अनुप र सृष्टिका अभिनय किस्सा

आदर्श समाज सम्वाददाता
फागुन ७, २०८०
Abhinaya ko Farak Andaj

पोखरा । ११ औं नेपाल लिट्रेचर फेस्भिलको अन्तिम दिन अभिनयसँग सम्बन्धित सत्र ‘अभिनयको फरक अन्दाज’ सेसन भएको छ ।

अभिनेता तथा निर्देशक अनुप बरालले एउटा इमानदार अभिनेता नै संसारको सबैभन्दा झुटो मान्छे हुने बताए । आफूभन्दा फरक पात्रको रुपमा उभिएर दर्शकलाई त्यसमा विश्वास गराउन सक्नु एउटा कुशल अभिनेताको गुण रहेको उनले जिकिर गरेका हुन् । सुरज सुवेदीले सहजीकरण गरेको सत्रमा आफूले गरेका अभिनय सम्झिँदै बरालले बाल्यकालमा चोरेर खुदो खाएको, झुट बोलेर सिनेमा हेर्न गएको प्रसंग जोडे ।

अभिनेतृ सृष्टि श्रेष्ठले पनि बाल्यकालमा बुवाआमाले थाहा नपाउने गरी फिल्म हेर्ने गरेको घटना सम्झिँदै अभिनय यात्रा त्यतिबेलादेखि नै सुरु भएको बताइन् । तर, त्यसरी गरिने अभिनय र फिल्म अथवा नाटकको लागि गरिने अभिनयमा भने तात्विक फरक रहेको बरालले स्पष्ट पारे । त्यस्तै रंगमञ्चमा गरिने अभिनय र फिल्ममा गरिने अभिनयमा पनि केही भिन्नता हुने उनले बताए । ‘मैले बढी समय थिएटरमै बिताएँ । मिडियमसँगै अभिनय शैली पनि फिल्म र थिएटरमा फरक हुन्छ ।’ उनले भने, ‘धेरै मान्छेसम्म आफ्नो आवाज र हाउभाउ प्रत्यक्ष पु¥याउनुपर्ने भएकाले थिएटरमा अलिकति बढाइ चढाइ गर्नुपर्ने हुन्छ । तर, सिनेमामा रिसाउँदा, खुसी हुँदा वा अन्य अवस्थामा चियाको कप उठाउने तरिकामै पनि फरक इमोसन हुन्छ । क्यामेराले त्यो पनि देखाउन सक्छ ।’

अभिनय गर्दा कारण खोज्नु कति महत्वपूर्ण हुन्छ भन्ने बताउँदै बरालले भने, ‘हामीलाई टाउको दुखेको अभिनय गर्नुप¥यो भने टाउको समात्छौं । तर के कारणले टाउको दुखेको हो भनेर खोज्नतिर लाग्दैनौं । यो धेरै अभिनेताहरुको समस्या हो । एउटा अभिनेताले दिइएको स्थान, समय र फ्रेममा रहेर कारण खोज्दै गयो भने त्यसले धेरै बाटो पनि खोल्छ ।’

फिल्ममा अभिनय गर्दा आफूले निर्देशकको भिजनमा काम गरिरहेको छु भन्ने कुरा सधैँ याद राख्ने अभिनेतृ सृष्टिले बताइन् । ‘कुनै सिनमा आफूले गरेको रियाक्ट नै कसरी आयो भन्ने थाहा हुँदैन तर त्यो रियाक्टमा पात्र नै हुन्छ । छायांकन अघि गरिने वर्कशप, फिल्म र पात्रका बारेमा हुने छलफलले एक्टर र डिरेक्टर एउटै स्टेजमा ल्याएको हुन्छ ।’ राधाको उदाहरण दिँदै उनले भनिन्, ‘राधामा काम गर्दा पात्र यति पर्सनल भइसकेको थियो कि त्यो हाम्रो लागि एउटा सन्तान जस्तो थियो । जसले गर्दा सुटिङमा धेरै म्याजिकल मोमेन्ट घटित भएको थियो ।’

एउटा राम्रो फिल्म बन्नका लागि अभिनेता र निर्देशकबीच सम्बन्ध एकदमै घनिष्ठ हुनुपर्ने बरालले बताए । निर्देशकले अभिनेताका लागि स्वतन्त्र ठाउँ दिइ पात्रमार्फत नयाँ कुरा खोज्ने वातावरण बनाइदिने र अभिनेताले निर्देशक सामु आफूलाई समर्पित गरेमा पटकथामा नसमेटिएका सुन्दर घटनाहरु तत्काल घट्न सक्ने उनको भनाइ थियो । निर्देशक आफ्नो अडानमा रहँदा अभिनेताबाट निस्कन सक्ने जादु गुम्ने भएकाले आफू काम गर्दा त्यस्ता कुरामा सचेत रहने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width