वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

धनबहादुर गुरुङ
चैत्र १६, २०८०
Prithivi Highway Photo

पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८० किमी सडकखण्डमा काम भइरहेकोमा केही दिनको वर्षाले प्रभाव पारेको छ । आँबुखैरनी–जामुने (पूर्वीखण्ड, ४१ किमी) र जामुने–पोखरा (पश्चिमखण्ड, ३९ किमी) २ खण्डमा विभाजन गरी काम चलिरहेको छ । तर नाली निर्माण र सववेसको काम भइरहेको अवस्थामा वर्षाले सडक हिलाम्मे छ । हिलाम्ये सडकमा गुडिरहेका गाडी सामाजिक सञ्जालमा देखिने फोटोले कुरुपताको परिभाषा दिन्छ ।

सामाजिक सञ्जालमा धेरै फोटो पोखरा चाउथे खण्डको दुर्दशाको पाइन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि चाउथे डिलसम्म काम भइरहेको अवस्थामा वर्र्षाले त्यो खण्डले कुरुप बनाएको हो । यो खण्ड पोखराको प्रवेशमार्ग हो ।

त्यसबाहेक जामुनेसम्मकै हिलाम्मे सडकको फोटो सामाजिक सञ्जालमा भाइरल छ । पोखरा चाउथे खण्डको हिलाम्मे फोटो फेसबुकमा ‘राजा आदित्य खनाल’ नामबाट लेखिएको छ, ‘ल धानको बिउ लिएर आइहालु त छिटो साथीहरु रोपाइँ गर्नुप¥यो । पर्यटकीय राजधानी पोखरा पृथ्वी राजमार्ग चाउथेचोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्म आज विजोग रमाइलो हुने भो ।’

उनले जस्तै धेरैले वर्षाले बिगारेको बाटोको फोटो हाल्दै आलोचना गरेका छन् । विमानस्थल प्रवेशद्वारमै हिलाम्मे सडक हुँदा जहाजबाट पोखरा आउनेहरुलाई पनि हिलोले स्वागत गरेको उनीहरुको भनाइ छ । सडक हिलाम्मे हुँदा राजमार्ग हँुदै काठमाडौं जाने यात्रु तथा चालक पनि हैरानी खेपिरहेका छन् । अहिले गन्तव्यमा कति बजे पुग्न सकिन्छ भनेरसमेत भन्न सकिने अवस्था नरहेको नाट्टा गण्डकी अध्यक्ष हरि अधिकारीले बताए । उनका अनुसार काठमाडौंबाट बिहान ७ बजे छुटेका पर्यटक बस दिउँसो ४ बजेभित्र पोखरा आइपुग्नु पर्नेमा बुधबार बेलुकी ६ बजेमात्र आए । उनले भने, ‘यसै पनि राजमार्ग बिस्तारले सकस थियो । त्यसैमा हिलोका कारण झनै सकसपूर्ण यात्रा बनेको छ ।’
यता, जामुनेदेखि पोखरासम्म पश्चिम खण्डका आयोजना प्रमुख राजेशप्रसाद पौडेल भने अचानक परेको पानीले समस्या परेको बताउँछन् । ‘यो समय १/२ घण्टा पानी परेर रोकिने समय हो । तर, आश्चर्यजनक रुपमा झरी पर्दा समस्या भएको छ,’ उनले भने, ‘यसले हामीले अझै ८/१० दिन समस्या दिनेवाला छ । किनभने हामीले काम गर्न अब केही दिन घाम लागेर सुक्न पर्छ ।’

पोखरा विमानस्थल चोकदेखि चाउथे डिलसम्म साढे २ महिनाअघि काम सुरु गरिएको उनले सुनाए । १ हजार २ सय ५० मिटर क्षेत्रमा नाली र सववेसको काम चलिरहेको उनले बताए । ‘यो क्षेत्रमा साढे २ महिनादेखि काम सुरु गरेका हौं । खानेपानीको पाइप र बिजुलीको पोल सार्ने काम अन्तिम चरणमा रहेको छ,’ उनले भने, ‘सँगै नाली र सववेसको काम भइरहेको अवस्थामा झरी पर्दा समस्या भएको हो ।’ असारअघि नै यो क्षेत्रको काम सक्नेगरी काम भइरहेको उनको भनाइ थियो ।

धुलाम्मे र हिलाम्मे सडक समस्या समाधानका लागि आफूहरु द्रूतगतिमा अघि बढेको उनले बताए । उनका अनुसार अहिले यो क्षेत्रको तालचोकदेखि तल्लो गगनगौंडासम्मको क्षेत्रबाहेक अन्य क्षेत्रमा काम भइरहेको छ । ‘हामीले तालचोकदेखि तल्लो गगनगौंडासम्म पहिला पनि सडक राम्रो भएकाले यसलाई केही समयपछि गर्ने भनेर बाँकी क्षेत्रमा काम गरिरहेका छौं,’ उनले भने, ‘जतिमा काम गरिरहेका छौं, त्यस क्षेत्रमा जुलाइ १५ भन्दा अघि नै सक्ने लक्ष्य लिएका छौं ।’

तल्लो गगनगौंडादेखि जामुनेसम्म एउटा लेनको काम सक्ने प्रमुख पौडेलले बताए । ‘तल्लो गगनगौंडादेखि तालचोकसम्म एक साइडमा दुईतर्फी सवारी चल्न सक्ने गरी कनेक्टीभिटी दिने भनेर लामेआहाल, मजुवा, कोत्रे, दुलेगौडा, बेलचौतारा, खैरेनीटार क्षेत्रमा फोकसका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘गगनगौडा क्षेत्रमा कालोपत्रे गर्नका लागि ठिक्क परेका थियौं । झरीले त्यहाँ पनि समस्या छ ।’

विभिन्न समस्या हुँदाहुँदै पनि यो खण्डमा १७ दशमलब ५ भौतिक र २६ प्रतिशत वित्तीय प्रगति रहेको प्रमुख पौडेलले बताए । अबको साढे २ महिनाभित्र भौतिक प्रगति २४ प्रतिशत पु¥याउने गरी निर्माण कम्पनीसँग सल्लाह गरी काम गरिरहेको उनको भनाइ छ । ‘मौसम खुलेपछि अबको डेढ २ महिना अलि बढी नै फोकस गरेर प्रगति पनि निकाल्ने गरेर निर्माण कम्पनी अघि बढ्न खोजेको छ,’ उनले भने, ‘केही ठाउँमा बिजुलीको समस्या देखिएको छ । यसका लागि विद्युत प्राधिकरणसँग समन्वय भइरहेको छ ।’
यसबाहेक लक्षित प्रगति भेट्न कच्चा पदार्थको समस्या रहन सक्ने उनले सनाए । ‘नदीजन्य मेटरियलमा समस्या हुन सक्छ । यसका लागि हामीले पोखरा, शुक्लागण्डकी र म्याग्दे ३ वटा स्थानीय तहलाई भनिसकेका छौं,’ प्रमुख पौडेलले भने, ‘उहाँहरुले दिने त भन्नुभएको छ तर प्रक्रिया लम्बाइरहनुभएको छ । अबको २ महिनापछि हामी खोलामा जान पनि मिल्दैन । जेठदेखि असोजसम्म ढुंगा गिट्टी बालुवा उत्खनन् रोक्नुभन्दा अघि नै हामीलाई चाहिने मेटरियल जोहो गर्न सकियो भने बर्खामा पनि काम गर्न सक्छौं ।’
यो क्षेत्रमा धेरै बजार क्षेत्र पर्ने भएकाले घर तथा भौतिक संरचना काम पनि अन्तिम चरणमा रहेको उनले बताए । ‘तनहुँ जिल्लामा हामीले मुआब्जाको काम सकिसकेका छौं । कास्कीमा पनि एक चरणको सकिइसकेको छ,’ उनले भने, ‘अर्को चरणमा के छ हेरेर टुंगाउनेक्रममा छौं । वन क्षेत्रमा तनहुँतिर सकिएको छ । कास्कीमा १८ वटा रुख काट्नुपर्ने छ । अब छिट्टै काट्दै छौं ।’

दुवै खण्ड बिस्तारको काम चिनियाँ निर्माण कम्पनीले गरिरहेको छ । पोखरा–मुग्लिन सडकको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ । सम्झौता अनुसार सन् २०२४ अप्रिलसम्म पूर्वीखण्ड र २०२४ अगस्तसम्म पश्चिमखण्ड सकिन्छ ।

एडिबी सहुलियत ब्याज ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको २ लेन सडकलाई विस्तार गरी ४ लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो । १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ । आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्म लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width