गण्डकीमा साढे २ लाख बालबालिकालाई दादुरा रुबेला खोप

आदर्श समाज सम्वाददाता
फागुन ११, २०८०
Dadura Khop Photo

पोखरा । गण्डकीमा यही १३ फागुनदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइने भएको छ । दादुरा रुबेला खोप अभियानअन्तर्गत प्रदेशका ११ जिल्लाका साढे २ लाख बालबालिकालाई खोप दिइने बिहीबार पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशनालय पोखराले जनायो ।

यो अभियान १३ फागुनदेखि ७ चैतसम्म चल्ने स्वास्थ्य निर्देशनालयका नि. महानिर्देशक हेमन्त शर्मा पौडेलले बताए । प्रदेशका २ हजार ८ सय ८९ खोप सेसनबाट २ लाख ५३ हजार ३५ बालबालिकालाई खोप दिइने उनले बताए । ‘यसका लागि २ हजार ८ सय ८९ स्वास्थ्यकर्मी र ५ हजार ७ सय ७८ स्वयंसेवक परिचालित हुनेछन्,’ उनले भने, ‘साथै समुदायमा रहेको लक्षित समूहको कुनै पनि बालबालिका यो खोपबाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न हाल विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाको क्षेत्रीय बैठकमा ११ मुलुकका सरकारतर्फबाट प्रतिनिधित्व गर्दै नेपाल सरकारले पनि यसमा प्रतिबद्धता गरेको छ ।

यद्यपि ४५ वर्षदेखि दादुराको खोप र १२ वर्षदेखि रुबेला समेत संयुक्त रुपमा दादुरा रुबेलाको खोप नेपालभित्रका १६ हजारभन्दा बढी खोप केन्द्रबाट दिँदै आइएको छ । सन् २००४ देखि हालसम्म हरेक ४÷४ वर्षमा अभियानको रुपमा पनि यो खोप लगाइँदै आएको छ । यस वर्ष नेपालका १८ जिल्लामा २० महामारी फैलिई करिब १ हजार ३ सयभन्दा बढी मानिसहरु यी रोगबाट प्रभावित भएको उनले बताए । गण्डकीमा पनि केही समयअघि तनहूँको शुक्लागण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखापरेको उनले सुनाए ।

प्रदेशमा १० जिल्लामा दादुरा रुबेला खोप अभियानमा ९ महिना पूरा गरेका र ५ वर्षभित्र उमेर समूहका सबै बालबालिकाहरुलाई दादुरा रुबेलाको खोप दिइनेछ । नियमित खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकाहरुलाई छुट खोपको मात्रा समेत प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । बर्दघाट सुस्ता पूर्व जिल्लामा यस अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप दिइने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width