पोखरामा बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ तयारी

आदर्श समाज सम्वाददाता
फागुन ११, २०८०
12khari gulf

पोखरा । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । कार्यक्रमको प्रमुख प्रायोजक एनसेल र सह–प्रायोजक बिवाइडी छ ।

गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् ।

यस कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल ¥याली आयोजना गरिनेछ । यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको छ ।

चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा पुग्ने ३०० बढी ‘कर्पोरेट पाहुना’ लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएका छन् । उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्ववर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहनेछन् ।

चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नुछन् ।

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसै दिन बिहान ९ बजे प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया गरिने आयोजकले जनाए ।

देशभरबाट पोखरामा भेला भएका करिब १ सय २० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् ।
चैत ३ गते अपराह्न सम्पूर्ण कार्यक्रमको समापन हिमालयन गल्फ कोर्स, मझेरीपाटन, पोखरामा हुनेछ । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनेछन् ।

सो समारोहमा गल्फ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ भने देशभरबाट आएका पाहुनाहरूलाई आपसी भेटघाट र अन्तरक्रियाका लागि एक उत्सव पनि हुने दाबी आयोजक संस्थाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले बताए ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बिवाइडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन् । देशभरका पाहुनालाई पोखराका २० भन्दा बढी होटेलहरूमा बसोबास गराउने तयारी भइसकेको छ । बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width