पाेखरामा नेपाल लिटरेचर फेस्टिभल सुरु

आदर्श समाज सम्वाददाता
फागुन ३, २०८०
Nepal Literature Festival (1) (1)

पोखरा । ‘सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल–२०२४’ बिहीबारदेखि सुरु भएको छ । फेवाताल किनार वाराहीघाटमा ५ दिनसम्म चल्ने फेस्टिभलमा देशविदेशबाट २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वबीच विभिन्न विषयमा घनीभूत छलफल हुनेछ ।

११ औं संस्करणको यो फेस्टिभलमा करिब ५५ सेसन तय गरिएको छ । आयोजक बुकवर्म फाउन्डेसनद्वारा आयोजित शब्दशक्तिको यो उत्सवको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समुद्घाटन गरे । उनले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ । ‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ’, उनले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग पु¥याउँछ ।’ पोखरामात्र नभई नेपाललाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । महोत्सवमा आउने विश्वविख्यात साहित्यकार, कलाकार पोखरा आउँदा प्रचारप्रसारमा पनि सहयोग पुगिरहेको मुख्यमन्त्रीको भनाइ थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति सूर्य खड्का ‘बिखर्ची’ले साहित्यले समाजलाई सत्मार्गमा देखाउन आवश्यक रहेको बताए । उनले गण्डकी प्रज्ञा प्रतिष्ठान भाषा, ज्ञान विकास गर्न स्थापना भएको सुनाए ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११ औं संस्करणसम्म ल्याउन सकेको बताए । ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभाव छन् । ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो,’ उनले भने ।

पहिलो दिन कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गर्दै वात्स्यायन पोखराका अग्ला शिखर भएको बताए । उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरे । उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए ।

चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ । उक्त प्रदर्शनी पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए । उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए ।

फेस्टिभलमा विभिन्न सेसनसहित सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने छ ।

यसपालिको फेस्टिभलमा विश्वप्रसिद्ध लेखक काई बर्ड आउने छन् । चर्चित ‘अमेरिकन प्रोमिथियस’ का लेखक एवं विश्वप्रसिद्ध पुलिट्जर प्राइज विजेता बर्डको पुस्तकमा आधारित ‘ओपन हाइमर’ चलचित्रसमेत बनेको छ ।

प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजबारे उनले चर्चा गर्ने छिन् । उनको यस पुस्तकले उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो ।

यस्तै, विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि देखिने छन् । उनले ‘क्लाउड्स र अर्जी द ड्वार्फ’ पुस्तक लेखेका छन् । उनको ‘अर्जी द ड्वार्फ’ पुस्तक कमनवेल्थ फस्ट बुक प्राइज का लागि सर्टलिस्टसमेत भएको थियो।

महोत्सवमा यसपालि सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको साथ छ । प्रवद्र्धक पोखरा महानगरपालिका हो ।

Related News

सम्बन्धित समाचार

hero news full width