म्याग्दीमा ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम   

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
ict

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ ।

ग्रामीण भेगमा रहेको यस विद्यालयका विद्यार्थीलाई आधुनिक शिक्षण सिकाइ क्रियाकलापमार्फत पठनपाठन गराउनेगरी आगामी वैशाखदेखि हरेक साताको शुक्रबार विद्यार्थीलाई विद्यालयमा पाठ्यपुस्तकरहित ‘आइसिटी फर फ्राइडे’ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक कुमार गर्बुजा पुनले जानकारी दिनुभयो ।

विद्यालयले केही महिनायता उक्त कार्यक्रमका लागि सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा अहिलेसम्म रु १० लाख ५७ हजार सहयोग सङ्कलन भएको प्रअ पुनले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा स्थानीयवासी, भूपूविद्यार्थी, सहयोगदाता, चन्दादातामार्फत सहयोग जुट्ने क्रम जारी छ । अहिलेसम्म यस अभियानमा एक सय ३० जनाले सहयोग गरेका छन् ।

विद्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा विद्यालयले सहयोगदातालाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहयोगदातासँगै पूर्वव्यवस्थापन समितिका अध्यक्ष, पूर्वप्रअ, अक्षयकोषदाता लगायतलाई सम्मान गरिएको छ । विद्यालयले सहयोगदातामार्फत जुटेको रकमबाट ‘आइसिटी कोष’ बनाउने र त्यसैमार्फत सूचना तथा सञ्चार प्रविधिका सामग्रीको बन्दोबस्त गर्ने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

“हामीले शुक्रबार विद्यार्थीले झोलामा किताब बोकेर विद्यालयमा आउन नपरोस् भनेका छौँ, मोबाइललाई शिक्षण सिकाइ उपयोगमा ल्याउन सकियो भने पनि यसले धेरै सहयोग पुग्छ, आधुनिक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । मोबाइललाई गलत प्रयोग गर्ने प्रचलनलाई हटाएर बालबालिकाको शिक्षण सिकाइ उपयोगमा ल्याउने विद्यालयले जनाएको छ ।

विद्यालयका सबै कक्षाकोठामा इन्टरनेटको पहुँच पुर्याउँदै मोबाइल, ल्यापटप, कम्प्युटर, प्रोजेक्टरलगायतको प्रविधिबाट साताको शुक्रबार अनिवार्यरूपमा पठनपाठन गराउने विद्यालयको तयारी छ । कुल ५६ जना विद्यार्थी अध्ययनरत विद्यालयले विसं २०७७ बाट कक्षा ६ देखि १० सम्म कम्प्युटर विषयमा पठनपाठन गराउँदै आएको छ । विद्यालयको यस अभियानमा अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षमा रु पाँच लाख २० हजार बजेट उपलब्ध गराउने अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

समुदाय आफैँले विद्युतीय माध्ययमबाट पठनपाठन गराउने अभियानमा सहयोग जुटाइरहेकाले गाउँपालिकाले समेत प्रविधिको व्यवस्थापनमा सहयोग गर्ने अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले आगामी आवदेखि गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयमा ‘टेलीटिचिङ’लाई प्रयोगमा ल्याउने भएको छ । माध्यमिक विद्यालयमा रहेको शिक्षक अभावलाई हटाउन सबै माविहरूमा पठनपाठन गराउने विषय र समयतालिकामा एकरुपता ल्याउने र प्रोजेक्टरको माध्ययमबाट पठनपाठन गराउने गाउँपालिकाको तयारी छ ।    रासस

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width