कर सहयोगी संगठन कास्कीमा दिवाकरकुमार कर्ण निर्वाचित

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
Tax News Main

पोखरा । कर सहयोगी श्रमिक संगठन संयुक्त जिल्ला कार्य समिति कास्की अध्यक्षमा दिवाकरकुमार कर्ण निर्वाचित भएका छन् ।

शुक्रबार संस्थाको ९ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी, प्रथम उपाध्यक्ष केदार ढकाल, द्वितीय उपाध्यक्ष अग्निधर पौडेल (गणेश) निर्वाचित भए । यसैगरी सचिव विनोद ढुंगाना, सहचिव गीतामणि पाण्डे, कोषाध्यक्ष सरोज ढकाल र सहकोषाध्यक्ष वैकुन्ठ गौतम निर्वाचित भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार पदाधिकारी र सदस्य सबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

सदस्यमा अनुप बराल, प्रकाश पुन, तारा बस्नेत, तीलक केसी, राजकुमार बोहोरा, सूर्यमोहन सुवेदी, सुरज सुवेदी, सुरज भण्डारी, रवि बस्नेत निर्वाचित भए ।
यसअघि आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख कर अधिकृत शिव शर्माले अधिवेशनको उद्घाटन गरेको कार्यक्रम संस्थाका अध्यक्ष प्रदीप बरालको अध्यक्षतामा भएको थियो ।

‘अडिटर र सिएसँगै कर सहयोगीले व्यवसायीहरुको मनोबल बढ्ने गरी काम गर्नुपर्छ’

उद्घाटन कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर सहयोगीहरु पनि कार्यालयकै सदस्य रहेको बताए । ‘तपाईंहरु कर कार्यालयको पारिवारिक सदस्य हो,’ उनले भने, ‘कार्यालयले स्वीकार गरिसकेको अवस्थामा तपाईंहरुले ढुक्कसँग काम गर्नुहोस् ।’ कर सहयोगी हुनका लागि अडिटर र सिएको भन्दा बढी ज्ञान हुनुपर्ने उनले बताए । अडिटर र सिएसँगै कर सहयोगीको पनि भूमिका महत्वपूर्ण रहने उनले सुनाए । कर सहयोगीहरुले व्यवसायीको आत्मबल बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘अडिटर र सिएसँगै कर सहयोगीले व्यवसायीहरुको मनोबल बढ्ने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘करदाताहरुलाई बचाउन सकिएन भने तपाईंहरुसँगै हाम्रो पनि काम छैन ।’ उनले अडिटर, सिए र कर सहयोगीले आ–आफ्नो काम गर्नुपर्ने बताए ।

पर्यटन तथा उद्योग कार्यालय कास्कीका प्रमुख महराज ढकालले संस्थाका सदस्यहरुलाई पेशागत इमानदारितामा रहेर व्यावसायीहरुलाई सहयोग गर्न आग्रह गरे । कर सहयोगीहरु अडिटर र व्यवसायीको सहयोगीको रुपमा रहनुपर्ने उनले बताए ।

कर सहयोगी श्रमिक संगठनका केन्द्रीय अध्यक्ष तारानाथ दाहालले अडिटर, व्यवसायी र कर सहयोगी मिलेर जानुको विकल्प नरहेको बताए । आफ्ना सदस्यहरुलाई दक्ष र योग्य बनाउन संस्था लागिपर्ने उनको भनाइ थियो । तर, व्यवसायीहरुको हितका लागि घरदैलोमा पुगेर सेवा गर्न उनले आफ्ना सदस्य आग्रह गरे । ‘अहिले अन्तर्राष्ट्रिय रुपमा नै व्यापार व्यावसाय घटेको छ । यसले हामीलाई मात्र नभएर सबैलाई गाह्रो परेको छ,’ उनले भने, ‘तर पनि व्यवसायी बचाउन घरदैलोमा जान तयार छौं । यसले हामीसँगै राज्यको राजस्व पनि वृद्धि हुन्छ ।’

पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले संगठनले व्यवसायी र कर कार्यालयबीच पुलको काम गरेकाले यसलाई निस्वार्थ अघि बढाउन आग्रह गरे । कर सहयोगीहरुको समस्या सरकारले सम्बोधन गरिदिनुपर्नेमा उनको जोड थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले संगठनका सदस्यहरुलाई संख्यात्मकभन्दा गुणात्मकमा ध्यान दिन आग्रह गरे । ‘अडिटर तथा कर सहयोगीहरुले सीमित फाइल लिएर गुणस्तरीय काम गरिदिनु पर्छ,’ उनले भने, ‘व्यवसायीहरुले पनि करको काम गर्नेहरुलाई राम्रो रकम दिएर गराउनुपर्छ ।’ कर सहयोगी र व्यावसायी संवेदनशील नभए व्यवसायीले कर तिर्न घरखेत बेच्नुपर्ने अवस्था आउनेतर्फ उनले सजग गराए ।

अडिटर्स एसोसिएसन गण्डकी अध्यक्ष पदमवन्धु पोखरेलले पेसागत अभ्यास गर्नका लागि निरन्तर लाग्नुपर्ने बताए । कर अडिट, व्यवसाय अडिट लगायत अडिटको प्रकार बुझेर कर सहयोगीहरुले काम गरे समस्या नहुने उनको भनाइ थियो । सदस्यहरुको दक्षताका लागि तालिम तथा क्षमता अभिवृद्धिका लागि मिलेर जानुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा आइक्यान गण्डकी प्रतिनिधि उदेक श्रेष्ठ, अडान कास्की सचिव गुणनिधि पाण्डे, संगठन वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद पौडेल, द्वितीय उपाध्यक्ष शंकर ढुंगाना, महासचिव नवराज बर्तौला, सचिव विजय यादव, संस्थाको कास्कीका पूर्व अध्यक्ष सुदीप अधिकारी, कास्की अध्यक्ष प्रदीप बराल, केन्द्रीय सदस्य तेजप्रसाद सापकोटाले कास्की महासचिव लोकनाथ अधिकारीलगायतले कर सहयोगीका लागि राज्यले अनुकूल नीति बनाउन नसक्दा समस्या परिरहेको बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width