नेपथ्यमा लाहुरेनीको कथा

आदर्श समाज सम्वाददाता
फागुन ६, २०८०
Lahureniko Katha News Day

पोखरा । पोखरा लाहुरेको सहर हो । पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए । इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ । कतै बहादुरीको कथा त कतै इमानदारिताको । तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो ।

११ औं सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलमा आइतबार यही सहरमा लाहुरेनीको कथाव्यथा सुनाइयो । गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनीहरु जहिल्यै छायामै परेको लाहुरेनीका कथा सेसनमा सहभागी वक्ताले एकै स्वरमा भने ।

नेपाल लिटरेचर फेस्टिबलमा आइतबार लाहुरेनीको कथाव्यथा सुनाइयो

गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेकी मीना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्मा दुखाएको छ । विलीन लाहुरेनीको कथा कसैले कोट्याउन नखोजेको उनले बताइन् । ‘यो कथाव्यथा, लाहुरेनीको योगदानलाई उसले निभाएको अहम भूमिकालाई कसैले पनि चासो दिएनन् । समाजका यतिधेरै प्रभुत्व व्यक्ति, इतिहासविद्हरु, राजनीतिकर्मीहरुले, साहित्यकारहरुले ध्यान दिएनन्’, उनले गुनासो गरिन् ।

पुस्तकमा पनि लाहुरेनीको कथा कतैं नलेखिएको उनको भनाइ छ । गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन् । आफ्नो सपना निमोठेर बाँच्नुपरेको मिना स्वयमको भोगाइ छ ।

लाहुरेनीका सुखदुखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भएपनि चर्चा हुन थालेको बताउँछिन् । लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन् । ‘कथाहरु लाहुरेकै आयो बहादुरीको, विजयको । तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ’, अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन् । गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ ।

शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औंल्याइन् । ‘मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौं’, उनले भनिन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ गोरखा महिलाले लडाइँमा श्रीमान् गुमाएको तर पेन्सन नपाएको सुनाए । गाउँमा एकाथरी नाम पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रुपमा चेपुवामा परेको उनले बताए ।

‘प्रेमी फर्केर आउँछ भन्दा भन्दै जीवन बित्यो । पेन्सन पनि पाएनन् समाजले पनि नानाथरी लाञ्छना लगायो’, उनले भने । गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन् । ‘बाध्यताको देशमा हामी छौं’, उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width