असफलताबाट पाठ

आदर्श समाज सम्वाददाता
फागुन ७, २०८०
Asafalata ko Path

पोखरा । कुनै पनि विकासका लागि चार विषयले अर्थ राख्छन् । ती हुन्–योजना, बजेट, संरचना र कानुनी व्यवस्था । गण्डकी विश्वविद्यालयका उपकुलपति डा. नवराज देवकोटाले पोखरामा आयोजित ११ औं लिटरेचर फेस्टिभलको ‘असफलताबाट पाठ’ सेसनमा यस्तो सुझाए ।

त्यतिमात्र होइन, पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी चन्द्रकान्त बराल तथा युवाका लागि प्रेरणाका स्रोत भीम लुइँटेलले आ-आफ्ना असफलताका किस्सा सुनाउँदै सफल बन्नेतर्फ उत्प्रेरित गरे ।

पोखरा २२, पुम्दीकोट हालै निर्मित विशाल महादेवको मूर्तिका परिकल्पनाकारसमेत रहेका बराल त्यत्तिकै सफल उद्यमी बनेका हैनन् । उनले विगतमा निकै संघर्ष झेले । २०३६ सालमा बंगुर पाल्ने साहस गरेर समाजसँग पौठेंजोरी खेलेका थिए । खासमा उनलाई केही गरौं भन्ने हुटहुटी पहिल्यै थियो । सुरुमा ३ महिने तालिम लिएर पशु सहायकको जागिर खाए । तालिमले बंगुर पाल्दा मनग्य आम्दानी देखाएपछि उनले बंगुर पाल्न सुरु गरेका थिए ।

घरमा उनले जिद्दी कसे, ‘जसै बंगुर पाल्छु ।’ जायजेथा पूरै १ सय ५० रोपनी जग्गा धितो राखेर १ लाख ५० हजार रुपैयाँ ऋण काढेर उनले बंगुर पाल्न सुरु गरे । ‘अफ्रिकन स्वाइन फिभर रोग लागेर बंगुरहरू बच्चा उत्पादन गर्दै मर्ने हुन थाल्यो र म असफलताको बाटोमा गएँ,’ उनले सम्झिए ।

बंगुर पाल्दा धन र धर्म दुवै गुमाएको उनले सुनाए । ‘त्यतिबेला बाहुनका छोराले बंगुर पाल्ने भनेको सामान्य कुरा थिएन । भित्रभित्र छोएको पानी खान हुन्न भन्ने मान्छेहरू पनि प्रशस्त हुन्थे’, उनले भने ।

पुम्दीकोट अहिले पोखराको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँ हालसम्म २७ करोड लगानी भइसकेको छ । आफूले सपनामा देखेको कुरा आखिर सबैको सहयोगमा पूरा गरेरै छाडेकोमा उनी सन्तुष्ट सुनिए ।

प्रस्तोता जमुना वर्षा शर्मासँग स्याङ्जाका बंगलुपालक किसान भीम लुइँटेलले पनि विगतका आफ्ना पीडादायी कथा यसरी सुनाए । नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर लुइँटेलले जहाज चढेर दुबई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्धको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए । उनले दुबईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनीको भित्तामा तस्बिर थियो, ‘टहराको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्पनीको आफ्नै जहाज उडाउने छ ।’ भीमको दिमागलाई त्यही एटा तस्बिरले हान्यो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई घच्घचाइरह्यो । भीमलाई विदेश धेरै वर्ष मन लागेन । विदेश छँदा गाउँघरमा देखेका सम्भावनाहरू उनका आँखा वरिपरी घुमिरहन्थे । केही लाख रुपैयाँ कमाएर लुइँटेल स्वदेश फर्किए ।

सम्भावना देखेर उनले रोजे बंगुुरपालनलाई । २०७१ सालमा भीमले २७ लाख रुपैयाँ लगानी गरेर बंगुरपालन सुरुआत गरे । देशमा जनयुद्ध त रोकिएको थियो, भीमले रोजेको पेसाले भने समाजसँग युद्ध सुरु भयो । त्यतिबेलाको समाज भन्थ्यो, ‘बाहुनले बंगुर पाल्न त के छुनसमेत हँुदैन ।’ परिवार, समाजसँग विद्रोह गर्दै उनले साथीभाइसँग मिलेर आँधीखोलाको किनारमा बनाएको खोरमा २७ वटा बंगुर हुलेर हजार माइल पर सफलताको यात्रामा एक पाइला चाले । साथीसँग मिलेर सुरुआत गरेर व्यवसायमा दरार आउन सक्ने देखेर छोटो समयमै भीम एक्लैले व्यवसाय सम्हाले । उनी सफल हुँदै गर्दा उद्देश्य राखेका थिए, ‘देशमा रोजागरी सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नेछु ।’ विश्व बजारमा बंगुरको मासु निकै माग भएको उनको भनाइ छ ।

बंगुरपालनमा उनले बिस्तारै सफलता हासिल गर्दै गए । बाहुनका छोराले बंगुर पाल्नै नहुने भाष्य समाजबाट हट्दै गयो । रोजगारीका लागि संख्या बढाउँदै थिए । भीमको लगाबबाट प्रेरित भएर बंगुर पाल्ने युवाको संख्या दिनानुदिन बढ्दै गयो । विद्रोह गरेर थालेको पेसाबाट सफलताको सिँढी चढ्दै गर्दा एक्कासि उनी शून्यमा झर्नुपरेको छ । ९ महिना अगाडि उनको फर्मबाट १४ सय बंगुर मर्दा ठूलो क्षति व्यहोर्नुप¥यो ।

अफ्रिन स्वायन फिबरले उनले ३ करोड रुपैयाँ बराबर नोक्सानी व्यहोर्नुपरेको बताए । भीमले त्यसपछि यतिसम्म आर्थिक अभाव भोगे कि बंगुरलाई खुवाउने दाना नहुँदा भकारीको धान झिकेर खुवाउन पछि परेनन् । राज्यका निकाय र बैंक तथा वित्तीय संस्थाको सहयोग नपाएकोमा उनको गुनासो छ । ‘समस्याको पाटो त आर्थिककै थियो । अहिलेसम्म न बैंकिङ क्षेत्र न राज्यका निकाय कुनै पनि क्षेत्रबाट सहयोग भएन । बरु भिडियो हेरेर नेपालभन्दा बाहिर रहनुभएका अथवा नेपालमै भएका केही साथीहरूले तपाईले गरेको कामप्रतिको प्रसाद हो है भनेर रकम सहयोग गर्नुभयो’, उनले भने ।

अहिले उनी सुरुआती संघर्षको दिनमा पुगेको बताउँछन् । भीमले न हरेश खाएका छन् न बाटो फेरेका छन् । बंगुरको बजार पुरानै अवस्थामा फिर्ता पाएकोमा भने खुसी देखिए । उनले आफू सफल बनेर विदेशिएका युवालाई नेपालमा सम्भावना छ भन्ने सन्देश दिन चाहन्छन् ।

गोरखाका डा. देवकाटा एसएलसीपछि खासमा इन्जिनियर पढ्न चाहन्थे । पछि मेडिकल साइन्सका लागि नाम निकाले । तर पैसा अभावमा धरानमा पढ्न गएनन् । उनी कृषिको पढाइमा मोडिए । कृषि क्षेत्रमै हाल १५ भन्दा बढीलाई पिएचडी गाइड गरिरहेका उनी चितवनमा हालैमात्र १३ हजार लिटर दूध सडकमा पोखिएकोमा चिन्तित छन् । उनी कषि क्षेमा प्रोत्साहनका लागि राज्यको नीतिगत नै समस्या रहेको टिप्पणी गर्छन् । विगतमा असफलताबाट पाठ सिक्दै सफल यी डाक्टरकी श्रीमती दुर्गादेवी देवकोटा पनि पुरुन्चौर कलेजकी प्रिन्सिपल छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width