पोखरा १४ मा स्थानीय महोत्सव

आदर्श समाज सम्वाददाता
माघ २५, २०८०
pokhara 14 news

पोखरा । पोखरा महानगरपालिका वडा १४ ले ‘प्रथम स्थानीय महोत्सव’ आयोजना गर्ने भएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी फागुन ६ र ७ गते महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए ।

स्थानीय छिनेडाँडास्थित शुक्रराज बलभद्र मावि खेलमैदानमा हुने महोत्सव स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना, आपसी सद्भाव र मित्रताको अभिवृद्धि, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले गर्न लागिएको कार्कीले बताए । महोत्सवमा करिब १ सय ५० वटा स्टल रहने छन् । स्टल राख्न पैसा तिर्नु पर्दैन ।

‘महोत्सवको मुख्य उद्देश्य भनेको स्थानीय व्यवसायीको व्यवसाय प्रवद्र्धन गर्ने हो । महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं,’ वडाध्यक्ष कार्कीले भने, ‘पोखरा–१४ मा उत्पादन हुने कृषिजन्य उपजको व्यावसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मुख्य उद्देश्य छ । यसले कृषकमा थप ऊर्जा मिल्ने विश्वास लिएका छौं ।’

महोत्सवमा विभिन्न सांस्कृतिक, खेलकुद प्रतियोगितासँगै स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहनेछ । महोत्सवमा वडाका सामुदायिक तथा निजी विद्यालय, टोल, समूह, युवा क्लब र विभिन्न व्यावसायिक फर्मको व्यावसायिक प्रवद्र्धन हुनेछ । वडाध्यक्ष कार्कीले गत आवमा स्थानीयलाई विभिन्न व्यावसायिक तालिम प्रदान गरेकाले तालिममा सिकेको विषयसमेत महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरे ।

महोत्सवमा करिब २५ लाख खर्च हुने अनुमान छ । महोत्सवका लागि वडाध्यक्ष कार्कीको संयोजकत्वमा २८ सदस्यीय उपसमिति गठन गरी तयारी थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width