पोखरामा ललितकला उत्सव

धनबहादुर गुरुङ
फागुन २०, २०८०
art 1

पोखरा । चित्रकला, मूर्तिकला, थाङ्का, हस्तकला एकै थलोमा कमै भेटिन्छ, देखिन्छ । तर, पोखरा ९ नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको भुइँतलाको हलमा यी सबै एकै ठाउँमा राखिएको छ । सुरुमै राखिएको हस्तकलाका सामानसँगै सुरु हुने हलको यात्रा समसामायिक एक्रेलिक चित्र हेर्दै थाङ्का, मूर्तिकलामा कलाकार कला हेर्न पाइन्छ ।
यसको चाँजोपाजो नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले मिलाएको हो । यसमा सहकार्य सिर्जनशील कलाकार समूहले गरेको छ । यसको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गरेका हुन् । ‘सामाजिक रुपान्तरण ः ललितकलाको अभियान’ भन्ने नाराका साथ हुने प्रदर्शनी फागुन २३ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा अग्रजदेखि अनुज कलाकारहरूको ललितकला राखिएको छ । यहाँ राखिएको कलाकृतिहरू जीवन्त रहेको प्रज्ञा परिषद् सदस्य तथा परम्परागत शिल्पकला विभाग निवर्तमान प्रमुख प्राज्ञ बुद्धि गुरुङले बताए । उनले पनि समसामयिकअन्तर्गत कामदेवको चित्र बनाएर प्रदर्शन गरेका छन् । ‘म ४ वर्षअघि काठमाडौंको खिचापोखरीको शिव मन्दिर जाँदा कामदेवको मूर्ति देखे अनि मलाई बनाउन मन लाग्यो,’ उनले भने, ‘त्यसपछि बनाउन सुरु गरँे, बनाउँदै जाँदा लजाउँदै गरेको महिला राखेर बनाउँदा २ वर्ष लाग्यो । अनि बनाइसकेर यहाँ प्रदर्शनमा ल्याएको हुँ ।’

यसरी समय समयमा हुने ललितकला प्रदर्शनीले कला क्षेत्रको उत्थान हुने उनले सुनाए । ‘ललितकला बुझाउन त सबैभन्दा पहिला जनचेतना नै फैलाउनुपर्छ,’ उनले भने, ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान हुने बेलामा क्षेत्रीय प्रदर्शनी गथ्र्यो । संघीयता आएपछि यसरी प्रादेशिक रुपमा पोखरामा भएको पहिलो पटक हो । यस्तो प्रदर्शनी भइरहनुपर्छ ।’
प्रदर्शनीमा स्याङ्जाकी अनिशा भण्डारीले पनि क्यारिकेचर चित्र प्रदर्शनमा राखेकी छिन् । उनी आर्ट नै पढिरहेकी छिन् । काठमाडौंमा सिर्जना अफ फाइन आर्ट्समा ग्राफिक कम्युनिकेसनअन्तर्गत क्यारिकेचर (कार्टुन) पढिरहेकी छिन् ।

पढेको विषय अनि प्रयोगात्मक सिप आफ्नै प्रदेशमा प्रदर्शन गर्न पाउँदा उनी निकै खुसी थिइन् । ‘पहिला मलाई यस्तो आर्ट पढ्न मिल्छ भनेर थाहा पनि थिएन् । स्कुलमा किताबमा भएको चित्र कहिलेकाहीँ कोर्ने गर्थे । भूकम्पछि २०७३ मा सिर्जना अफ फाइन आर्ट्समा डान्स पढ्न जाँदा डान्स नभएपछि ११÷१२ मा फाइन आर्ट्सको पेन्टिङ सेलेक्ट गरेपछि यता रुचि बढेको हो,’ उनले भनिन्, ‘चित्र बनाउँदै जाँदा आफ्नै ठाउँमा आफ्नो कला प्रदर्शन गर्न पाए भन्ने हुन्थ्यो । अहिले अवसर जु¥यो ।’
प्रदर्शनी भइरह्यो भने कलाका बारेमा सबै जानकार हुन सघाउ पुग्ने उनले सुनाइन् । ‘नेपालमा अझै पनि आर्टलाई मान्छेले राम्रोसँग बुझेका छैनन् । मैरै परिवारले पनि चित्र मात्र बनाएर बस् पढ्ने होइन? भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘नबुझेकालाई बुझाउन अनि नयाँ पुस्तालाई जानकारी दिन यस्तो खालको ललितकला प्रदर्शनीले सघाउ पुग्छ ।’

पोखरामा चित्रकलामै भविष्य खोजिरहेकाहरू ५०/६० को हाराहारीमा छन् । यो क्षेत्रमा युवापुस्ताको रुचि बढाउनका लागि सरकारी पक्षबाट पनि कला प्रदर्शनी भइरहनुपर्ने सिर्जनशील कलाकार समूहका सदस्य निशान थापाले जानकारी दिए । ‘यस्तो कार्यक्रम भइरह्यो भने कलाप्रेमीहरूलाई कला हेर्ने मौका मिल्छ । संस्थागत रुपमा भइरहने प्रदर्शनीले मानिशहरूमा कलात्मक चेत बढिरहेको छ,’ उनले भने, ‘यसमा सरकारी पक्षबाट पनि यसरी नै प्रदर्शनी भइरहने हो भने यसबाट पनि जीविकोपार्जन गर्न सकिन्छ । यो पनि सम्मानजनक पेसा हो भन्ने चेत अझै बढ्न सहयोग पुग्छ ।’

प्रदर्शनी हेर्न पुगेका युवा व्यावसायी सन्तोष भण्डारी विभिन्न जातजाति, समुदाय, क्षेत्रका कलासंस्कृति समावेशका विषय क्याभासमा उतार्ने कलाकारको कलालाई जीवन्त बनाउन प्रदर्शनी आवश्यक रहेको सुनाए । ‘यस्तो प्रदर्शनीले भूत, भविष्य र वर्तमान तीन वटैलाई जोड्ने काम गरेको छ,’ उनले भने, ‘आउनेहरूलाई प्रोत्साहन, गरिरहेकाहरूमा निखारपन र कला क्षेत्रमा लागेर उमेर ढल्केकाहरूलाई सम्मान हुन्छ ।’

प्रदेशका विभिन्न ठाउँमा लुकेर रहेका कलाकृतिलाई उजागर गर्ने उद्देश्यले ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताए । संघीयताको मर्मअनुसार प्रदेशस्तरमा गएर ललितकला प्रदर्शनी गरिएको उनले सुनाए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरू प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारबाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए । उनले भने, ‘जाति जनजातिको कला आज हामी देख्न पाउँदैनौ, केही अपवादबाहेक घरभित्र थन्किएको छ, समुदायमा थन्किएको छ, सुषुप्त हुन थालेको छ, त्यसलाई पुनर्जागरण गर्ने भनेका छौं ।’

प्रदेश हुँदै स्थानीय तहसम्म पुग्ने आफूहरूको तयारी रहेको उनले खुलाए । समाजको तल्लो तहसम्म पुगेर समाजको तल्लो तहमा रहेको कलालाई माथि उठाउने योजनाका साथ आफूहरूले काम गरिरहेको उनको भनाइ थियो । उनले भने, ‘स्थानीय कला प्रदेश हुँदै केन्द्र र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने तथा अन्तर्राष्ट्रियबाट केन्द्र हुँदै प्रदेश अनि स्थानीय तहमा ल्याउने छौं ।’ समाज रुपान्तरण गर्न ललितकलाको भूमिका महŒवपूर्ण हुने भएकाले सोही अभियानका साथ आफूहरूले काम गर्न थालेको उनले सुनाए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तु तथा अन्य सिर्जनात्मक विभाग प्रमुखसमेत रहेकी कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले सबैको साथ सपोर्टको कारण पोखरामा प्रदर्शनी गर्न लागिएको बताइन् ।

प्रदेशस्तरीय कला प्रदर्शनी गरेर जनसमुदायस्तरबाटै कलाकार छनोट गर्न लागिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले बताए । प्रदर्शनीमा प्रदेशका नयाँ तथा पुराना कलाकारको जमघट गरी अनुभव साटासाट गर्ने अवसर मिल्ने उनले सुनाए ।

पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र प्रदर्शनमा राखिने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । ‘कलाको वृत्ति विकास, प्रवद्र्धन र संवद्र्धनको लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपालको इतिहासमा पहिलोपटक यो प्रदर्शनी गर्न गरिएको हो,’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अबदेखि हरेक वर्ष १० दिने कला प्रदर्शनी गण्डकी प्रदेशमा आयोजना गरिने बताए । त्यसरी आयोजना गरिने प्रदर्शनी हरेक वर्ष प्रदेशका फरक–फरक जिल्लामा गर्ने तयारी गरिएको खुलाए ।

अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । प्रदर्शनीमार्फत् छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुने उनले सुनाए ।

प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ । सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई ५० हजार रुपैयाँ, चित्रकलातर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width