प्रदेशकै ठूलो सरकारी अस्पतालमा डाक्टर भेट्नै मुस्किल

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
sunas

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाप्रति विभिन्न गुनासो आएको छ । सेवाग्राही बिरामी र उनका आफन्तले स्वास्थ्य बिमाको सेवा लिन कठिनाइ रहेको, बिमाले सिफारिस गरेका औषधी नपाएको र पाए पनि गुणस्तरहीन औषधी पाउने गरेको र वडापत्रमा उल्लेखित औषधी सबै नपाएको गुनासो गरे ।

साथै, बिरामी चेकजाँच समय ४ बजेसम्म भनिए पनि डाक्टर नभेटिने, बिमाका बिरामीबाट पटकैपिच्छे सिफारिस माग्ने गरेको, जोखिम स्थितिमा रहेका प्रसूति समस्याका बिरामीलाई तत्काल भर्ना लिने कठिनाइ रहेको, ह्वीलचियर पर्याप्त नरहेको, बिरामी कुरुवाका लागि बस्ने प्रबन्ध राम्रो नभएको, पार्किङ सुविधा व्यवस्थित नरहेको, ल्याब छिटो बन्द हुँदा स्वास्थ्य परीक्षामा असुविधा रहेको, औषधी लिने काउन्टरमा भिड व्यवस्थापन नगरिएको, शौचालयमा आवश्यक सरसफाइ र पर्याप्त पानी नभएको लगायतका समस्या रहेको गुनासो गरेका छन् ।

ट्रान्परेन्सी इन्टरनेशनल नेपाल आबद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले मंगलबार प्रतिष्ठानको स्वास्थ्य सेवाप्रवाहको विषयमा सेवाग्राही र सेवा प्रदायकबीच गुनासो संकलन गरेको हो ।

गुनासो सम्बोधनका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल व्यवस्थापन समिति डाक्टरर्स तथा कर्मचारीको सहयोगबाट व्यवस्थापन गर्न सकिने विषयमा छलफल गरिएको थियो । प्रतिष्ठानका उपकुलपति तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा भरतबहादुर खत्रीले आफ्नोतर्फबाट अस्पतालमा सेवाग्राहीले भोग्नुपरेको उल्लेखित समस्या तथा गुनासो तत्काल सम्बोधन गर्ने र थप सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सुनास कास्की उपाध्यक्ष सिरोजविजय कोइराला, सचिव विष्णुप्रसाद अधिकारी, कार्यकारी अधिकृत भानु पराजुली, सहसचिव विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष शान्ति गुरुङ, सदस्यहरु इन्दिरा भण्डारी र मञ्जु गौतमको सहभागिता थियो । कार्यक्रमको संयोजन उपाध्यक्ष कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै