स्वाइन फिभरले बंगुर सखाप, प्रदेशभर ५० करोड भन्दा बढी क्षति

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
pig farming DSC00248

पोखरा । अफ्रिकन स्वाइन फिभर गण्डकीमा फेरि फैलिएको छ । अघिल्लो वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको रोग फेरि फैलिन थालेको हो । कास्की, तनहुँ, लमजुङ, नवलपुर र गोरखा लगायत ठाउँमा रोग देखिन थालेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म झण्डै १७ हजार बंगुर स्वाइन फिभरकै कारण मरेका तथ्यांक छ । यसबाहेक पनि मरेको हुन सक्ने अनुमान गरिएको छ । २०७९ साउन अन्तिमदेखि हालसम्म १६ हजार ५ सय ४५ बंगुर मरेका निर्देशनालयले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका हुन् ।

केही फार्म बाहेक सबैतिर रोग फैलिएको निर्देशक प्रेरणा सेढाईंले जानकारी दिइन् । शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता समस्या देखिएपछि परीक्षण गर्दा पुनः फिभर पुष्टी भएको उनको भनाइ छ । रोग लागेका बंगुरजन्य वस्तुहरु र होटलबाट जम्मा गरिएका जुठो खानाका कारण रोग बढी फैलिएको उनले सुनाइन् । ‘रोगी सुँगुर, बंगुर, जंगली बँदेलसँगको सम्पर्कबाट रोग सरेका छन् । होटल र भोजभतेरबाट ल्याइएका जुठो खानाले पनि तीब्र भएको छ,’ उनले भनिन्, ‘गण्डकीमा निकै ठूलो क्षति भयो । क्षति हुने क्रम रोकिएको छैन ।’

फिभरका कारण किसानको ५० करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको छ । ‘यो रकम बंगुरको मात्रै हो । कतिपय फार्म नै रित्तो भएका छन् । बाँकी रहेका पनि अहिले मर्ने क्रम सुरु भएको छ,’ सेढाईं अघि भन्छिन् । दोस्रो आउटब्रेकपछि कास्कीमा ५५, तनहुँमा ३०, लमजुङ १४, गोरखामा १३ वटा गरी १ सय १२ वटा बंगुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले अहिले किसानका फार्मममा बंगुर नै नरहेको बताए । ‘यसपालि हेर्दा क्षति कम छ । रोग नभएर होइन, बंगुर नै नभएर हो,’ उनले भने, ‘रोग फैलिनुअघि कास्कीमा मात्रै ५० हजार हाराहारी बंगुर थिए । अहिले ५ हजार पनि छैनन् ।’ रोग नियन्त्रणको कुनै उपाय नभएको विज्ञहरु बताउँछन् । ‘खोप बाहेक यसको अरु उपचार छैन । रोग लागेपछि मर्ने नै हो,’ पाण्डेले भने, ‘अहिले किसानको मनोबल गिरेको छ । उनीहरूलाई पुनः स्थापना गराउन कम्मर कसेर लागेका छौं । तर नियन्त्रणमा नआउँदासम्म लगानी गर्न सकिएन ।’

वरिष्ठ पशु विकास अधिकृत बालकुमार श्रेष्ठले बंगुर मरेका किसानलाई पुनःस्थापनाका लागि प्रति पाठा ४ हजार दिने गरी कार्यक्रम बनाइएको बताए । खासगरी कास्की, तनहुँ, गोरखा, नवलपुर लगायत जिल्लामा बंगुर पालन बढी छ । ‘रोग लागेपछि बंगुर मर्ने दर शत प्रतिशत छ । भ्याक्सिनले पनि काम गरेन,’ उनी भन्छन्, ‘बिउ बाहेक सबै सिध्याउनुपर्ने अवस्था छ । अब त बिउ पनि नपाइने हो कि भन्ने डर भैसक्यो ।’ आजभोलि बंगुर पालन र उपभोग बढ्दो छ । स्वाइन फिभर राम्रोसँग पकाएर खाँदा मान्छेमा भने नसर्ने विज्ञहरुले बताएका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टेकप्रसाद प्रसाईंले रोगका कारण मरेका बंगुरको क्षतिपुर्ति दिएर किसानलाई पुनः व्यवसायमा फर्काउने प्रतिबद्धता जनाए । ‘किसानलाई बंगुरपालनमा फर्काउन हामी लागिरहेका छौं । बिउ पुँजी पनि राखिएको छ,’ उनले भने, ‘तर लगानी गर्ने उपयुक्त समय मिलेको छैन ।’ पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले क्षति कम गर्न फार्मको नियमित अनुगमन गर्ने र किसानलाई सचेत बनाइएको बताए । बंगुरको संख्या घटाउन आग्रह गर्ने र डिस्पोजको उपाय सिकाइएको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width