कार्य विस्तृतीकरणका कारण अनिर्णीत राष्ट्रिय समन्वय परिषद्को बैठक

प्रकाश ढकाल
माघ २५, २०८०
national coop council

पोखरा । कार्य विस्तृतीकरणमा थप छलफल गर्नुपर्ने भन्दै काठमाडौंमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठक बिनानिर्णय स्थगित भएको छ । यसअघिका निर्णय समीक्षा गरिएको र अर्को बैठक चैतमा बस्ने गरी स्थगित गरिएको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

‘कार्य विस्तृतीकरणमा अझै छलफल गर्नुपर्ने भयो । चैतमा पुनः बैठक बस्ने निर्णय भएको छ,’ उनले भने, ‘कार्य विस्तृतीकरणको अन्तिम प्रतिवेदन फागुन १५ सम्म सक्ने र अर्को बैठक बस्ने कुरा भएको छ ।’ बैठकले पहिलो बैठकका निर्णयको समीक्षा गर्दै संघीयता संस्थागत गर्ने विषय कार्यान्वयन गर्ने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए । पहिलो बैठकका निर्णय कार्यान्वयनमा संघले खासै तत्परता नदेखाएकोले अर्को बैठकमा त्यसबारे थप छलफल हुने उनले सुनाए ।

उनका अनुसार संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण, संशोधन, साझासूची कार्यान्वयन, विकासका आयोजनामा दोहोरोपना अन्त्य गर्नेलगायत एजेण्डामा छलफल गर्न बैठक राखिएको थियो । विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले कार्यविस्तृतीकरणमा थप अध्ययन गर्नुपर्ने माग राखेका थिए । फागुन मसान्तसम्म सबै कार्यसूची व्यवस्थित गर्ने र चैत अन्तिमसम्म तेस्रो बैठक बस्ने सहमति भएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयतासम्बन्धी कानुन चालु अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका थिए । मुख्यमन्त्रीहरुले असारमा पोखरामा बसेको पहिलो बैठकमा गरिएका निर्णय कार्यान्वयनमा कमजोरी भएको गुनासो गरेका छन् ।

हेटौंडामा भएको मुख्यमन्त्रीहरुको भेलाबाट कार्य विस्तृतीकरण प्रतिवेदन तयार गर्ने निर्णय भएको थियो । उक्त भेलामा प्रतिवेदन तयार गर्न प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको समिति गठन गरिएको थियो । समितिले आवश्यक छलफल गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । गण्डकीले बनाएको प्रारम्भिक मस्यौदामा अन्य प्रदेशका मुख्य न्यायाधिवक्ताहरुले राय थपेर समर्थन जनाएका हुन् । प्रतिवेदनमा प्रदेशको अधिकारलाई थप स्थापित गर्न जोड दिइएको छ ।

खासगरी प्रहरी समायोजन र निजामति ऐन लागु गर्नेतर्फ समितिले राय दिएको गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले बताए । ‘प्रदेशको मातहतमा प्रहरी आउनुप¥यो र प्रदेशको आफ्नै प्रहरी फोर्स हुनुप¥यो । वन ऐनमा संघको दादागिरी कायम छ । यो पनि हट्नुपर्छ,’ उनले भने, ‘त्यसबाहेक धेरै विषयहरु यसमा समेटिएका छन् । वस्तुतः संघीयतालाई बलियो बनाउनकै लागि हामीले जोडबल गरेका छौं ।’ अहिले जिल्ला वन कार्यालय अफिस प्रदेशमातहत र उक्त कार्यालयका प्रमुख संघमातहत छ । ‘प्रदेशअन्तर्गत वन व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशको छ । एक्याप र एमक्याप ल्याएर संघले दादागिरी छोडेको छैन,’ शर्माले अघि भने, ‘यस्तो ज्यादति न्यूनीकरण गर्नुपर्छ । संरक्षण क्षेत्रको म्याद थपको अधिकार समेत प्रदेशमा हुनुपर्छ ।’

प्रतिवेदनले सिडिओ अफिस खारेज गर्नुपर्ने सुझावसमेत दिएको छ । ‘संघीयता खर्चिलो भयो भनेर जनआक्रोश बढेको छ । नागरिकता र पासपोर्ट बाँड्न मात्रै प्रशासन चाहिँदैन । आर्थिक मितव्ययिता अपनाउन संविधान संशोधन गरेरै भए पनि पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई यो अधिकार दिए हुन्छ,’ उनले भने, ‘समन्वय समितिलाई पनि परिमार्जन गर्न आवश्यक छ ।’ कार्यविस्तृतीकरण प्रतिवेदनमा राजनीतिक सेवा भएकोले जनप्रतिनिधिलाई तलब दिने व्यवस्था हटाउनुपर्ने उल्लेख छ ।

‘राजनीति पेसा हो कि सेवा हो ? पेसा भए तलब ठिकै हो, सेवा हो भने मासिक तलब दिने सिस्टम हटाउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बरु उनीहरुलाई बैठकमा आऊजाऊ गरेको भत्ता दिन सकिन्छ । वडा सदस्यसमेतले तलब खाएर देश खोक्रो हुने भयो ।’ शर्माले जनप्रतिनिधिको कामलाई सेवाको रुपमा परिभाषित गर्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width