डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
lamjung road

लमजुङ ।  लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताउनुभयो । यहाँ ‘अस्फाल्ट’ किसिमको कालोपत्र भइरहेको छ ।

हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ । सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुल नजिकैको भागमा नाली बनाउने काम भइरहेको उहाँको भनाइ छ । केही समय कालोपत्रको लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्र रुपमा अघि बढ्ने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ । तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ । त्यस्तै, १०÷१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा सात मिटरको हुनेछ ।

त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने इञ्जीनीयर पोखरेलले बताउनुभयो ।

च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणले समेत निर्माणमा ढिलाइ भए पनि यतिबेला सबै समस्याको समाधान भएको बताइएको छ । कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दुरीमा रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ । सडकका लागि भ्याट बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ  ।

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको बेँसीसहरसम्मको ४२ किलोमिटर सडकको काम सक्न करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासी समेत आवतजावत गर्दछन् ।

सडक दुई लेन भई कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यात्रा थप सहज हुनुका साथै समय समेत घट्नेछ । उक्त स्थानमा मात्र नभई डुम्रेदेखि बेँसीसहरसम्ममै दुई लेनको सडक निर्माण गरेर कालोपत्र गरेमा यात्रा झनै सहज हुने स्थानीयवासीको भनाइ छ ।

लमजुङका स्थानीयवासी यातायातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री ल्याउनेसमेत गर्दथे । त्यस्तै, काठमाडौँ, पोखरा जानुपर्दा यहाँका स्थानीयवासी हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेको थिए । उक्त बाध्यता हटेपनि अझै यात्रा भने सहज हुनसकेको छैन । अहिले सडक ट्र्याक खुलेर एक लेनबाट पनि दुई लेन हुँदैछ । रासस

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width