रमजान : रोजा, नमाज अनि सेवाको त्रिवेणी

धनबहादुर गुरुङ
फागुन ३०, २०८०
Ramajan Photo 4

पोखरा ।  अरबी पात्रो अनुसार नवौं महिना रमादान मंगलबारदेखि सुरु भयो । चन्द्रमा हेरेर हिजरी संवत्मा तिथि, मिति, महिना छुट्याइन्छ । मुस्लिम समुदाय यो महिनालाई विशेष रुपमा मनाउँछन् । अरबी भाषामा ‘रमादान’ अनि नेपालीमा ‘रमाजान’ नाममा महिनाभर नै मनाउने धार्मिक महत्व छ ।

कास्कीमा २० हजार हाराहारीमा मुस्लिम समुदाय छन् । यहाँ मियाँपाटन, पृथ्वीचोक र चिप्लेढुंगामा ३ मस्जिद छन् । ती मस्जिदमा बडो हर्षोल्लाससाथ मंगलबारदेखि रमाजान सुरु भएको छ । कास्कीमा मात्र नभएर ५७ देशका मुस्लिम समुदायका करिब २ अर्ब परिवारले रमाजान मनाइरहेका जामे मस्जिदे अक्सा मियाँपाटनका धर्मगुरु इमाम हुसेनले बताए । उनका अनुसार रमाजानको कार्य सोमबार बेलुका चन्द्रमाको दर्शन गरेसँगै सुरु भएको छ । १ महिनासम्म रोजा (व्रत) बस्ने तथा तरावी अर्थात् विशेष नमाज पढ्ने गरिन्छ । १ महिनापछि सूर्य अस्ताएसँगै इफ्तार (साँझको खाना) खाएर यो पर्व समाप्त गरिन्छ । ३० दिनसम्म रोजा (व्रत), इफ्तार (व्रत खोल्ने), कुरान पढ्ने, धेरैभन्दा धेरै धार्मिक काम गरिने मियाँपाटनका धर्मगुरु इमाम हुसेनले सुनाए । अरबी भाषामा ‘साहरू रमाजाना साहरुल्लाह’ भन्ने गरिन्छ, जसको अर्थ रमाजान अल्लाहको महिना हो भन्ने हुन्छ । त्यसैले यसलाई पवित्र र फलदायी महिनाको रूपमा लिने गरिएको मियाँपाटनका धर्मगुरु इमाम हुसेनले बताए । अल्लाहको उपासना गरे फल प्राप्त हुने विश्वाससहित यो पर्व मनाउने गरिएको छ ।

यसै महिनामा धार्मिक ग्रन्थ ‘कुरान’ जन्म भएकाले इस्लाम धर्मावलम्बीले १२ महिनामध्ये यस महिनालाई पवित्ररूपमा लिने गर्दछन् । यो महिना सूर्य उदाएपछि र अस्ताउनुअघिसम्म पानीसम्म नखाइ उपवास (रोजा) बस्ने चलन छ । यहाँसम्म कि जानाजान थुकसम्म पनि निल्न नहुने अन्यथा रोजा तोडिने विश्वास गरिन्छ । ‘यस महिनामा रोजा (व्रत) बस्ने गरिन्छ । बिहानको मिर्मिरेदेखि सूर्यास्तसम्म खाने पिउने, शारीरिक सम्पर्क गर्नबाट आफूलाई वञ्चित राखिन्छ,’ उनले भने, ‘भुलेर कसैले गर्छ भनेर त्यसमा फरक त पर्दैन, तर जानीजानी यी चिजमा सहभागी हुँदैनौं ।’

उनीहरूले यो समयलाई आफ्नो पाप पखाल्ने तथा बढीभन्दा बढी पुण्य कमाउने समयको रूपमा पनि लिने गरेको उनले बताए । ‘रोजा मात्र नभएर यो महिना भनेको आफूलाई अनुशासित बनाउने महिना हो । जसरी हामीले दैनिक खाने, पिउने क्रियाकलापबाट आफूलाई रोक्छौं । त्यसरी नै नराम्रो कामबाट पनि बचाउन अति नै आवश्यक छ, यो महिनामा,’ उनले भने, ‘झुट बोल्ने, कुरा काट्ने, नराम्रो बोल्ने, गालीगलौच बानी छ भने त्योबाट बच्नुपर्छ । जति पनि विकृति छन्, सबैबाट आफूलाई बचाउँदै यो महिनाभर मनाउने गरिन्छ ।’ यो महिना जसले राम्रोसँग सदुपयोग ग¥यो, त्यो व्यक्ति असल भएर बाहिरिन निस्कने विश्वास रहेको उनले सुनाए ।

आफूहरुले बस्ने रोजा (व्रत) चिकित्सकीय हिसाबमा पनि राम्रो रहेको उनले सुनाए । ‘अहिलेको अवस्थामा डाक्टरले पनि केही समय फास्टिङ गर्दा स्वास्थ्यमा धेरै फाइदा हुन्छ भनिरहेको अवस्थामा रमाजानले त्यसमा पनि सहयोग गरिरहेको छ,’ उनले भने, ‘आजभन्दा १४ सय वर्ष अघिदेखि रोजा बस्ने प्रचलन चलेको हो । यसको तालिका र फास्टिङको तालिका समान छ ।’

रमजान महिनाभर दिनभर भोको रहेपछि बेलुकी सूर्य अस्ताएसँगै सामूहिक रूपमा इफ्तार (साँझको खाना) खाने गरिन्छ । त्यस्तै सूर्य उदाउनुअघि नै सेहरी अर्थात् बिहानको खाना खाएर दिन सुरु हुन्छ । ‘एक किसिमले भन्दा रोजा खोल्नुलाई इफ्तार (साँझको खाना) भनिन्छ । त्यो समयमा आफूलाई मनपर्ने खानेकुरा खाइन्छ,’ उनले भने, ‘यो समयमा अरु बेला खानेभन्दा मिठो–मिठो खाने चलन छ । यो समयमा आफ्नो घरमा छिमेकी बोलाएर अनि टाढा रहेको इस्टमित्र बोलाएर सत्कार गर्ने चलन छ । यो बेला त हामीले बाटोमा हिंड्नेलाई पनि बोलाएर खुवाउनुपर्ने हुन्छ । कतिपयले त्यो पनि गरिरहेका छन् ।’

समान्यता दिनमा ५ पटक नमाज पढिने उनले बताए । ‘५ पटक नमाज पढ्नु अनिवार्य हो । बिहान मिर्मिरेपछिको पढिने फजरको नमाज हो । त्यसको २ घण्टापछि जाहरको नमाज पढिन्छ,’ उनले भने, ‘त्यसपछि सूर्य अस्ताउनु २ घण्टाअघि असरको नमाज र सूर्य अस्ताएपछि मगरिप र त्यसको २ घण्टापछि इसाको नमाज पढ्न अनिवार्य छ ।’ यो महिनामा आफ्नो वर्षभरको कमाइको २ दशमलब ५ प्रतिशत रकम गरिब, असहाय र दिनदुखीलाई दिनुपर्ने उनले बताए ।

शारीरिकरूपले अशक्त, नाबालक÷बालिका, यात्रामा रहेकाको हकमा भने रोजा नबस्न सक्छन् । रोजा बस्दाबस्दै बिरामी भए रोजा तोड्न सक्ने उनले सुनाए । रमाजानले युवालाई विकृतिबाट रोकेर राखेको उनले बताए । ‘इस्लामले विकृतिलाई विकृति भनेर औंला ठड्याइदिन्छ । यो नगर है भनेर ‘स्ट्रिक्ली’ भनिदिन्छ । त्यसैले हाम्रा युवालाई धर्मले बाँधेर राखेको छ,’ उनले भने, ‘हाम्रा युवा कुनै पनि दुव्र्यसनीमा हिंडेको भेटिन्न । यत्रो ठूलो समाजमा कुनै–कुनै अपवादमा त्यस्तो होलान् तर धेरैलाई धर्मका कारणले रोकेको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width