासको मत लिने ‘डेटलाइन’ थियो । संसदमा विश्वासका मतका लागि मुख्यमन्त्रीले संसदलाई मंगलबार दिउँसो २ बजेसम्म पत्र दर्ता गराउनुपथ्र्यो । तर पाण्डेले संसद फेस नगरी राजीनामा दिने बाटो रोजेका छन् । मंगलबार कांग्रेसका सांसदहरुसँग छलफल गर्ने क्रममा उनले राजीनामा दिने बताएका हुन् । बुधबार बिहान मन्त्रिपरिषद्को बैठक डाकेका मुख्यमन्त्रीले बिहीबार राजीनामा दिने उनी निकट स्रोतले बताएको छ ।
सांसदहरुले पनि मार्ग प्रशस्त गरेर विकल्पहरुमाथि छलफल गर्न मुख्यमन्त्रीलाई अधिकार प्रत्यायोजन गरेका छन् । कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले अनुसार संवैधानिक प्रक्रिया अनुसार अघि बढ्ने बताए ।

बुधबार बिहान मन्त्रिपरिषद्को बैठक डाकेका मुख्यमन्त्री बिहीबार राजीनामा दिने तयारीमा

‘राजीनामा दिएपनि सरकार गठन प्रक्रियाबाट पूरै बाहिर बस्ने भनेको होइन,’ उनले भने, ‘हामी दलहरुसँग संवाद गर्छौं । सकेसम्म आफ्नै सरकार बनाउन पहल गर्छौं ।’ पाण्डेले सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका उनले बताए । ‘अनौपचारिक छलफल थियो । छलफलमा राजीनामाबारे पनि कुरा भयो । खासगरी अहिलेसम्मको घटनाक्रम मुख्यमन्त्री ज्यूले ब्रिफिङ गर्नुभयो,’ उनले भने, ‘राजीनामा दिएर जाने कुरामा छलफल केन्द्रित थियो ।’ पाण्डेले राजीनामा दिएर उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री बन्ने दाउ खोजेका छन् । अहिले बनेको नयाँ सत्ता गठबन्धनसँग पनि स्पष्ट बहुमत नभएको फाइदा पाण्डेले लिन लागेका हुन् ।

गण्डकीमा एमालेको नेतृत्व
बर्तमान सत्ता गठबन्धनको निर्णय अनुसार गण्डकीमा पहिलो चरणको सरकारको नेतृत्व एमालेले पाउने भएको छ । संघीयतापछिको ६ वर्षसम्म एक पटक पनि नेतृत्व लिन नपाएको माओवादीले यसपालि आफुले मुख्यमन्त्री पाउनुपर्ने अडानमा थियो । दलका नेता हरिबहादुर चुमान पटक पटक काठमाडौं पुगेर नेतृत्व नगुमाउन केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएका थिए । प्रदेश स्तरका नेताहरुको अनुनयबीच केन्द्रीय नेतृत्वले पहिलो कार्यकाल एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको हो । यो निर्णयसँगै एमाले संसदीय दलका नेता खगराज अधिकारी पुनः मुख्यमन्त्री बन्नेछन् ।

बन्ला नयाँ सरकार ?
माओवादी संसदीय दलका नेता चुमानले उपधारा (२) अनुसार नयाँ सरकार गठन हुने दावी गरेका छन् । ‘केन्द्रको गबठन्धन अनुसार नै यहाँ सरकार बन्छ । उपधारा (२) कै सरकार बन्छ,’ उनले भने, ‘प्रदेशको परिस्थिति अनुसार निर्णय गर्ने राप्रपाले निर्णय गरेको हो । यहाँको परिस्थितिमा राप्रपाले नयाँ गठबन्धनलाई समर्थन गर्छ ।’ राप्रपाले भने २७ चैतसम्म कुनै निर्णय नलिने बताइरहँदा उनले २७ अघि नै नयाँ गठबन्धनको सरकार बन्ने बताए । ‘बागमतीबाटै बुझियो नि राप्रपाको कुरा । एकीकृत समाजवादी तयार नभएको भए राप्रपाले साथ दिने कुरा थियो । यहाँ पनि त्यस्तै हो,’ उनी भन्छन्, ‘(३) मा जाने भनेको त मध्यावधि तिर सोझिने हो । त्यसमा जान त दिनै भएन । राप्रपाले यो कुरा बुझेको छ ।’

राप्रपाले पठायो सुझाव
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको अवस्थाबारे केन्द्रलाई रिपोर्टिङ गरेको छ । दलका नेता पञ्चराम गुरुङले गण्डकीमा राजनीतिक दलको अवस्थाबारे जानकारी गराइएको बताए । ‘मैले जानकारी गराएको छु । उपल्लो स्तरको निर्णय आएपछि यता मुभमेण्ट हुन्छ,’ उनले भने, ‘हामीलाई कुनै पार्टी नजिक र कुनै पार्टी टाढा भन्ने छैन । जोसँग भएपनि हामीलाई आपत्ति छैन । समानताका हिसावले हेरेको छौं । निषेध गरेका छैनौं ।’
उनले २७ गतेअघि कुनै निर्णय नलिने दोहो¥याए । ‘२७ गतेको आन्दोलनसम्म हामी कतै लाग्दैनौं । त्यसपछि कुनै निर्णय लिने हो,’ उनले भने, ‘मध्यावधीमा जाने अवस्था आयो भने उपयुक्त निर्णय लिन्छ । त्यसअघि आन्दोलनमा फोकस छ ।’ उनका अनुसार राप्रपाको ४० बुँदे माग र न्यूनतम साझा कार्यक्रम हेरेर मात्रै निर्णय लिने योजना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width