‘राजनीतिमा क्षमतावान् आउनुपर्छ’

आदर्श समाज सम्वाददाता
फागुन ५, २०८०
Kohi Kina Rajneeti ma Aauxa (2)

पोखरा । पत्रकार वसन्त बस्नेतले रास्वपा नेतृ सुमना श्रेष्ठलाई प्रश्न गरे, ‘तपाईं किन राजनीतिमा आउनुभयो ?’

जवाफमा उनले गठबन्धन गर्ने अनि सधैं एउटै व्यक्तिले शासन गर्ने प्रवृत्तिसँग रिस उठेर राजनीतिमा आएको सुनाइन् । ‘गठबन्धन गर्छु भन्ने भएपछि पैंतालादेखि रिस उठ्यो । सधैं एउटै मान्छे हुँदैन भनेर म राजनीतिमा आएँ,’ पोखरामा जारी लिटरेचर फेस्टिभलमा शनिबार ‘कोही किन राजनीतिमा आउँछन् ? विषयक सेसनमा उनले भनिन्, ‘म जब राष्ट्रिय स्वतन्त्र पार्टीमा गएँ । रविजी एक जनाले जिते पनि म्यासेज दिनपर्छ भन्ने भयो ।’ राजनीति समाजसेवा भएको र देश विकासका लागि चाहिने नीति बनाउन आफू रजनीतिमा आएको स्पष्ट पारिन् ।

उक्त सेसनमा माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेताले एउटै स्टेज सेयर गरेका थिए । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं माओवादी नेता सुदन किराती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेल र एमालेबाट निर्वाचित बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा पनि वक्ता थिए ।
पर्यटनमन्त्री किरातीले क्षमता र बुद्धि भएकाहरुलाई राजनीतिमा आउन आव्हान गरे । नभए क्षमताहीनले शासन गर्ने र देशले दुख पाउने उनको भनाइ थियो । उनले मन्त्रालयमा पोछा लगाएको भिडियोको भाइरस बनेकोबारे जवाफ दिए, ‘कोही सानो हुँदैन र उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको हो ।’

‘कोही किन राजनीतिमा आउँछन् ? सेसनमा मन्त्री किरातीसहित प्रदीप पौडेल, सुमना श्रेष्ठ र अनिता लामा थिए

उनले अगाडि भने, ‘नगर्नुपथ्र्यो । मलाई पनि हाकिम हुन मन छ । सुविधामै बस्न मन छ । तर हामीले प्रतिकात्मक रुपमा सन्देश के दिने ? अमेरिकाका राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किरातीले पोछा लगाउन नहुने ?’

कांग्रेसका नेता पौडेलले नयाँ आएकालाई अवसर दिइएमात्र आकर्षण बढ्ने बताए । उनले राजनीति निरन्तरताका आधारमा नभई भिजनको आधारमा हुनुपर्ने जिकिर गरे । ‘राजनीति निरन्तरताको आधारमा होइन, कन्टेन्टको आधारमा हुनपर्छ । देश कसरी बनाउने हो भनेर त्यसको फेहरिस्तको आधारमा हुनपर्छ । कांग्रेसमा यस्तो व्यवस्था गर्नुपर्छ कि ३५ वर्ष भएको प्रदिपसँग ३५ दिनअघि आएको मान्छेले जित्यो भने जित्न दिनपर्छ,’ उनले भने ।

गठबन्धन गरेर लोकतन्त्रलाई साँघुरो बनाइएको, विचारको राजनीतिको स्पेसलाई घटाउने काम भइरहेको पौडेलले दाबी गरे । सत्तामुखी नभई जनमुखी भएर काम गर्ने गरी गतिविधि किन हुन सकेको छैन भन्ने आफैंले बुझ्न नसकेको उनले बताए । पार्टी सिस्टममा आफूले नचाहेका विषयमा पनि सहमति जनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । ‘सत्य र सही कुराको पार्टीको सीमा बाहिर गएर वकालत गर्नुपर्छ कि ? पार्टीभन्दा बाहिर कुरा मिले भने सँगै भएर त्यसलाई लिएर जान सक्छौ कि ? गलत र सही के हो छुट्याउने अनि सही छ भने सही ठान्ने सबै एक ठाउँमा जाने । पार्टी नियन्त्रणको प्रक्रिया बढी भयो कि भन्ने लाग्छ ।’

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले क्षमता भएकालाई अवसर दिने परिपाटी दलहरूले बनाउन आवश्यक रहेको बताइन् । ‘क्षमता भएका र केही नयाँ गर्छु भनेर राजनीतिमा आएकालाई नेतृत्वमा ल्याउन ऐंठन (थिचाइ) छ । यो पद्धति र प्रणालीको कुरा हो,’ उनले भनिन् । व्यक्तिको असक्षमतामाथि हेरेर राजनीतिक र लोकतान्त्रिक व्यवस्थामाथि आलोचना गर्ने काम गलत रहेको बताइन् । राजनीतिलाई सफा गर्न स्वच्छ व्यक्ति आवश्यक रहेको उनको भनाइ थियो । उक्त सेसनमा पत्रकार टीकाराम यात्रीको अनुपस्थितमा आएका सहजकर्ता वसन्त बस्नेतले घोचपेच प्रश्नमा दर्शकले ताली पिटेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width