बागलुङको भकुन्डेमा रुद्रमानको सालिक

आदर्श समाज सम्वाददाता
फागुन १७, २०८०
baglung rudraman

गलकोट । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । ४ वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।

बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ (होमस्टे) सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाउनुभएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उनको अर्धकदको सालिकसहित उद्यान बनाइएको छ ।

उक्त पार्कमा निर्माण गरिएको क्याप्टेन गुरुङ स्मृति पार्कको मंगलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले उद्घाटन गरे । थापाले उद्यानमा राखिएको स्वर्गीय गुरुङको सालिकसमेत अनवारण गरे ।

उद्यान उद्घाटन र सालिक अनावरणपछि पर्यटनमन्त्री थापाले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्मित घरबासले यहाँको आर्थिकस्तर उकास्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत सृजना गरेको बताए ।

‘अर्गानिक खाना खुवाउँदा गाउँमा भित्रिएको रकम बाहिर पठाउन पर्दैन । समृद्ध गाउँको परिकल्पना गरेर घरबास सञ्चालन गरी पर्यटनका माध्यमबाट प्रशस्त सम्भवको पहिचान गरिएको छ,’ उनले भने, ‘ग्रामीण पर्यटन तथा घरबासको परिकल्पनाकारको सम्झनामा निर्माण गरिएको सालिक र उद्यानले उहाँको कल्पनालाई साकार पारेको छ ।’
पर्यटनमन्त्री थापाले पार्कमा थप पूर्वाधार बनाउन आगामी वर्ष पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । भकुण्डेबासीको आर्थिक विकासकोे माध्यम बनेका घरबासलाई थप पूर्वाधार विस्तारका लागि प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लागेको छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको स्मृति पार्कमा अहिलेसम्म ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यहाँ मुलाबारी भ्यूटावर, संग्रहालयसँंगै पार्क निर्माण गरेपछि यहाँ आउने पर्यटकसमेत वृद्धि भएको स्थानीय बताउँछन् ।

घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुँने भन्दै पर्यटक रमाउने र बासको परिकल्पना गरेर पार्क निर्माण थालिएको स्मृति पार्क निर्माण समितिका सल्लाहकार एवं पर्यटन प्रवद्र्धनका अगुवा खिमबहादुर थापाले बताए । ‘प्रदेश सरकारले यहाँका सामुदायिक घरबासलाई १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने निर्णय गरेको थियो । त्यही अनुदानबाट पार्क बनाउन सुरु गरेका हौं,’ उनले भने, ‘घरबासलाई दीर्घकालीन रुपमा फाइदा पु¥याउन पार्कले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुईतर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालयसहित गुरुङको सालिक स्थापना भइसकेको छ ।
पर्यटन मन्त्रालयको घरबास प्रवद्र्धन कार्यक्रमअन्र्तगत १० लाख, २ आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयबाट २० लाख र बागलुङ नगरपालिकाको ४ लाख गरी ३४ लाख खर्च भइसकेको उनले जानकारी दिए । उनका अनुसार स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले पार्क निर्माणमा ५ लाख चन्दा सहयोग गरेका छन् ।

विस्तृत अध्ययन प्रतिवेदनअनुसार पार्कले पूर्णता पाउन ३ करोड लाग्ने जनाइएको भएपनि पार्क सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ ।

पार्कको चार रोपनी जग्गामा फलफूल बगैंचा, एक रोपनी जग्गामा फूल बगैंचा र दुई रोपनी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्ने लक्ष्य लिइएको अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताइन् । उनले पार्क सञ्चालनको खर्च पार्कबाटै उठाउने गरी फलफूललाई आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिइन् ।
बागलुङ नगरपालिकाले पर्यटकीय गाउँका रुपमा भकुण्डेलाई विकास गर्न लागेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छन् । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका उनको भनाइ थियो ।

अस्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाशप्राप्त लाहुरे गुरुङले विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारीमा नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ सञ्चालन गरेका थिए । उनीहरूको अवधारणामा नेपालमा घरबास पर्यटन थालिएको भन्दै बागलुङका घरबास सञ्चालकले यहाँ वृहत पार्क निर्माण गरी गुरुङलाई सम्मान प्रदान गरिएको सामुदायिक घरबासका अध्यक्ष थापाले जानकारी दिइन् ।

घरबासमा एकै रातमा ५० जना पहुँना राख्न सकिने घरबास सञ्चालकको भनाइ छ । घरबासमा पाहुनाको रोजाइअनुसारको सेवा सुविधा दिइँदै आइएको अध्यक्ष थापाले बताइन् । रासस

Related News

सम्बन्धित समाचार

hero news full width