पोखरामा बढेको कर घटाउने निर्णय, स्वास्थ्यतर्फ १५४ जनाको दरबन्दी स्वीकृत

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
mahanagar
पोखरा ।   पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । पुस २९ गते सुरु भएको नगरसभा आइतबार सम्पन्न भएको हो । नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ भने, केही महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ ।
नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास गरेको हो । यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङद्वारा प्रस्तुत समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटद्वारा प्रस्तुत सार्वजनिक लेखा समितिको प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ ।
पोखरा महानगरपालिकाले लिने भूमि कर अत्यधिक बढेको भन्दै चौतर्फी विरोध भएपछि करको दर घटाउन गरिएको प्रस्ताव पारित भएको छ ।  नगरसभाले गठन गरेको दर पुनरावलोकन कार्यदलले विभिन्न योजनासहित दर घटाउने सुझाव दिएको हो । समितिले झण्डै डेढ महिना अध्ययन गरेर प्रतिवेदन नगरसभामा पेस गरेको थियो ।  उक्त प्रतिवेदन अनुसार महानगरले पुस मसान्तसम्म दिँदै आएको १० प्रतिशत छुटलाई बढाएर वर्षैभर १५ प्रतिशत छुट दिनुपर्ने छ । कर तिरिसकेकाको हकमा भने आगामी वर्ष २५ प्रतिशत छुट सहितको अन्य विशेष व्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको थियो ।
वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा सुझाव समिति गठन भएको थियो ।
समितिमा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, १३ का अध्यक्ष किरण बराल, १५ का अध्यक्ष तोरण बानिया, २० का अध्यक्ष गंगाबहादुर केसी, वडा सदस्यहरु निर्मल दियाली, पूर्णचन्द्र न्यौपाने, शिवराम भण्डारी, कल्पना ढकाल र डाल्डादेवी भुजेल सदस्य थिए । सदस्य सचिवका रुपमा दीपेन्द्र पण्डित थिए ।
सम्पत्ति करको दर राजश्वका विज्ञसँग छलफल गर्दा वैज्ञानिक नभएको सुझाव आएको र सोही अनुसार गरिएको प्रस्ताव पारित भएको संयोजक पराजुलीले बताए । ‘अघिल्ला आर्थिक ऐनमा मालपोत र महानगरको मूल्यांकन फरक रहेछ । अहिले एउटै बनाउन खोज्दा दर अलि बढेको देखियो,’ उनले भने, ‘यसलाई सेटल गर्न हामीले नयाँ प्रस्ताव गरेका थियाै‌, जुन पारित भएको छ ।’
महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न गठित समितिले पेस गरेको प्रतिवेदन पनि नगर सभाले पास गरेको छ । प्रतिवेदन अनुसार एकीकृत सम्पत्ति कर र भूमि करमा आषाढ मसान्त सम्म १५ प्रतिशत र व्यवसाय करमा १० प्रतिशत छुट दिइने छ । यसअघि तिरिसकेको हकमा आगामी आर्थिक वर्षको तिनु पर्ने करमा समायोजन गर्ने निर्णय नगर सभाले गरेको छ ।
नगर सभाले महानगर मातहत सञ्चालित स्वास्थ्य संस्थाहरूमा पदपूर्ति सहित थप जनशक्ति व्यवस्थापन गर्न १ सय ५४ जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । जसमा ४ मेडिकल अधिकृत, १ जनस्वास्थ्य अधिकृत, २९ हेल्थ असिस्टेन्ट, २८ अहेव, ४३ अनमी, ४ स्टाफ नर्स, ल्याब असिस्टेन्ट ९, फार्मेसी २, वैद्य १, कविराज २, सहायक कम्प्युटर अपरेटर २ र २९ आवश्यक पदको दरबन्दी रहेको छ ।
नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्य पदमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ । परियारले नगर प्रमुख धनराज आचार्यसँग पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ ।
समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, नगरसभासदहरु, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूले संयुक्त रूपमा साझा प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै