पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
tourism capital

तस्बिर : रासस

पोखरा । नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सञ्चालनमा आउने भएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रममा पोखराका मेयर धनराज आचार्यले उक्त घोषणाा गरेका हुन् । पर्यटकीय राजधानी घोषणा पश्चात नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत स्थानीय तहको आगामी नीति, योजना तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने उनले विश्वास व्यक्त गरे ।

सम्बोधनको पूर्णपाठः

पोखरेली जनताको सपना, अनवरत प्रयास र अपेक्षा अनुरूप पोखरा र सिंगो गण्डकी प्रदेशको पहिचान, प्रतिष्ठा तथा समृद्विको अभियानमा नयाँ आयाम थपिएको आजको ऐतिहासिक दिनलाई पर्वको रूपमा मनाउन सगर्व उपस्थित भएका छौं ।

प्राकृतिक, सांस्कृतिक र साहसिक दृष्टिले अनुपम, विश्वमै शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्यातीप्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रूपमा औपचारिक घोषणा हुँदै गर्दा हामीलाई रोमाञ्चित बनाएको छ, गौरवान्वित बनाएको छ र यस घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रृवृद्विमा नयाँ आयाम थपिने विश्वास लिएका छौं ।

विश्वका विभिन्न मुलुकहरूमा शहरको आ–आफ्नै विशिष्टता र पहिचानका आधारमा राजधानी घोषणा गर्ने प्रचलित अभ्यास रहेको तथ्यलाई समेत विचार गरी अन्तर्राष्ट्रिय रूपमा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा ख्यातिप्राप्त पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञहरू समेत रहेको एक अध्ययन समिति गठन गरिएको थियो ।

समितिले यस सम्बन्धमा विस्तृत अध्ययन गरी विभिन्न सूचकहरूको आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न विद्यमान सबल पक्ष, सुधार गर्नुपर्ने विषय तथा आगामी कार्यदिशाका सम्बन्धमा तथ्यगत तथा वस्तुनिष्ठ विश्लेषण गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गरेको थियो ।

उक्त प्रतिवेदन उपर थप छलफल, अध्ययन मूल्याङ्कन गरी गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत आसपासका अन्य स्थानीयतहरुबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ भन्ने सबैको निर्णयसहितको सिफारिस भयो । गण्डकी प्रदेश तथा कास्की जिल्लाका सबै राजनीतिक दल, निजी क्षेत्र, उद्यमी व्यवसायी, नागरिक समाज, सञ्चार क्षेत्र, विभिन्न संघ–संस्थाहरूको संस्थागत निर्णयसहितको सिफारिसको आधारमा यस पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो ।

पर्यटकीय राजधानी घोषणा पश्चात नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत स्थानीय तहको आगामी नीति, योजना तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने छ ।

पोखराको पर्यटकीय ब्रान्डिङ तथा बजारीकरण र प्रवर्द्धनमा सहयोग पुग्ने, पर्यटन व्यवसायी लगायत सरोकारवालामा उत्साह तथा उर्जा थपिने, पोखरामा आन्तरिक तथा बाह्य लगानीको अनुकूल वातावरण बन्ने, विकास साझेदारहरुसँग सहकार्यको क्षेत्र विस्तार हुने र निजी क्षेत्रको जवाफदेहिता र क्षमता विकास अभिबृद्वि हुने लगायतको दुरगामी नतिजा प्राप्त हुने विश्वास गरिएको छ ।

पर्यटकीय राजधानी घोषणा पश्चात थपिने चुनौती र सम्भावित अवसरहरूको आंकलन गरिएको छ । विद्यमान तथा सम्भावित चुनौती सामाना गर्दै अध्ययन प्रतिवेदनले औंल्याएका तथ्य विभिन्न पक्षबाट प्राप्त राय सुझाव अनुरूप पर्यटकीय राजधानीको विकास र सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास, सुशासन प्रवर्द्धन लगायतका क्षेत्रमा अल्पकालीन, मध्यकालिन र दीर्घकालिन कार्यान्वयन योजना तथा रणनीति निर्माण गरी कार्यान्वयन गरिने समेत प्रतिवद्वता व्यक्त गर्दछु ।

आजैदेखि निश्चित कार्यविधि र मापदण्डका आधारमा पोखराका मुख्य बजार क्षेत्र २४ सै घण्टा खुल्ला गरिएको व्यहोरा जानकारी गराउँदछु । साथै एक हप्ताभित्र यातायात तथा ट्राफिक सुधार योजना तयार गरी कार्यान्वयन सुरू गरिनेछ ।

आगामी नव वर्ष २०८१ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सञ्चालन गरिने छ । अन्य सुझावहरू उपर तत्काल सरोकारवालाहरूसँग थप छलफल तथा समन्वय गरी समयवद्व कार्ययोजना नै बनाइ कार्यान्वयन गर्दै जाने प्रतिवद्वता व्यक्त गर्दछु ।

यस घोषणाले हामीसँग उपलब्ध प्राकृतिक सम्पदाको संरक्षण, दिगो विकास र प्रवर्धन गरी समुन्नति हासिल गर्न हाम्रा मौलिक सांस्कृतिक धरोहरको संरक्षण र सम्बर्धन गर्न थप उत्साह र जिम्मेवारी थपिदिएको छ ।

राजधानी शब्दको मर्म, गरिमा र प्रतिष्ठालाई उचो बनाउन पर्यटकीय राजधानीलाई साच्चै राजधानी जस्तै बनाउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार र दृढ संकल्परत छौं ।

अन्य क्षेत्रबाट पनि जिम्मेवारीवोधका साथ रचनात्मक र सकरात्मक योगदानको अपेक्षा गरेका छौं । अध्ययन प्रतिवेदनले औंल्याएका विषयहरू तथा अन्य सरोकारबालाहरूबाट प्राप्त राय सुझावलाई हाम्रा आगामी आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लग्ने प्रतिवद्वता व्यक्त गर्दछु ।

पोखरा मुलुककै पर्यटकीय राजधानी भएकोले यसको समग्र विकासका लागि सबै प्रकारको साथ सहयोग र सहजिकरणमा अभिभावकीय भूमिका निर्वाह गरिदिन र खासगरी संविधानको मर्म, भावना र व्यवस्था अनुरूप आवश्यक नीतिगत तथा कानूनी व्यवस्था, श्रोत साधनको व्यवस्था र आन्तरिक तथा बाह्य लगानीको अनुकूल वातावरण सिर्जनामा विशेष पहल गरिदिन प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछु ।

पोखरा पर्यटकीय राजधानी सँगसँगै गण्डकी प्रदेशको राजधानीसमेत भएकोले गण्डकी प्रदेश सरकारले आगामी नीति योजना तथा कार्यक्रममा पोखरालाई विशेष प्राथमिकतामा राख्ने नै छ भन्ने विश्वास लिएको छु ।

पोखरा आसपासका नगरपालिका तथा गाउँपालिकाहरूले पनि ग्रेटर पोखराको अवधारणा अनुरूप बृहततर पोखराको विकास गर्न आपसी हातेमालोको लागि हार्दिक आग्रह गर्दछु ।

पोखराको पर्यटकीय व्राण्डिङलाई विश्वभर विस्तार गर्न, दिगो पर्यटन विकास गर्न तथा पर्यटकीय राजधानीको प्रतिष्ठा र छवि अभिवृद्धि गर्न सम्बद्व सबै उद्यमी र व्यवसायीहरू, नागरिक समाज, संघ संस्थाहरू, सञ्चारकर्मीलगायत सबै आम पोखरेली जनसमुदायबाट रचनात्मक सहयोग समन्वय सहकार्यको लागि आह्वान गर्दछु ।

पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि पोखराको आन्तरिक स्रोतले सम्भव नहुने हुँदा नेपाल सरकारबाट प्राथमिकतापूर्वक आवश्यक कार्यक्रम तथा बजेट व्यवस्थाका लागि अनुरोध गर्दछु ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडान सुरू गर्न आवश्यक पहल समन्वय र लबिङ, कोरोला–त्रिवेणी नाका सञ्चालनको लागि पूर्वाधार निर्माणको लागि स्रोत व्यवस्थापन, पहाडी क्षेत्रको समग्र विकासमा दुरगामी महत्त्व राख्ने रणनीतिक महत्वको मध्यपहाडी लोकमार्ग निर्माणमा तिव्रता, पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्डमा सडक स्तरोन्नतिको निर्माणमा तिव्रता जस्ता विषयमा नेपाल सरकारको उच्चस्तरबाट अनुगमन, निर्देशन तथा पहल हुन प्रधानमन्त्रीज्यू समक्ष विशेष अनुरोध गर्दछु ।

पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र निर्माण, पोखरा चक्रपथ निर्माण जस्ता पहिचान भएका थुप्रै ठूला आयोजना निर्माण गर्न नेपाल सरकारबाट आवश्यक श्रोत साधनको व्यवस्था वा विकास साझेदारसँग पहल र समन्वयको लागिसमेत अनुरोध गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width