श्रीमद्भागवत् ज्ञान महायज्ञबारे छलफल

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
mahayagya

पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीव्र पारिएको छ ।

जसअन्तर्गत आजकल दैनिक जसो भेला तथा छलफल भइरहेकोमा शनिबार पोखराका मुख्य सरोकारवाला संघसंस्थाका प्रतिनिधि एवं व्यक्तिहरूसँग अन्तक्र्रिया गरिएको छ ।

कार्यक्रममा यज्ञका प्रमुख वाचकसमेत रहेका हरिहर सन्यास आश्रम देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले महायज्ञलाई गुरु यज्ञको संज्ञा दिँदै त्यहाँ नेपालका विभिन्न स्थानबाट सन्त महन्तको आगमन हुने औंल्याए ।

उनले मानिसमा देव, पितृ तथा गुरु ऋण हुने उल्लेख गर्दै उक्त ऋण मोचनको माध्ययम यज्ञ बन्न सक्ने स्पष्ट पारे । सद्गुरु नभएसम्म असल मार्ग प्राप्त गर्न नसकिने जनाउँदै स्वामी सरस्वतीजी महाराजले शरीर पितृको सम्पत्ति भएको पनि धारणा राखे ।

यज्ञका संरक्षक चिद्धन चैतन्य महाराजले यज्ञलाई सबै मिली दिव्य बनाउनुपर्नेमा उल्लेख गर्दै भागवत्को सार समाजलाई बुझाउन यज्ञ फलदायी बन्न औंल्याए । उनले व्यासको मर्यादा कायम गरी यज्ञ सम्पन्न हुने विश्वास लिए ।

महायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेलले प्राय समाजमा हुने गरेका नियमित यज्ञ भन्दा यस यज्ञको उद्देश्य पृथक रहेको सुनाउँदै यज्ञमार्फत् आध्यात्मिक ज्ञान विस्तार गर्ने मूल उद्देश्य राखिएको स्पष्ट पारे । उनले यज्ञमार्फत् स्वःस्फूर्त रुपले प्राप्त हुने अर्थराशि वैदिक गुरुकुल एवं सत्संग केन्द्रहरुमा सदुपयोग हुने विश्वास दिलाए ।

महायज्ञ सम्पादन समितिका महासचिव सूर्यभक्त सिग्देलले धर्म निरपेक्षतामा नाममा देशमा धार्मिक स्खलन भइरहेको धारणा राख्दै लोककल्याणार्थ यज्ञ गरिएको स्पष्ट पारे । त्यस अवसरमा उनले यज्ञको समग्र विषयवस्तुबारे प्रकाश पारे ।

महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले यज्ञ सम्पन्न गर्न करिव ४० लाख खर्च अनुमान गरिएको जनाउँदै यज्ञको हरहिसाब पारदर्शी हुने बताए ।

त्यस अवसरमा यज्ञाचार्य डा.रामप्रसाद आचार्य, ताराखर पौडेल, रामचन्द्र पौडेल, नन्दप्रसाद सुवेदीलगायतले पनि धारणा राखे ।

यज्ञको तयारी स्वरुप आजकल दिनहुँजसो मूल आयोजक समितिको बैठक भइरहेको छ । त्यस्तै यज्ञका बारेमा ब्रोसर, पहिलो चरणको पत्रकार सम्मेलन, उपसमिति चयन, पत्र वितरणदेखि वडास्तरमा जनप्रतिनिधिसँग छलफल गरि सकिएको छ ।

यज्ञलाई धर्म संकल्प कार्यका रुपमा विकास गर्ने उद्देश्यका साथ तयारी भइरहेको छ । जसमा पोखरावासीको उल्लेख्य साथ, सहयोग मिल्ने आयोजकको विश्वास छ ।

१० दिनसम्म चल्ने यज्ञअन्तर्गत श्रीमद्भागवत् पाठपारायण, ब्रह्मगायत्रीद्वारा लक्ष्यहवन, लघुरुद्राभिषेक, सप्तशती पाठपारायण, वेद पाठपारायण, गीता विष्णुसहस्रनाम स्तोत्र पाठपरायण तथा पञ्चदेवोपासना र अन्य अनुष्ठानहरू हुनेछन् ।

यज्ञमा कर्ता बस्न इच्छुक व्यक्ति, परिवार वा वंशले ११ हजार १ सय ११ का साथमा सम्पादन समिति समक्ष आवेदन दिनुपर्ने छ ।

महायज्ञ सम्पादन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहअध्यक्ष महेश पराजुलीले स्वागत तथा महायज्ञ सम्पादन समितिका सदस्य पत्रकार दुर्गा अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width