पोखरा महोत्सवमा १२ करोड कारोबार

आदर्श समाज सम्वाददाता
माघ ८, २०८०
pokhara mahotsab samapan news a

पोखरा । १२ औं पोखरा महोत्सव लक्ष्य हासिल गर्दै सोमबार सकिएको छ । गत २६ पुसदेखि पोखरा अमरसिंह चौरमा भएको महोत्सवमा १२ करोड बराबरको कारोबार भएको छ । यस्तै, २ लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव अर्थ व्यवस्थापन संयोजक सूर्यबहादुर बानियाँले बताए ।

सोमबार महोत्सव समापन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गत वर्ष यती एयरको जहाज दुर्घना भएको क्षेत्रमा निर्माण हुन लागेको झोलुंगे पुलमा युनाइटेड क्लबसँग सहकार्य गर्ने बताए । उनले महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गरिसकेको र सो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने गरी झोलुंगे पुल निर्माण गर्न क्लबसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए ।

क्लबले पोखरा महानगरभित्र देखिने गरी कुनै एक काम गरेमा उक्त काममा पनि महानगरले सहयोग गर्ने उनको भनाइ थियो । पोखरालाई नयाँ वर्ष अगाडि नै पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताए । महोत्सवमार्फत युनाइटेड क्लबले सामाजिक काम गरेर अगाडि बढिरहेको र महानगरभित्र वन्यजन्तुको अध्ययन केन्द्र आवश्यक रहिरहँदा पोखरा जुलोजिकल पार्कको कामलाई प्रदेश सरकारले छिट्टै सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा समेत जोड दिए ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले विजयपुर र सेती नदीबीच भागमा मेला महोत्सव नभइरहँदा युनाइटेड क्लबले महोत्सवको आयोजना गरी अमरसिंह क्षेत्रलाई चिनाउन सफल भइकोे बताए । उनले आगामी महोत्सवमा रुपा गाउँपालिकामा उत्पादन भएका कृषिजन्य सामग्री बिक्री वितरणका लागि गाउँपालिकासँग समन्वय गर्न आग्रह समेत गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले युवाद्वारा सञ्चालित क्लबले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैँमा चुनौतीपूर्ण कार्य रहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए ।

प्राडा कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंहचोकलाई चिनाउने काम गरेको बताए । उनले सेती नदी संरक्षणका लागि क्लबले वडा १० बाटै काम सुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिए ।

पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले पोखरा आफैँमा प्रकृतिले दिएको सुन्दर सहर हो भने । उनले पोखरा महोत्सवमा कति दर्शक आए र कति कमायो भन्दा पनि महोत्सव आयोजना गरी क्लबले समाजिक काममार्फत जनतामा के सन्देश दियो भन्ने कुरा मुख्य रहेको बताए ।

अमरसिंह मावि प्रअ शेरबहादुर थापाले अमरसिंहमा सभा हल अभाव रहेको बताउँदै युनाइटेड क्लबले सामाजिक काममा अगाडि त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

आयोजक क्लब अध्यक्ष राजु श्रेष्ठले दर्शक र सहयोगी संघसंस्थाका महोत्सव सफलतापूर्ण सम्पन्न भएको बताए । क्लबले महोत्सवकै आयोजना गरी सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै यसपालिको महोत्सव सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघसंस्था, कलाकार, पत्रकार, सुरक्षाकर्मी, विभिन्न सञ्चारमाध्यम तथा दर्शकलाई धन्यवाद दिए ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तब्य र महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेका थिए ।

महोत्सवको अन्तिम दिन लोकदोहोरी कलाकार प्रजापति पराजुली, शंकर विरही गुरुङ, जीवन दाहाल, शिवहरि ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुतिमा दर्शक रमाए । लाइभ ब्याण्डतर्फ जिबबको प्रस्तुतिमा युवा झुमे ।

महोत्सवमा टिकट काटेर प्रवेश गर्ने दर्शकमध्ये गोलाप्रथामा बम्पर उपहारअन्तर्गत टिकट नं ९३२ ले स्टिल दराज, टिकट नं २८ ले डाइनिङ सेट २ थान कुर्चिसहित र टिकट नं २०३० ले डाइनिङ टेवुल प्राप्त गरेको छ । त्यसैगरी, रेभल एपमार्फत अनलाइन टिकट काटेका टिकट नं १९७८ ले होटल स्नोपिकमा डिनरसहित एक रात बास, टिकट नं २६१४ ले १ महिनाका लागि वल्र्ड लिंकको इन्टरनेट र टिकट नं २४८६ ले प्याराडिसो बार एन्ड ग्रिलमा १ हजार बराबरको फुड भौचर लक्की ड्रमार्फत जिते ।

Related News

सम्बन्धित समाचार

hero news full width