भरतपुर भ्रमण वर्ष सुरु

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
chitwan

तस्बिर : रासस

चितवन ।  चितवनको भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष–२०२४ को प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । शुक्रबार दिउँसो नारायणी नदी किनारमा भ्रमण वर्ष उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस भ्रमण वर्षले चितवनलाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने बताए ।

‘सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवद्र्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छु,’ उनले भने, ‘विशिष्ट पाहुनाहरूबाट १ सय ५० वर्षदेखि चितवनका जंगलमा सिकार यात्रा गरेको इतिहास रहेको छ, नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुआत टाइगर टप्सले मेघौली नजिकै चितवनबाट गरेको थियो ।’ पछिल्लो ७ वर्षमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले भरतपुरको गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल, नारायणी ‘सी–बिच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले भने, ‘कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेका छन् ।’ प्रधानमन्त्रीले भ्रमण वर्षको उद्घाटनबाट देशमा नयाँ र सकारात्मक सन्देश गएको विचार राखेका छन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गठबन्धनको सरकार बनेको भन्दै यसको निरन्तरता रहने दाबी गरे । पर्यटन विकासका लागि निजी क्षेत्रले महानगरसँग सहकार्य गर्नु सराहनीय काम भएको देउवाको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकका लागि भरतपुर महŒवपूर्ण पर्यटकीय स्थल भएको बताए । उनले भ्रमण वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय क्षेत्रको प्रचारसहित पर्यटकको बसाइँ बढाउन मद्दत पुग्ने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको प्रगति तीव्र गतिमा भइरहेको भन्दै चितवनको विकासको लागि प्रमण वर्ष महŒवपूर्ण हुने बताए । ‘भरतपुरलाई शिक्षा, स्वास्थ्यको हब बनाउन सकिन्छ,’ उनले भने, ‘कृषि तथा वन विज्ञान विश्वविद्यालय भरतपुरमा नै छ, यसको सदुपयोग र विकास गरी अघि बढ्नुपर्छ ।’ भरतपुरको विकासमा आफू र आफ्नो पार्टी सहकार्य गरेर अघि बढ्न सधैं तत्पर रहेको भन्दै ओलीले भ्रमण वर्ष मनाउन आफू परिवारसहित फेरि आउने बताए ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई विकास र पर्यटकीय सम्भावनाले अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताए । चितवनमा विभिन्न जातजाति, भाषाभाषीको बसोबास रहेको भन्दै यहाँको विविधता हेर्न पर्यटक आउने गरेको नेपालको भनाइ छ । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने नेपालको भनाइ छ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठीक ढंगले पर्यटन क्षेत्रको विकास गरेमा नेपालको कायापलट हुने बताए । देशमा पर्यटनको सम्भावना हुँदा हुँदै पनि पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादनमा करिब ७ प्रतिशतमात्रै हिस्सा ओगट्नुले पर्यटनको विकास हुन नसकेको प्रष्ट हुने खनालको भनाइ छ । उनले नेपालमा विराट सम्भावना रहेको र चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएकोसमेत उल्लेख गरे ।

भरतपुर भ्रमण वर्ष उद्घाटनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने, मन्त्री परिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गर्दै महानगरको पर्यटकीय क्षेत्रबारे चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै