जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा   

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
manang

मनाङ ।  देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।

यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन् । बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिनुभयो । विगतका वर्षभन्दा फरक ढङ्गले यस वर्षको एसइई सञ्चालन गरिएको उहाँको भनाइ छ ।

चपाइँका अनुसार उक्त परीक्षा केन्द्रबाट ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिइरहेका छन् । “अहिलेसम्मका परीक्षा शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भएका छन्”, उहाँले भन्नुभयो, “अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आउनुभएको थियो । हामीले पालैपालो अनुगमन गर्ने गरेका छौँ । यसले विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छैन ।”

चालीस परीक्षार्थीमध्ये एक जना अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाइँले बताउनुभयो । उहाँका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन् ।

लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताउनुभयो । उहाँका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ । मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उहाँले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताउनुभयो ।

“विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो । यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौँ”, केन्द्राध्यक्ष पन्तले भन्नुभयो, थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाइँले अनुगमन गर्दै आउनुभएको छ । परीक्षा हलमा तस्बीर खिच्न निषेध गरिएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width