आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
aaha

पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ । पाँच पटकको विजेता थ्रीस्टार अर्को उपाधि दाउमा हुँदा आर्मी पहिलो पल्ट उपाधि जितेर इतिहास रच्न चाहन्छ । शुक्रबार प्रिम्याच कन्फ्रेन्समा समेत दुबै टिमका प्रशिक्षक र कप्तानले आफूहरू सक्षम रहेको र उपाधि आ–आफ्नो पक्षमा पर्ने दाबी गरे ।

आर्मीका कोच मेघराज केसी फाइनल खेल निकै रोमाञ्चक हुने बताउँछन् । उनले आफू प्रशिक्षकको रुपमा रहँदै उपाधिको ह्याट्रिक गर्ने दाउमा रहेको सुनाए । आर्मीलाई उपाधि जिताएर आहा राराको इतिहासमा नाम लेखाउने उनको भनाइ थियो । उनले आहा राराले नेपालमा अनुभवी खेलाडीको विदेश पलायनबीच नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर जुराएको बताए । कप्तान भरत खवासले फाइनल खेल निकै ‘टफ’ हुनेमा संकेत गर्छन् ।

थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले फाइनलमा मैदानभित्र मात्रै नभई बाहिरको माहोल उत्तिकै खरो हुने बताए । उनले कुनै बेला प्रशिक्षक रहेका मेघराज केसी र आफूबीचको प्रतिस्पर्धालाई समेत रोचक रुपमा हेरेको उनको भनाइ थियो । उनले पहिले गुरूकै निर्देशनमा रहेर खेल्ने गरे पनि आज गुरुसँगै प्रतिस्पर्धा गर्न पाउनु संयोग हो भने । उनले पहिलो खेलमा भन्दा दोस्रोमा, दोस्रोमा भन्दा तेस्रो म्याचमा खेलाडीले सुधारिएको खेल पस्केको बताए । जसका कारण आफूहरुको टिम सक्षम रहेको उनको दाबी छ । केही कमी कमजोरी सुधार उत्कृष्ट खेल पस्किने उनले वाचा गरे ।

थ्रीस्टारका कप्तान विराज महर्जनले आर्मी बलियो टिम भएको र थ्रीस्टार युवा खेलाडीहरुको टिम भएको सुनाए । उनका अनुसार आर्मीमा टिमको अनुभव भए पनि थ्रीस्टारमा खेलको अनुभव भएका युवाहरु रहेको जनाउँदै आफूहरु पनि इतिहास रच्नेतर्फ उन्मुख भएको दाबी गरे ।

उद्घाटनमा आयोजक सहारा क्लब पोखरालाई २–१ ले हराएको थ्रिस्टारले क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल युथलाई १–० ले हराउँदै छैटौं पटक उपाधि नजिक पुगेको हो ।

आर्मीले पहिलो खेलमा नवलपुरको राइजिङ स्टारलाई १–०, क्वाटरफाइनलमा साविक विजेता संकटालाई ३–० र सेमिफाइनलमा लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै सानदाररूपमा फाइनल प्रवेश गरेको हो । २०६० देखि खेल्दै आएको आर्मी १५ पटकको सहभागितामा चार पटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित छ । पछिल्लो समय २०७५ मा आर्मी फाइनलमै थ्रिस्टारबाटै पराजित भएको थिषो । यसपालि त्यो हारको बदला लिने पनि अवसर हुनेछ ।

आहारारामा आर्मी ४ पल्ट फाइनल पुग्दा थ्रीस्टार ६ पटक फाइनल पुग्ने टिम हो । थ्रिस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि चुमेको थियो । २०७४ मा नेपाल पुलिससँग १–० पराजित हँुदै फाइनल पुगेर पनि उपविजेता बनेको थियो । आर्मीले २०६५, २०६६, २०७२ र २०७५ मा फाइनल यात्रा तय गरेको थियो । २०७५ सालको १७ औं संस्करण फाइनलमा थ्रीस्टारसँग आर्मी फाइनलमा चुकेको थियो । त्यसबेला निर्धारित समयको खेल २–२ को बराबरी भएपछि टाइब्रेकरमा ५–४ गोलअन्तरले थ्रिस्टारले उपाधि आफ्नो पक्षमा पारेको थियो ।

आयोजक सहारा क्लब पोखराले बर्सेनि प्रतियोगिता गरेर बचत रकम सहारा एकेडेमीमा खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए । गत ९ माघदेखि सुरू प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । विजेताले नगद १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरूङले बताए ।

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजलाई हराउँदा १ गोल गरेका उनले क्वाटरफाइनलमा संकटालाई हराउँदा व्यक्तिगत २ गोल गरिसकेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width