तमु सांस्कृतिक प्रतिष्ठानको सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
tamu

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा भएको छ । सो अवसरमा पार्वता तमु स्मृति पत्रकारिता पुरस्कारबाट कास्की आवाज दैनिकका प्रधान सम्पादक हुम तमु पुरस्कृत भए । यसैगरी चीनमा भएको १९ औं एसियन गेममा रजत पदक जित्न सफल एरीका तमु २५ हजारसहित सम्मानित भइन् ।

यस्तै, घनबहादुर स्मृति पुरस्कारबाट साहित्यकार केयरसिं तमु, क्या. मीनबहादुर स्मृति पुरस्कारबाट कलाकार मनबहादुर तमु (माधव), लालशोभा उत्कृष्ट आमा अवार्ड चितवन माडीकी शान्तामाया तमु र उच्च शिक्षा पुरस्कार गोर्खाका इ. टकबहादुर तमुलाई प्रदान गरियो ।

यूके निवासी प्रनिसा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई ल्यापटप हस्तान्तरण गरिन् । यस्तै, ग्रामीण भेकका सामुदायिक विद्यालयका २५ जिल्लाका २ सय ५० बढी विद्यार्थीलाई विभिन्न अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरियो ।

साथै आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तमु धिं युके, तमु धिं बेल्जीयम लगायत दाताले ११ लाख २५ हजार अक्षयकोष रकम हस्तान्तरण गरे ।

कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयुखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकार, जोनीसा तमुले नृत्य प्रस्तुुुत गरे ।

समारोहमा गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर तमु (श्याम) ले तमु सांस्कृतिक प्रतिष्ठान उत्कृष्ट संस्था भएको दाबी गरे । उनले राज्यले गर्न नसकेको काम प्रतिष्ठानले गरेको बताए । स्वदेशमै केही गर्ने दक्ष जनशक्ति निर्माण आजको आवश्यकता भएको उनले जिकिर गरे । कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, सम्मानित हुमबहादुर गुरुङ र एरीका गुरुङले बोलेका थिए ।

प्रतिष्ठान अध्यक्ष चित्र तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत र सचिव कञ्चन गुरुङ, विद्यार्थी समिति सचिव कविता तमु र सहसचिव प्रज्ज्वल तमुले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width