ऋषिङलाई जातीय छुवाछूतमुक्त बनाइने   

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
rising

तनहुँ ।  “जातीय विभेद गर्न हुँदैन भनेर भाषण गरेर मात्रै समाजबाट छुवाछूत हट्दैन”, ऋषिङ गाउँपालिका–३ दुवुङस्थित मगर गुठ समाजका अध्यक्ष लालबहादुर आलेमगरले भन्नुभयो, “सबै जात एउटै हो भन्ने कुरा अब व्यवहारमै देखिनुपर्छ । बल्ल जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन सकिन्छ ।”

ऋषिङ गाउँपालिकाको कार्यालयले पालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानमा गरिएको सुझाव सङ्कलनका क्रममा गुठी समाजका अध्यक्ष आलेमगरले आफूहरुले जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन गुठ समाजमा दलितहरु समेत मिसाएको बताउनुभयो । दुवुङमा रहेका ६५ घर मगरहरुसँगै छ घर दलितलाई समावेश गरेर मगर गुठ बनाइएको अध्यक्ष आलेमगरको भनाइ छ ।

ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानका क्रममा ऋषिङ १, २, ३, ४ र ५ मा सर्वपक्षीय कार्यक्रम गरिसकिएको पालिकाले जनाएको छ । अभियानका क्रममा दलित, शिक्षक, महिला, कर्मचारी, जनजातिलगायत सँग परामर्श, छलफल गरिएको थियो । ऋषिङ–१ झापुटारमा वडाअध्यक्ष कुशबहादुर थापा, ऋषिङ–२ काहुँशिवपुरमा वडाअध्यक्ष दलबहादुर थापा, ऋषिङ–३ दुवुङमा वडाअध्यक्ष भीमबहादुर थापा, ऋषिङ–४ भिरकोटमा वडाअध्यक्ष प्रेमराज श्रेष्ठ र ऋषिङ–५ राम्जाकोटमा वडाअध्यक्ष बुद्धिमान रानामगरलगायत पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, पालिका उपाध्यक्ष गिनुमाया थापा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटलगायतले सहभागीबाट उठेका जिज्ञासाको समाधान र सुझावअनुसार आगामी कार्यक्रम तय गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको कार्यपालिका सदस्य दिलबहादुर नेपालीले बताउनुभयो ।

समाजको कलङ्कका रुपमा रहेको जातीय विभेद र छुवाछूतलाई हटाउन आफूहरुको साथ र सहयोग रहने ऋषिङ–१ झापुटारस्थित शुक्ला माविका प्रधानाध्यापक केशर थापामगरले बताउनुभयो । “ऋषिङ गाउँपालिकाको कार्यालयले छुवाछूत हटाउन गरेको कार्यक्रमलाई सकारात्मक रुपमा लिएको छु”, प्रधानाध्यापक थापामगरले भन्नुभयो, “वैज्ञानिक समाजमा पनि जातीय विभेद हामीले मान्ने कुरा हुँदैन । यसलाई हटाउन सबै जुट्न आवश्यक छ ।”

दलित समुदायलाई मात्रै भेला गरी कार्यक्रम गर्दा प्रभावकारी नहुने भएकाले दलित र गैरदलितसहितको कार्यक्रम गरी छुवाछूत र जातीय विभेद अन्त्य गर्न छलफल गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । पालिकालाई पाँच वर्षभित्र छुवाछूत र जातीय विभेदमुक्त बनाउन विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरबाट अभियान व्यापक गर्ने गरी छलफल थालिएको पालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

आफू जहिल्यै ऋषिङको जनताको आवश्यकता र विकासको पक्षमा रहेकाले कहिल्यै ऋषिङको जनता र विकासप्रति धोका र घात नगर्न प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठको प्रतिबद्धता छ । “जातीय विभेद र छुवाछूतलाई साथमा लिएर समृद्ध ऋषिङ गाउँपालिका बनाउन सकिने कुरा भएन”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यसैले सबै वडाबाट छुवाछूत र जातीय विभेदविरुद्धको अभियान थालेका हौँ ।”

अभियानका क्रममा शिक्षक, विद्यार्थी, युवा, महिला, दलितलगायत अपाङ्गता भएकाहरु, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग समेत परामर्श गरिएको र सोही सल्लाह, सुझावअनुसार आगामी कार्यक्रम तय गरिने पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । रासस

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width