ठाडो भाकामा युवापुस्ताको हुटहुटी

धनबहादुर गुरुङ
फागुन १५, २०८०
Thado bhaka newsf

पोखरा ।
‘काँचो पात कैना केही जानको छैन त्यसै मन अतिनी
उदो नदी गैछ, बाजे जस्तो रैछ भन मलाई नातिनी ।’

ठाडो भाकामा लय मिलाउन कस्सिएकी छिन्, पोखरा ११ काँहुडाँडाकी पविना बास्तोला । उमेर १७ टेकेकी पविनालाई ठाडो भाका सिक्ने औधी रुचि छ । टिभी अनि युट्युबमा यो भाकाले उनको ध्यान खिचेको छ । उनले एक महिना अघि ठाडोभाका लोककला प्रतिष्ठान नेपालको आयोजनामा भएको ठाडोभाका प्रशिक्षण पनि लिएकी थिइन् ।

पोखरामा भएको प्रशिक्षणमा सहभागी भएपछि उनी ठाडो भाका गुनगुनाउन सक्ने भएकी छिन् । ‘टिभी अनि युट्युबमा धम्पु (धम्पु दुरा) बा लगायत अन्य कलाकारहरूले गाएको सुन्थे,’ उनले भनिन्, ‘सुन्दै गर्दा मन पर्दै जान थाल्यो । गाउन मन लाग्थ्यो । पोखरामा भएको प्रशिक्षणमा सहभागी भएपछि केही जानेको छु ।’ लोप हुने अवस्थामा रहेको यो भाका जोगाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड छ । प्रशिक्षणमा सिकेको कला आगामी दिनमा अरुलाई पनि सिकाउँदै निरन्तरता दिदैं जाने उनले प्रतिबद्धता जनाइन् ।

लोक दोहोरी गायक नेत्र गुरुङ पनि ठाडो भाका जोगाउन लागि परेका छन् । ‘पुरानो भाकाहरू स्याङ्जातिर सालैजोे, सुनिमाया, झ्याउरे गाएको हो । तर ठाडो भाका भन्ने सुन्थेँ आनन्द लिन्थेँ । गाउने प्रयत्न गरेको थिइनँ,’ उनले भने, ‘पछिल्लो यसमा मेरो ध्यान गएको छ । प्रशिक्षण दिएको ठाउँमा पुग्ने सिक्ने अनि आफुले पनि गाउने प्रयास गरिरहेको छु ।’ ठाडो भाका गण्डकी प्रदेशकै पहिचान भएकाले यसको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको उनले सुनाए ।

पहिला देवीदेवता, वनपाखा, भीरपखेरामा गाइने ठाडो भाका लोप हुने अवस्थामा पुगेको समय केही युवापुस्ताले चासो दिइरहेको प्रतिष्ठानकी सदस्य कलाकार मीना गुरुङले बताइन् । ‘अहिले ट्रयाकमा गीत बजाइदियो भने सबै नाच्न तयार हुन्छ । यो भाका प्रायले सुन्न चाहन्नन्,’ उनले भनिन्, ‘तर, प्रतिष्ठान बनाएर काम सुरु गरेपछि युवापुस्ताले सिक्नु खोज्नुभएको छ । हामी उहाँहरूलाई सिकाउन पाउँदा खुसी छौं ।’

प्रतिष्ठानमा अहिले गीत गाउने १०/१२ जना आबद्ध रहेकाले उनीहरूले नै प्रशिक्षणको काम गरिरहको उनले सुनाइन् । ‘पहिले हामीलाई अरुको गाउँमा हाट बजारमा गएर गाउन छुट नै थिएन्, उनले भनिन्, ‘अहिले जमाना चेन्ज भयो । हामी पनि जानेको कुरा अनुभव सुनाउँदै सिकाउँदै हिँड्न पाएका छौं ।’ यसरी नै सिक्ने सिकाउने क्रम बढ्ने हो भने ठाडो भाका लोप नहुने उनको तर्क छ ।

देउबहादुर र पञ्चसुब्बाबाट सुरु भएको भाका भेडीखर्के साइला अनि धम्पु दुरापछि सकिने चिन्ता गरिएकोमा नयाँ पुस्ताको ध्यान

आफ्नो पालामा देवी देवता पुकारेर थालनी गरिएको ठाडो भाका रातभर चल्ने उनले बताइन् । जमानको ठाडो भाकाको थालनी यसरी हुने गरेको उनी सम्झिन्छिन् ।

‘मुठी न मुठी खरु मासै घाँस भेडीको थुमेलाई
फलामै खायो खैले, सबै देवीदेवता पुकारी
चढाई दियो मैले, यही गाउँको भूमेलाई ।’

पछिल्लो समय यो क्षेत्रमा युवा पुस्ताले चासो दिंदा ठाडो भाकाका कलाकार धम्पु दुरा खुसी व्यक्त गर्छन् । ‘भेडी खर्के साइला दाइको मृत्युपछि यो भाका लोप हुन्छ भन्ने लागेको थियो । दाइको पछि म छु । अझै पनि गाउँघरतिर गाउनेहरू त छन् तर उनीहरूले बाहिर देखाउने मौका पाएका छैनन्,’ उनले भने, ‘अहिले त स्पिकर लगेर ट्रयाकमा गित बजाएर रमाउने चलन छ । अब ठाडो भाका हरायो भन्ने बेलामा केही युवाहरू पनि चासो दिएर गाएको नाचेको देख्दा खुसी लाग्छ ।’

केहीले आफूसँग सिक्ने इच्छा जाहेर गर्ने गरेको उनले सुनाए । सिक्न खोज्नेहरूलाई समय मिलाएर प्रशिक्षण दिने गरेको पनि उनले बताए । ‘ठाडो भाका नाच्ने, गाउने, बजाउनेको समिश्रण हो । मैले ३ थरिकालाई नै सिकाउने गर्छु,’ उनले भने, ‘सानैदेखि गाएका देखेकाहरूले गाइदेऊ न भन्छन् । अहिले पनि गाउँ जाँदा गाउने चलन छ ।’

यसको संरक्षणका लागि ठाडोभाका लोककला प्रतिष्ठान स्थापना गरी तालिम पनि दिइरहेको उनले बताए । ‘२०७२ सालमा स्थापना गरिएको प्रतिष्ठानले तालिम दिइरहेको छ,’ उनले भने, ‘यसका साथै प्रशिक्षण दिएर मात्र भएन भनेर हामीले प्रतियोगिता नै गर्छौं ।’ लमजुङको धेरै स्थानमा प्रशिक्षण र प्रतियोगिता गरिरहेको प्रतिष्ठानले लमजुङबाहिर माघ ५ देखि ७ गतेसम्म प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले लमजुङमा प्रचलित र लोपोन्मुख अवस्थामा रहेको ठाडो भाका देशव्यापी बनाउनुपर्ने बताउँछन् । गण्डकी क्षेत्रमा प्रचलित भाकालाई जोगाउन युवापुस्ताको ध्यान गइरहेको उनले सुनाए । प्रतिष्ठानद्वारा हुने प्रशिक्षणमा बालबालिकादेखि प्रौढ अनि सिक्दै गरेकादेखि नाम चलेका कलाकार सहभागी हुँदा खुसी लाग्ने उनले बताए ।

सुरुमा देउबहादुर दुरा केटा र पञ्चसुब्बा गुरुङ केटी बनेर ठाडोभाका गीत गाएकाले उनीहरू यस भाकाका स्रष्टा तथा जन्मदाताका रुपमा रहेको उनले बताए । लमजुङ कर्पुटारदेखि देउबहादुर र पञ्चसुब्बाबाट सुरु भएको यो भाका विभिन्न स्रष्टा हुदैं भेडीखर्के साइला अनि धम्पु दुरापछि सकिन्छ भन्ने आकलन गरिएको समयमा नयाँ पुस्ताको ध्यान गएको समयमा सरकारले पनि यसमा ध्यान दिनुपर्ने अध्यक्ष पहाडीले सुनाए । ‘अहिले पनि हाम्रो नीति निर्माणकर्ताहरूको दिमागमा के छ भने भौतिक निर्माण मात्र विकास हो भन्ने छ,’ उनले भने, ‘संस्कृतिको संरक्षण र साहित्यको प्रवद्र्धन विकासको पनि विकास हो भन्ने उहाँहरूको दिमागमा घुस्न सकेको छैन । स्थानीय तहले पनि कमसेकम बजेटको एक प्रतिशत लोककला र साहित्यको उत्थानका लागि छुट्याउनुपर्छ ।’

प्रतिष्ठानले ठाडोभाका संरक्षणका लागि प्रशिक्षणको काम गरिरहेको उनले सुनाए । २२ हजार २२२ रुपैयाँ पुरस्कार राशिको ठाडो भाका शान्तबहादुर स्मृति पुरस्कार, १० हजार ५ रुपैयाँ राशिको ठाडो भाका टीकाकुमारी स्मृति पुरस्कार दिँदै आएको उनले बताए । यसैगरी प्रतिष्ठानले कला क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाएका सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width