व्यवसायी र बैंकको सम्बन्ध बिग्रिएकोमा चिन्ता

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
Agri Bank Photo 1

पोखरा । ‘ऋण लिएको भोलि पल्टदेखि बैंक र ऋणीको सम्बन्ध बिग्रन्छ,’ पर्यटन व्यावसायी गणेशबहादुर थापाले बुधबारको एक कार्यक्रममा चिन्ता व्यक्त गर्दै थिए । उनी यतिकैमा रोकिएनन्, ‘सायद ८० प्रतिशतभन्दा बढि ऋणी तथा व्यावसायीहरु बैंकको विरुद्धमा हुन्छन् । बैंकको कारोबार बिग्रदा मलाई दुख दिएको थियो बल्ल खाइस भन्ने अवस्था छ ।’

कृषि विकास बैंकले पोखरा र लेखनाथ उद्योग वाणिज्य संघसँगै उद्योग परिसंघ लगायत संस्थाहरुको सँगको व्यावसाय प्रवद्र्धन अन्तरक्रिया कार्यक्रममा उनले व्यावसायी र बैंकको सम्बन्ध बिग्रिएको बताएका थिए । सम्बन्ध सुधार्नका लागि बैंकले ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा कस्मेटिक व्यावसायी समितिका कोषाध्यक्ष पुष्पा मरासिनी पनि बैंक व्यावसायीको हितमा हुनुपर्ने बताइन् । सम्बन्ध राम्रो बनाउनका साथै व्यावसाय टिकाउनका लागि बैंकले बिना झन्झट सहुलियत दरमा ऋण दिनुपर्ने उनको भनाइ थियो । ‘उत्पादनको सेलिङ छैन् । यो अवस्थामा व्यावसाय कसरी टिकाउने हो?,’ उनले भनिन्, ‘बैंकले साना व्यावसायीहरुलाई टिकाउनका लागि सहुलियतदरमा लोन उपलब्ध गराउनुभए राम्रो हुने थियो ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले बैंकले उद्योग व्यावसाय गर्ने वातावरण सहज बनाउनुपर्ने बताए । भएका समस्यालाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । ‘७ प्रतिशतमा लिएको लोन १४ मा पुग्दा समस्या छ । यसले व्यावसायी हतोत्साहित हुन पुगेका छन्,’ उनले भने, ‘केही समस्या अवस्य छ तर, यसलाई समाधान गर्दै अघि बढ्नुपर्छ । यसका लागि कृषि विकास बैंकसँग सहकार्य गर्न उद्योग वाणिज्यसंघ तयार छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बैंक र व्यावसायी बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तारानाथ अधिकारी, कास्की पोखरा हस्ताकला संघका अध्यक्ष रामकली खड्कालगायतले बैंक र व्यावसायी बिचको सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएका थिए ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकिङ क्षेत्रमा चुनौती रहे पनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै गएको बताए । बैंकले सुशासनमा शून्य सहनशीलता नीति अपनाउँदै मानव संसाधन विकासमा जोड दिई बैंकका गतिविधिलाई चुस्त दुरुस्त बनाउँदै आएको गुरुङले बताए ।

अन्तरक्रियामा उठेका विषयमलाई आगामी दिनमा समेट्दै जाने उनको भनाइ थियो । नेपाल सरकारले तोकेको परिधिमा रहेर काम गर्ने क्रममा अन्तरक्रियामा उठेका समस्या समाधानका लागि सकेसम्म आफैले प्रयत्न गर्ने उनले सुनाए । केही राष्ट्र बैंक र कृषि मन्त्रालय, अर्थ मन्त्रालयहुँदै सरकारसम्म पु¥याउने उनले बताए ।

कृषि विकास बैंकले ग्रामीण अर्थतन्त्रको विकासका लागि योगदान पु¥याउँदै आएको छ । ग्रामीण विकास र गरिबी निवारण कार्यक्रम मार्फत सीमान्तकृत वर्गको आर्थिक उत्थान गर्ने कार्यक्रम सुरु गरेको उनले सुनाए ।

बैंकले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यावसायिकरण गर्दै आएको कर्जा विभाग प्रमुख चन्द्रसिंह थापाले बताए । ग्रामीणक्षेत्रको विकास तथा गरिबी न्यूनीकरणद्वारा मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने कार्यमा बैंकले सघाउँदै आएको उनले सुनाए । आधुनिक प्रविधिमार्फत बैंकसँग सेवाग्राहीलाई जोड्न बैंकले डिजिटाइजेसनको अवधारणा अवलम्बन गर्दै पूर्ण प्रविधियुक्त भरपर्दो र सुरक्षित डिजिटल बैंकिङ प्लेटफर्महरूमार्फत सेवा दिँदै आएको गण्डकी प्रदेश कार्यालय प्रमुख घनेन्द्र अधिकारी बताए ।
कार्यक्रममा बैंककी मार्केटिङ एण्ड सेल्स विभाग प्रमुख वीना शर्माले बैंकको वस्तुस्थितिबारे जानकारी गराएकी थिइन् । शर्माका अनुसार बैंकको कुल पुँजी ३० अर्व २५ करोड रहेको छ । जसमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत पब्लिक लगानी छ । कृषि विकास बैंकको विशिष्टतालाई कायम राख्दै बैंकले २८१ शाखाहरू र २२ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिँदै आएको छ । ७७ वटै जिल्लाहरूबाट बैंकिङ कारोबार सञ्चालन गर्दै आएको बैंकले ४९ भन्दा बढी कार्यालयमा लकर सेवा, १२९ एटिएम, १६ वटा शाखाबाट वैदेशिक विनिमय कारोबार, ८० वटा शाखाबाट राजस्व खाता सञ्चालन तथा ६१ वटा शाखाबाट स्थानीय निकायको खाता सञ्चालन गरेको छ ।

बैंकका १८ लाख ग्राहक, १९ लाख बचत कर्ता, ३ लाख सेयर सदस्य, १ लाख ५० हजार कर्जा सेवाग्राही रहेको शर्माले जानकारी दिइन् । उनका अनुसार २ हजार ६ सय ७५ कर्मचारी रहेको बैंकमा ५ सय कृषि विकास जनशक्ति छन् ।

कर्जा विभाग प्रमुख चन्द्रसिंह थापाले कृषि क्षेत्रको अग्रणी र परिचित बैंकले कृषि क्षेत्रमा २५ प्रतिशत लगानी गरेको बताए । बैंकको कर्जा प्रवाह र प्रक्रियाबारे जानकारी गराएका थिए । उनले बैंकले साना किसानलाई नै प्राथमिकता दिँदै आएको बताए ।

सरकारको निर्देशन अनुसारका र ठूला कर्जा सेवाग्राहीसँग समन्वय गरेर कर्जा प्रवाह गरिरहेको कृषि तथा ट्रेजरी विभाग प्रमुख सुदीप दाहालले बताए । बैंकले पछिल्लो समयमा प्रिमियममा ७५, सेवा शुल्कमा ५० र बीमामा ८० प्रतिशत छुट गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग