पोखरामा स्क्वास प्रतिस्पर्धा सुरु, २ जनालाई सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
squash news final pokhara

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता सुरू भएको छ । खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शुक्रबार प्रतियोगिता सुरू भएको हो ।

शनिबारसम्म चल्ने ३८ जना खेलाडी सहभागी प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरूङले उद्घाटन गरे । उनले स्क्वासप्रति चासो बढ्दै गएको देख्दा खुसी लागेको सुनाए । रंगशालाभित्र भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको, पानी र बिजुलीकोको विषयमा समस्या रहेकाले त्यसलाई आफ्नो कार्यकालमा समाधान गर्न प्रयास गर्ने उनले बताए ।

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले स्क्वास थोरै मान्छेले सुनेको खेल भएपनि यसलाई कमजोर आँक्न नहुने बताए । ओलम्पिकमा नाम नै नसुनिएका खेलले मेडल दिने गरेको बताउँदै उनले स्क्वासमा चासो बढेकाले यो राम्रो भएको सुनाए । ‘ओलम्पिकमा नाम नै नसुनेको खेलले मेडल दिन्छन् । स्क्वास त राष्ट्रिय खेलकुदमा पनि समावेश छ,’ अध्यक्ष गोदारले भने, ‘हामी सानो खेल भन्छौं । त्यस्तो हुँदैन । सबै खेल बराबर हो । स्क्वासले गण्डकीलाई नवौंमा मेडल दिएको हो ।’

स्क्वास राकेट एसोसिएसनका अध्यक्ष प्रवीण पालिखेले प्रतियोगिता सकिएपछि विद्यालयसम्मै गएर विद्यार्थीलाई स्क्वासबारे बुझाउने योजना सुनाए । खेलाडीको आकर्षण बढाउन नियमित प्रशिक्षण र वार्षिक प्रतियोगिता गर्दै जाने उनले बताए ।

प्रतियोगितामा ४५ वर्षमाथि भेट्रान्समा १२ जना, पुरूष खुलामा ११ जना, बिगिनर्समा ८ र महिलातर्फ ७ जना खेलाडी सहभागी छन् । शुक्रबार यी सबै विधाको सेमिफाइनल छनोट सकिएको छ । भेट्रान्समा पहिलो सेमिफाइनलमार्फत राजु श्रेष्ठ र कमल बस्नेतमध्ये एकजना फाइनल पुग्ने स्क्वास राकेट एसोसिएसन कास्कीका सचिव सन्तोष घिमिरेले जानकारी दिए । फाइनल पुग्न दोस्रो सेमिफाइनलमा पुष्पराज श्रेष्ठ र नवराज श्रेष्ठ खेल्ने छन् ।

पुरुष खुलाको पहिलो सेमिफाइनलमा आभान श्रेष्ठ र शक्ति शर्माबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलबाट सुजन आचार्य र आरभ श्रेष्ठमध्ये एक जना फाइनल पुग्ने घिमिरेले जानकारी दिए । बिगिनर्समा पहिलो सेमिफाइनलमा जेम्स शाक्य र मनोरम बज्राचार्य, दोस्रो सेमिफाइनलमा रिजन बुद्धाचार्य र प्रसुन बुद्धाचार्य खेल्ने छन् । महिलातर्फ आशुका रञ्जित र करिश्मा ओलीमध्ये एकजना फाइनल पुग्न प्रतिस्पर्धा गर्ने छन् । यी दुईमध्ये जित्नेले फाइनल पुगेकी सृष्टिका उदाससँग उपाधिका लागि खेल्ने छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८ हजार र ४ हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । तृतीय हुने दुई जनाले जनही २ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

दुई जनालाई सम्मान
पोखरा महानगरपालिका खेलकुद विकास समिति र स्क्वास राकेट एसोसिएसन कास्कीले पोखरामा स्क्वासको विकासमा योगदान गर्ने दुई जनालाई सम्मान गरेको छ । तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिताको अवसरमा पोखरामा स्क्वास भित्र्याएका स्व. रामप्रसाद कोइरालालाई मरणेप्रान्त सम्मान र रंगशालामा स्क्वासको पूर्वाधार बनाउन भूमिका खेलेका प्रकाश केसीलाई शुक्रबार सम्मान गरिएको हो ।

राखेप बोर्ड सदस्य राजेश गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, स्क्वास एसोसिएसन कास्की अध्यक्ष प्रवीण पालिखेलगायतले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् । स्व. कोइरालाको सम्मानपत्र उनकी धर्मपत्नी रजनीलाई प्रदान गरियो ।

पोखरा गणेश टोलका कोइरालाले २०५७ सालतिर घरमै स्क्वासको कोर्ट बनाएर खेल्न–खेलाउन सुरू गरेका थिए । उनकै नेतृत्वमा २०६० सालमा विधान बनाएर स्क्वास खेलाडी संगठित भएका थिए । स्व. कोइरालाकी श्रीमती रजनीले त्योबेला श्रीमान्ले सिंगापुरबाट स्क्वासको राकेट र बल ल्याएर खेलाउने गरेको सुनाइन् । ‘स्क्वास पोखरामा घरायसी र पारिवारिक किसिमले सुरू भयो,’ उनले भनिन्, ‘२०५७ सालमा घर बनाउँदा नै उहाँले स्क्वासको लागि एउटा कोठा चाहिन्छ भनेर बनाउनुभयो । पछि विधान बनाउँदा म उहाँसँगै काठमाडौं गएकी थिएँ ।’

उनले स्क्वासमा थप खेलाडीलाई आकर्षित गर्न र आफ्नो श्रीमान्ले थालेको अभियानलाई निरन्तरता दिइरहन आग्रह गरिन् । उनले घरमा रहेको स्क्वास कोर्ट भएको कोठा पनि भाडामा नलगाई यत्तिकै राखेको सुनाइन् । ‘त्यसमा विद्यार्थीलाई खेलाउन सके राम्रो हुन्थ्यो होला । अहिले ठाउँ परिवर्तन भएको छ । रंगशाला खुला ठाउँ हो, यहाँ सबैलाई सजिलो पनि भयो,’ रजनीले भनिन्, ‘आज यति धेरै खेलाडी देख्दा म पनि निकै खुसी छु । यो त पोखरालाई उपलब्धी हो ।’ रामप्रसादको २०६२ साल २८ असोजमा निधन भएको थियो ।

कोइराला परिवारको घरमा खेल्ने गरिएको स्क्वास २०७४ सालमा पोखरा रंगशालामा कोर्ट बनेपछि रंगशालामा हुन्छ । २०६८ सालमा भएको छैंटौं राष्ट्रिय खेलकुद र २०७३ सालको सातौं राष्ट्रिय खेलकुदको स्क्वासको पश्चिमाञ्चल छनोट खेल कोइरालाकै घरमा रहेको कोर्टमा भएको थियो । हाल पोखरा रंगशालामा दुई वटा स्क्वास कोर्ट छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width