स्थानीय आर्थिक विकासको मोडलमा जोड

आदर्श समाज सम्वाददाता
फागुन १९, २०८०
Isse Based Dialogue

फागुन । संघीयताको सन्दर्भमा स्थानीय आर्थिक विकास विषयक संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेशका सबै स्थानीय तहहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा दिगो र समतामूलक आर्थिक समृद्धि हासिल गर्न प्रदेश तथा स्थानीय तहहरूले अवलम्बन गर्नुपर्ने स्थानीय आर्थिक विकासको मोडेलका विषयमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले छलफल चलाएको हो ।

कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले विकासको वर्तमान मोडलमा परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए । स्थानीय आर्थिक विकास सम्बन्धी मोेडेललाई कार्यान्वयनमा लैजान प्रतिष्ठानले विगत केही वर्षदेखि निरन्तर प्रयत्न गरिरहेको उल्लेख उनले गरे । यसका लागि स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य गरी स्थानीय तहले प्राथमिकतामा राखेका विकासका आयोजनाहरूमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले तर्जुमा हुँदै गरेको प्रदेशको दोस्रो योजनामा स्थानीय आर्थिक विकासका सवाललाई समावेश गर्न स्थानीय तहहरुबाट आवश्यक सल्लाह सुझाव दिन आह्वान गरेका थिए । प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेशको विकासको खाका कोर्दा स्थानीय तहहरूमा भएको आवश्यकता, सम्भावना र प्राथमिकतालाई मध्यनजर गरी स्थानीय तहको सम्भावना र विशिष्टतालाई उजागर गर्नुपर्ने बताइन् ।

संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने धारणा

नेपालले अंगीकार गरेको वर्तमान विकास मोडलले सबैका लागि सम्मानित काम, सबैका लागि सम्मानित जीविकोपार्जन र सबै जनताले आफूले चाहे अनुरुपको जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्न नसक्ने हुँदा त्यसका लागि स्थानीय आर्थिक विकासको मोडललाई कार्यान्वयन गर्नुपर्ने निश्कर्ष निकालिएको छ ।

स्थानीय आवश्यकता, क्षमता र उपलब्ध स्रोतसाधनको परिचालन गरी तुलनात्मक लाभ एवं स्थानीय विशिष्टताका क्षेत्रमा केन्द्रित रही रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्वमा वृद्धि, समतामूलक सामाजिक–आर्थिक विकासको रणनीतिक ढाँचाको रूपमा स्थानीय आर्थिक विकासलाई अभ्यासमा लैजान स्थानीय तहहरूलाई जागरुक बनाउने उद्देश्यका छलफल थालिएको हो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेका अनुसार स्थानीय आर्थिक विकासको अवधारणा, आवश्यकता, औचित्य र स्थानीय तहमा यसको स्थानीयकरण सन्दर्भमा कार्यपत्र प्रस्तुत गरिएको थियो । गण्डकी प्रदेशमा स्थानीय आर्थिक विकास सम्बन्धी भए–गरेका अभ्यास, चुनौती र सम्भावना बारेमा प्रतिष्ठानबाट गरिएको अध्ययनको नतिजा समेत उक्त अवसरमा प्रस्तुत गरिएको छ । स्थानीय आर्थिक विकासका क्षेत्रमा स्थानीय तहहरुले कार्यान्वयन गरेका असल अभ्यासहरुको बारेमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमलाई नेपाल सरकारका पूर्व सचिव डा. गोपीकृष्ण खनाल र प्राध्यापक डा. सञ्जीव हुमागाइँले सहजीकरण गरेका थिए । स्थानीय आर्थिक विकासको अवधारणा, अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा यसको सम्भावनाको बारेमा डा. खनालबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यसैगरी डा. हुमागाइँले गण्डकी प्रदेशका स्थानीय तहहरूमा यस विकास मोडेलका बारेमा बुझाइ, अभ्यास र सम्भावनाका बारेमा भएको अध्ययनको नतिजा र यस मोडेललाई अगाडि बढाउन स्थानीय तहले संस्थागत ढंगले खेल्नुपर्ने भूमिका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा निर्माण भइरहेको दोस्रो आवधिक योजनाको खाका, प्राथमिकता, स्थानीय तह र प्रदेश सरकारबीच अन्तरसम्बन्धका सवालमा समेत प्रस्तुतीकरण भएको थियो । साथै प्रतिष्ठानद्वारा विगत वर्षहरूमा सञ्चालन भएका तालिमहरूको प्रभावकारिता सम्बन्धी तेस्रो पक्षबाट गरिएकोे अध्ययननको नतिजा समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझाले प्रदेशमा स्थानीय समृद्धिको नयाँ वहस सुरु भएको र यसलाई कार्यान्वयनमा लैजान संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने धारणा राखेका थिए । उनीहरुले स्थानीय आर्थिक विकासलाई अगाडि बढाउन संघ र प्रदेश सरकार दुवैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । आयोजनाको दोहोरोपन हटाउने, आपसी सहकार्य गर्ने, स्थानीय आवश्यकता र प्राथमिकता अनुसार स्थानीय तहले छानेका आयोजनाहरूमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने विचार उनीहरुले व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width