एमाले कास्की अधिवेशन आजदेखि : पृथ्वीसुब्बा र खगराजको शक्ति परीक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०८०
PS-Khagaraj

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु हुँदैछ । नयाँबजार प्रदर्शनी केन्द्रमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने छन् । अधिवेशनको सबै तयारी पूरा भएको शनिबार पत्रकार सम्मेलनमार्फत एमालेले जनायो ।

यसअघि प्रतिनिधि छनोटमा विवाद भएपछि अधिवेशन स्थगित हुने आशंका गरिएको थियो । जिल्ला अध्यक्ष मनबहादुर गुरुङले पठाएको सर्कुलरमा जिल्ला इन्चार्ज थममाया थापा र जिल्ला सचिव बैनबहादुर अधिकारी समूहले असन्तुष्टि जनाएपछि केन्द्रले नै हस्तक्षेप गरेको हो ।

पछि दुवै पक्षको सहमतिमा छनोटको फरक मापदण्ड बनाइएको थियो । कास्कीका ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट ९ सय ३५ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार १ सय २२ सदस्यीय नयाँ कार्यसमिति अधिवेशनबाट चयन हुनेछ । कार्यसमितिले पछि १२ जना मनोनीत गर्नेछ भने अन्य पार्टीबाट आएका १२ जनालाई थप्दै जिल्ला कमिटीलाई पूर्णता दिइने जनाइएको छ । अधिवेशनमा अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक प्रतिवेदन र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

२ दिनसम्म चल्ने अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने अध्यक्ष गुरुङले दाबी गरे । दाबेदारी प्रस्तुत भएपछि आन्तरिक रुपमा व्यापक छलफल गर्ने र सर्वसम्मतबाट नेतृत्व छानिने उनको भनाइ छ । तर उनले दाबी गरेजस्तो कास्कीको नेतृत्व सर्वसम्मत छानिने सम्भावना निकै कम छ । यहाँ केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीनिकट प्यानल नै घोषणा हुने अवस्था छ । ‘लोकतन्त्रमा पदहरुमा धेरैले आकांक्षा राख्न पाउँछन्,’ उनी भन्छन्, ‘अधिवेशन भनेको जनवाद पनि हो । विचार राख्न पाइन्छ । अन्त्यमा एकता प्रस्तुत गरेर सर्वसम्मत नेतृत्व छान्ने काम गर्छौं ।’

जिल्ला इन्चार्ज थममाया थापाले कास्की गण्डकी प्रदेशकै राजधानी जिल्ला भएकोले सर्वसम्मत नेतृत्व छानेर सकारात्मक सन्देश दिनुपर्ने बताइन् । ‘विचारहरुमाथि छलफल र बहस हुनु स्वभाविक हो । त्यसैलाई फरक गुट र उपगुटको रुपमा हेर्नु हुँदैन । राजधानी जिल्ला भएकोले यसलाई व्यवस्थित गर्नुपर्छ । यसैबाट अरुले पनि सिक्छन्,’ उनले भनिन्, ‘वैचारिक, राजनीतिक, सांगठानिक हरेक विषयमा छलफल हुन्छन् । छलफल र मन्थनबाट नै सर्वसम्मत नेतृत्व छान्न सकिन्छ ।’

गण्डकीमा यसअघि म्याग्दी र गोरखाको अधिवेशन सकिएको छ । म्याग्दीमा सर्वसम्मत नेतृत्व चयन भएपनि अन्य पदमा निर्वाचन भयो भने गोरखाका सबै पदाधिकारी मतदानबाट निर्वाचित भएका हुन् ।

गण्डकीमा मौलाउँदै गुट

अधिवेशनमा मतदानबाट नेतृत्व चयन हुनु स्वभाविक प्रक्रिया हो । यस्तो प्रतिस्पर्धाले आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाउँछ । तर गण्डकीमा विचारभन्दा माथि गुट छ । पृथ्वीसुब्बा र खगराज गुटका उम्मेद्वार प्रस्ट देखिने गरी मैदानमा झर्छन् । यसको उदाहरण गण्डकी प्रदेश अधिवेशनले पुष्टि गरिसकेको छ भने पछिल्लो क्रममा भएको म्याग्दी र गोरखाको अधिवेशनमा पनि देखिएको थियो । अहिले हरेक फोरममा उठ्ने प्रश्न पिएस (पृथ्वीसुव्वा) र केआर (खगराज) गुटको चरम र अस्वस्थ प्रतिस्पर्धा हो । उनीहरु हरेक चुनावमा आफ्नो अस्तित्व खोजी गर्छन् र सोही अनुसार कार्यकर्ताहरु परिचालन गर्छन् । कास्की अधिवेशनमा पनि सोही निरन्तरता हुने पक्का छ ।

पिएस गुटबाट दीपक पौडेल, माधव बास्तोला वा तेजनारायण अधिकारी उम्मेद्वार बन्ने पक्का छ भने केआर गुटबाट बैनबहादुर अधिकारीले उम्मेद्वारी घोषणा गरिसकेका छन् । स्रोतका अनुसार दीपकलाई अध्यक्ष, माधवलाई उपाध्यक्ष र अधिकारीलाई प्रदेशको कार्यालय सचिव बनाउने गरी आन्तरिक तयारी गरिएको छ । अध्यक्षमा मात्रै होइन, पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर चुनाव हुने अवस्था छ । उनीहरु आफ्नो पकड बढाउन आन्तरिक लविङ पनि गरिरहेका छन् । केआर टिमबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) को नाम लगभग टुंगिएको छ । उपसचिवमा शारदा पराजुली र लालबहादुर परियार वा सन्तु सुवेदी र विवेक देवकोटाको नाम चर्चामा छ ।

पिएस टिमले सचिवमा कर्णबहादुर गुरुङ र सुरेन्द्र गुरुङमध्ये १ जनालाई उठाउने पक्का छ । उपसचिवमा राधिका शाही योगी र सचिव नउठे सुरेन्द्र गुरुङलाई अघि सार्ने बुझिएको छ । दुवै पक्षले शनिबार साँझ उम्मेद्वार टुंगो लगाउने छन् । प्रतिनिधिको अवस्था र उम्मेद्वारको चर्चा हेर्दा कास्कीमा पृथ्वीसुब्बा खगराजभन्दा कमजोर देखिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width