पर्यटन राजधानी घोषणा खुसीयालीसँगै फेवा नव वर्ष महोत्सव मनाइँदै

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
fewa festival Main

पोखरा । पोखरालाई पर्यटन राजधानी घोषणाको खुसीयालीसँगै यसपालि १९ औं फेवा नव वर्ष महोत्सव भव्य बनाउने तयारी भएको छ । नेपाली नयाँ वर्ष अवसरमा होटल संघ पोखरा, नेपालले यही चैत २९ देखि वैशाख १ सम्म १९ औं फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागेको हाे ।

महोत्सवलाई विविध सांस्कृतिक कार्यक्रमसहित बृहतरुपमा आयोजना गरिने सोमबार पत्रकार सम्मेलनमा आयोजक संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको सुवेदीले बताए । महोत्सवमा करिब ३ लाख जना दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सव तयारीका लागि २१ समिति र एरिया संयोजक गठन गरिएको छ । महोत्सव अवसरमा संघमातहत होटलका प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा यसअघि नै गरिसकेको छ । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल राखिने भएको छ । परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगिता महोत्सवको मुख्य आर्कषणमा रहेको उनले बताए ।

पोखरा र वरपरका १२ सय होटलमा ४० हजार बेड छन्

पोखरा र वरपरका १ हजार २ सय होटलमा ४० हजार विस्तारा रहेको, होटल संघ अन्तर्गत मात्र ४ सय ४७ होटल रहेको, लेकसाइड र ड्यामसाइड एरियामा ७ सय होटल रहेको र पोखराको पर्यटन क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको पनि अध्यक्ष सुवेदीले तथ्यांक सुनाए । अहिले पोखराका होटलमा ५० देखि ६० प्रतिशत हाराहारीको अकुपेन्सी रहेको पनि उनले बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले संघले पछिल्लो पटक निश्चित चौरमा नभई सडकमा नै महोत्सव आयोजना गर्न थालेपछि सहभागिता जनाउने पर्यटक र आगन्तुकको भीड क्रमश बढ्दै गएको बताए । नेपाली नयाँ वर्षका अवसरमा पोखरा घुम्न आउने पर्यटक संख्या पछिल्ला वर्षमा बढ्दै गएको र अहिले भारतीय पर्यटक संख्या समेत बढेको पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

सरकार माओवादी द्वन्द्वको समयमा होटल संघले यो महोत्सवको सुरुवात गरेर नमुना कार्य गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले बताए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरेको पत्रकार सम्मेलनको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले महोत्सवलाई प्रवद्र्धन गरेका छन् । गोर्खा व्रुअरी प्रालि महोत्सवको मुख्य प्रायोजक हो । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद् र होटल संघ नेपालले महोत्सवलाई सघाउने छन् । गत ४ चैतमा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले विशेष समारोह आयोजना गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width