सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ लिएर आइन माओवादी नेतृ आशा कोइराला

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
aasha koirala

दमौली ।  नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको पुस्तक ‘अमरगाथा’ प्रकाशित भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ पुस्तकको आज विमोचन गरिएको हो ।

जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका महासचिव देवप्रसाद गुरुङले उक्त पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी समावेश गरिएको जनाइएको छ ।

नेकपा (माओवादी) केन्द्र तमुवान राज्य समितिबाट प्रकाशित वासु सन्देश, स्थानीय शान्ति समितिबाट प्रकाशित शान्ति स्मारिका, सहिद र बेपत्ता योद्धाहरूको सम्भव भएसम्म घरै पुगेर परिवारसँग गरिएको कुराकानी र जानकारीका आधारमा पुस्तक प्रकाशन गरिएको कोइरालाले जानकारी दिनुभयो ।

पुस्तकमा सोतीवेशीका होमनाथ अधिकारी र गोमा अधिकारीका दुई छोरा भरतचन्द्र अधिकारी, गजेन्द्र अधिकारी, छोरी इन्दु अधिकारी र बुहारी कलावती अधिकारी गरी चार जनाको बलिदान भएको हृदयविदारक कथासमेत समेटिएको कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्ममतापूर्वक मार्ने, जबर्जस्ती बेपत्ता पार्ने, अमानवीय यातना दिने, हिरासत र जेलमा बन्दी बनाउने, घरमा बसेकालाई समेत डर, त्रास सिर्जना गर्नेजस्ता क्रियाकलाप जनयुद्धका क्रममा भए । मुक्ति र परिवर्तनको चाहना राख्नेहरू अगाडि बढिरहे, योद्धाका रूपमा भूमिका निर्वाह गरिरहे । यी सबै विषयवस्तुलाई पुस्तकमा समावेश गर्ने प्रयत्न गरेकी हुँ ।”

पुस्तकलाई सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमात्र नभएर तनहुँ जिल्लाको जनयुद्धकालीन इतिहासका रूपमा लिन सकिने पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएको छ । प्रकाशकीयमा भनिएको छ, “इतिहास आफैँमा एउटा नितान्त जटिल र कष्टसाध्य विधा हो, इतिहास लेख्ने काम सजिलो हुँदैन । यसका लागि निकै सुक्ष्म र गहन अध्ययनका साथमा लामो र कठोर तपस्या जरुरी हुन्छ ।”

तनहुँको जनयुद्धकालीन इतिहासलाई लिपिबद्ध गर्न सुरुआत गरिएको पुस्तकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, कम्युनिष्ट नेता मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतको शुभकामना सन्देश समावेश गरिएको छ ।

पुस्तक विमोचन गर्दै महासचिव गुरुङले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो । सहिदको सपना साकार पार्नु मुख्य कार्यभार रहेकाले त्यसतर्फ सरकार र पार्टीको ध्यान गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा समाजवादी क्रान्तिको विकल्प छैन, समाजवादी क्रान्ति सफल बनाउन सक्यौँ भनेमात्र सहिद र बेपत्ता योद्धाहरूको सपना साकार हुनसक्छ ।” प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति पूरा गर्ने बाटोमा अगाडि बढ्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

शुक्लागण्डकी नगरपालिका–५ निवासी कोइराला विसं २०७० मा संविधानसभा सदस्य बन्नुभएको थियो । उहाँ विसं २०७४ मा महिला तथा बालबालिकामन्त्री बन्नुभएको थियो भने २०७४ सालमै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।  रासस

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width