महेन्द्रपुलमा झन्डापार्क उद्घाटन

आदर्श समाज सम्वाददाता
फागुन ७, २०८०
flag park (2)

पोखरा । पोखारको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको करिब ७० लाख आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेको हो । प्रजातन्त्र दिवसको दिन सोमबार उक्त पार्क उद्घाटन गरियो ।

लायन्स क्लब इन्टरनेशनलका ५ वटा डिष्ट्रिक्टको ७० लाख भन्दा बढी आर्थिक सहयोगमा निर्मित झन्डापार्कको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा सोमबार उद्घाटन गरे । उद्घाटनसँगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण गरियो । बुर्लाकोटीले मेयर आचार्यलाई पार्कको साँचो हस्तान्तरण गरेका हुन् ।

चार तहको प्यारा फिट शैलीमा निर्माण गरिएको पार्कमा संयुक्त राष्ट्र संघमा आबद्ध १ सय ९३ देशको नामसहितका पोलमा झन्डाहरू राखिएका छन् । पार्कको सबैभन्दा अगाडि नेपालको झन्डा राखिएको छ भने, एक स्थानमा पत्रपत्रिका अध्ययन केन्द्र र अर्को स्थानमा डिजिटल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ । सात महादेशको भिन्न–भिन्न ब्लकहरू छुटाइएको पार्कमा दोस्रो विश्वयुद्ध पछि विश्वशान्ति स्थापना र मानव अधिकार प्रवद्र्धनका लागि स्थापित संयुक्त राष्ट्र संघमा आबद्ध देशहरूको आबद्धताको मिति समेत उल्लेख गरिएको छ । पार्कमा संयुक्त राष्ट्र संघ, पोखरा महानगरपालिका, लायन्स क्लब अन्तर्राष्ट्रिय र एनआरएनएको झन्डा पनि राखिएको छ । ती झन्डाहरु एकै पटक फहराउँदा पोखरेलीले नौलो अनुभूति गरेका छन् । फोटो खिच्दै कतिपयले यो नयाँ पर्यटकीय गन्तव्य बनेको अथ्र्याएका छन् ।

झन्डा पार्कमा संयुक्त राष्ट्र संघमा आबद्ध १९३ देशका झन्डा फहराएका छन्

लायन्स इन्टरनेश्नल डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एमको सहयोगमा करिब १ वर्ष लगाएर उक्त पार्क निर्माण भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

समारोहमा मेयर आचार्यले झन्डापार्क पोखराको लागि नयाँ पर्यटकीय गन्तव्य बनेको दाबी गरे । उनले पोखराको समग्र विकासमा सहकार्य गर्न सबै संघसंस्थालाई आह्वान गरे । ‘कुनै पनि देशको राष्ट्रिय झन्डा त्यस देशको राष्ट्रिय एकता र गौरवको प्रतीक हो । झन्डा पार्क केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ,’ प्रमुख आचार्यले भने । उनका अनुसार यस आसपासको क्षेत्रलाई वाई फाई फ्री जोन बनाइएको छ । सरकार महानगर एक्लैको प्रयासले मात्र विकास सम्भव नभएको भन्दै उनले झन्डापार्क निर्माणमा लायन्स क्लब अन्तर्राष्ट्रियले सहयोगेजस्तै यहाँको पर्यटकीय एवं पूर्वाधार विकासमा समेत हातेमालो गर्न आह्वान गरे । पोखरा घुम्न आउने विश्वका पर्यटकले अब आफ्नै देशको झन्डामुनि बसेर फोटो खिच्न सक्ने उनको भनाइ छ ।

लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बुर्लाकोटीले पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसारका लागि यसले महत्वपूर्ण सहयोग पुग्ने बताए । संसारभरी सेवामा समर्पित लायन्सहरुको गौरवका रूपमा पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय झन्डा पार्क सम्बन्धित देशका पर्यटकहरूका लागि गर्वको विषय हुने उनले बताए । पोखराको विकास र समृद्धिको यात्रामा लायन्स क्लब अन्तर्राष्ट्रिय स्थानीय सरकारसँग सहकार्य र समन्वय गर्न सदैव तयार रहेको उनको भनाइ छ ।

पोखरा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले झन्डा पार्कले पोखराको नयाँ पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गरे । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना भएको बताए । आफूहरूको कार्यकाल केवल रातो र कालो मसीको केराइमा केन्द्रित नगर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले झन्डा पार्कमा राखिएका संयुक्त राष्ट्र संघमा आबद्ध सबै देशका झन्डाहरूले विश्व भातृत्व प्रवद्र्धनको सन्देश दिएको बताए । विश्वमा शान्ति कायम र मानवअधिकारको रक्षा तथा प्रवद्र्धनमा यसले महत्वपूर्ण सन्देश दिएको उनको दाबी छ ।

संयुक्त राष्ट्र संघमा आबद्ध १ सय ९३ सहित संयुक्त राष्ट्रसंघ, पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी १ सय ९७ झन्डाहरू एकै स्थानमा राखिएको छ । यहाँ झन्डापार्कसहित शौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवं डिजिटल डिस्प्ले लगायतका संरचना हुने छन् ।

महेन्द्रपुलको अर्को भागमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सहयोगमा यसअघि अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भइसकेको छ । हाल त्यस स्थानमा बायो ग्यासको डाइजेस्टर जडान कार्य भइरहेको जनाइएको छ ।

सेती नदी किनार महेन्द्रपुल बजारमा यसअघि रहेको पोखरा सार्वजनिक पुस्तकालय तथा पोखरा आर्ट ग्यालरीको भवन मासेर झन्डापार्क बनाइएको हो । उक्त कार्यको भने कतिपयले आलोचना गरेका छन् । पुस्तकालयका करिब १२ हजार पुस्तक नयाँबजारस्थित क्षत्री समाज भवनमा लगिएको छ ।

महानगरले पृथ्वीचोकस्थित पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा कोसेली घर निर्माण गरी त्यहाँ पुस्तकालय सार्ने तयारी गरेको छ । गत वर्ष महानगर नगरकार्यापालिकाको आठौं बैठकले पुस्तकालय तथा आर्ट ग्यालरीमा डोजर चलाएर पार्क बनाउने निर्णय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts