एमाले कास्की अधिवेशन : दुइतिहाइले बुझे मनोनयन फाराम

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
uml election

पोखरा । पोखरा सभागृहमा जारी नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनमा मनोनयन पत्र वितरण सुरु भएको छ । २ दिनसम्म बन्दसत्र गरेर सोमबार साँझदेखि मनोनयन पत्र वितरण गरिएको हो । निर्वाचन समिति संयोजक भगवती पहारीका अनुसार ६ सय ८० वटा फाराम वितरण भएको छ ।

‘१ सय रुपैयाँ शुल्क लिएर फाराम वितरण गरिएको छ । निशुल्क गरेको भए सबैले फाराम लैजाने रहेछन् जस्तो भयो,’ उनी भन्छिन्, ‘अब फाराम लगेकामध्ये कतिले मनोनयन दर्ता गर्छन् थाहा छैन ।’ मंगलबार बिहान साढे ७ देखि साढे ८ बजेसम्म मनोनयन दर्ताको तालिका छ ।

मनोनयन दर्ता गर्न ५ सय रुपैयाँ लाग्छ । ‘सबै पदमा समान शुल्क हो । कसैलाई विभेद छैन,’ उनले भनिन् । मनोनयन दर्ता अघि संगठन विभागले स्वीकृति दिनुपर्छ । पहारीले साढे १ बजेदेखि मतदान सुरु हुने जानकारी दिइन् । ‘मतदानको लागि ५ घण्टा जति लाग्ला,’ उनले भनिन्, ‘सकेसम्म मंगलबार नै रिजल्ट निकाल्ने योजना छ ।’

कास्कीको नेतृत्व लिन विभिन्न प्यानल उम्मेदवार पर्ने देखिएको छ । एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीनिकटको छुट्टाछुट्टै प्यानल हुनेछ । यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेहरु पनि अत्यधिक हुने अनुमान गरिएको छ ।

२ दिनसम्म चल्ने भनिएको अधिवेशन अवधि लम्बिएको छ । शनिबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनमा ९ सय ३५ प्रतिनिधिले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width