‘ड्रागन इयर’ स्वागत गर्दै तिब्बती

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
Tibbati Lohsar

पोखरा । पोखराको हेमजा, छोरेपाटन र पृथ्वीचोक तिब्बतीहरु बस्छन् । सन् १९६० को दशकमा तिब्बतका राजा दलाइ लामाले राजनीतिक परिवेशका कारण देशै नै छोड्ने निर्णय लिएपछि तिब्बतीहरु अरु देशमा शरण माग्न सुरु गरे । सोही क्रममा तिब्बतीहरुको गन्तव्य नेपाल पनि रह्यो । नेपालमा उनीहरु रसुवा, काठमाडौं, मुस्ताङ, बागलुङ, कास्की, तनहुँलगायत जिल्लामा बस्न थाले ।

नेपाल प्रवेश गर्ने शरणार्थीहरूलाई रेडक्रस, स्वीस सरकार तथा नेपाल सरकारको संयुक्त प्रयासमा विभिन्न स्थानमा व्यवस्थापन गराइयो । सन् १९६१÷६२ मा हेमजा, १९६४ मा छोरेपाटन र १९७३/७४ मा पृथ्वीचोकमा राखियो ।

अहिले हेमजा र छोरेपाटनमा ७ सय र पृथ्वीचोकमा ४ सयको हाराहारीमा तिब्बती शरणार्थी छन् । करिब ६५ वर्ष पोखरामा बसेका तिब्बती शरणार्थीले आफूले मनाउने संस्कृति समुदाय मिलेर मनाइरहेका हुन्छन् । तिब्बतीरुले मनाउनेमध्यको महत्वपूर्ण पर्व हो – ग्याल्पो ल्होसार ।

तिब्बतीहरुले २ वटा ल्होसार मनाउँछन्, सोनाम र ग्याल्पो ल्होसार । सोनाम ल्होसार कृषकहरुले मनाउँछन् भने ग्याल्पो ल्होसार राजा महाराजा गन्नेमान्नेले मनाउँछन् । कृषकहरुले ११ महिना मै सोनाम ल्होसारलाई स्वागत गर्छन् । त्यसको एक महिनापछि मात्र ग्याल्पोको रौनक सुरु हुन्छ । जसमा राजा महाराजा गन्नेमान्नेसँगै जनता पनि मिसिन्छन् ।

पोखरा आएका तिब्बतीहरुले आफ्नो संस्कार संस्कृति र चाडपर्व सुरुआती समयदेखि नै मनाउन थालेको छोरेपाटन शरणार्थी क्याम्पका सोनाम साङ्पोले बताए । ल्होसार मनाउने परम्परादेखि कै निरन्तरता अहिलेसम्म पनि रहेको उनको भनाइ छ । लुनार क्यालेन्डर अनुसार मनाइने तिब्बतीहरुको ग्याल्पो ल्होसार शनिबार परेको छ ।
तिब्बतीहरुले यो पटकको ल्होसार ‘ड्रागन इयर’ का रुपमा मनाउँदै छन् । हरेक जातिको ल्होसार जस्तै तिब्बतीले मनाउने ग्याल्पो ल्होसारमा पनि १२ वटा वर्ग छन् । तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारको अर्थ नयाँ भन्ने बुझिन्छ । सोही कारण तिब्बतीहरुले ‘ड्रागन इयर’ लाई स्वागत गर्दैछन् । अहिले खरायो वर्ग चलिरहेको छ । ‘यो तिब्बतीले मनाउने ग्याल्पो ल्होसार हो । लुनार क्यालेन्डर अनुसार ल्होसारको मिति फरक पर्छ,’ उनले भने, ‘यो अंग्रेजी र नेपाली मिति अनुसार भन्ने हुँदैन् । यो वर्ष माघ २७ मा परेको छ । अर्को वर्ष फरक मितिमा पर्छ ।’

अहिले हेमजा र छोरेपाटनमा ७ सय र पृथ्वीचोकमा ४ सयको हाराहारीमा तिब्बती शरणार्थी छन्

पोखरामा रहेका तिब्बतीहरुले ‘ड्रागन इयर’ लाई स्वागत गर्दै २१५१ औं ग्याल्पो ल्होसार मनाएको साङ्पोले जानकारी दिए । लुनार क्यालेन्डर अनुसार ल्होसारको २ दिन अघिदेखि यसको रौनक सुरु हुन्छ ।

लुनार क्यालेन्डरको अन्तिम महिनाको २ दिन अघि दिउँसो गुम्बाहरुमा खुतार (महाकाल नाच) नाचेर ग्रहदशा फाल्ने काम गरिन्छ । त्यसको बेलुका खुदुक (नौ थरि परिकार मिसिएको थुक्पा) खाइन्छ । ल्होसारको अघिल्लो दिन घर सजाउने काम गरिन्छ । ‘यो वर्ष २७ गते ल्होसार परेको छ । त्यसैले हामीले २५ गते नै खुतार नाचिसकेका छौं । यो नाच नाच्दा चामलको ग्रहदशा र राक्षसको आकृति बनाइ आगोमा जलाएपछि ग्रहदशा फालिन्छ,’ साङ्पोले भने, ‘त्यही दिनको राति हामीले खुदुक खाइन्छ । अनि त्यसको भोलिपल्ट ल्होसारको स्वागतका लागि घर सजाउने काम हुन्छ । यो हामीले गरिसकेका छौं ।’

मुख्य दिन पुस २७ गते बिहानै चोखो पानी ल्याएर शुभ लक्षण भित्राउने काम हुन्छ । अनि छ्याङ खाएर शुभ कार्य थालनी गरिने साङ्पोले जानकारी दिए । ‘मुख्य दिन बिहानै चोखो पानी भित्राइन्छ । जसले राम्रो लक्षण भित्राएको संकेत गर्दछ । त्यसपछि चामलको छ्याङ बनाएर चिया रोटी पनि खाइन्छ । छ्याङ खानुको उद्देश्य भनेको शुभ कार्यको थालनी हो,’ उनले भने, ‘त्यसपछि गुम्बा दर्शनका लागि गइन्छ । ल्होसारको भोलिपल्ट नातेदारहरुलाई बोलाएर शुभकामना साटासाटसँगै मिठो मसिनो खाने प्रचलन छ ।’

तेस्रो दिनमा पूजा गरेर झण्डा र ध्वजा फेर्ने चलन रहेको उनले सुनाए । ल्होसार सुरु भएको एक हप्तासम्म पनि आफन्त भेटेर मिठोमसिनो खाएर शुभकामना साट्ने कार्यक्रम चल्ने उनको भनाइ छ । ‘तेस्रो दिनमा गुम्बामा गएर पूजा गर्ने अनि भोजन गर्ने काम हुन्छ । ध्वजा राख्ने विषयमा दिन हेराएर शुभ रहेछ भने राखिन्छ नभए अर्को दिनलाई सारिन्छ,’ उनले भने, ‘प्राय जसो तेस्रो दिनमा झण्डा र ध्वजा फेर्ने चलन छ । यसरी छरछिमेकी मिलेर नाचगान गर्दै करिब एक हप्तासँग ल्होसार मनाउने हाम्रोमा चलन छ ।’
यो वर्ष पनि पोखरामा रहेका तिब्बतीहरुले परम्परादेखि नै चल्दै आएको गतिविधि गरेर ग्याल्पो ल्होसार मनाइरहेको सोनाम साङ्पोले जानकारी दिए । यसलाई आगामी वर्ष पनि निरन्तरता दिंदै मनाउने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width