यती एअर दुर्घटनास्थलमा जब भक्कानिए आफन्त

आदर्श समाज सम्वाददाता
माघ १, २०८०
yeti plane crash (1)

पोखरा । पोखराका चिरञ्जीवी पौडेल सोमबार बिहानै यती एयर दुर्घटनास्थल पुगे । उनका भाइ त्रिभुवन पौडेलको गत वर्ष १ माघमा यती एयर दुर्घटनामा ज्यान गएको थियो । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली दिन पुगेका चिरञ्जीवी त्यहाँ धेरै समय बस्न सकेनन्, केही मिनेटमै फर्किए ।

‘म त बस्नै सकिनँ । श्रद्धाञ्जली दिन्छु भनेर गएको थिएँ, सबै मान्छेहरू रोइरहेको देखेपछि अनेक सोच आयो,’ मलिन हुँदै उनले भने, ‘आँखाभरि आशु लिएर फर्किनेबाहेक के गर्न सकिन्छ र ? हामीलाई अझै त्यहाँ पुग्ने वातावरण नै बनेको रहेनछ । मलाई त बरु यस्ता कार्यक्रम नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।’

त्रिभुवन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष थिए । पत्रकार महासंघ कास्कीमा सचिव, उपाध्यक्ष हुँदै उनी महासंघ गण्डकीको संस्थापक अध्यक्ष थिए ।

पोखराकै बुद्धि ठकुरीको मानसपटलबाट अझै आफ्नी भतिजीको याद हटेको छैन । भतिजी संगीता शाही पनि त्यही दुर्घटनामा परिन् । बिहानै बुद्धिले दुर्घटनास्थलमा पुगेर भतिजीको नाममा बत्ती बाले र आत्मशान्तिको कामना गरे । ‘कहालीलाग्दो घटना भयो । मानवीय त्रुटिले घटना भएको भन्छन् । विभिन्न बहाना बनाएर दुर्घटनाको रिपोर्ट निकालिन्छ,’ उनले भने, ‘हाम्रा आफन्त रिपोर्टले फर्किन्छन्छन् र ? यस्ता घटना क्षम्य छैनन् । सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।’

आफन्तले मृतकको नाममा सामूहिकरूपमा शान्तिपूजा गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे । तर कसैको पनि आँखा ओभानो थिएन । सबै भक्कानिएका देखिन्थे ।

दुर्घटनास्थलमा पोखरा महानगरपालिकाको पहलमा स्मृति स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भमा ५७ नेपाली र १५ विदेशीको नाम अंकित छ ।

स्मृति स्तम्भ अनावरण गर्दै पोखराका मेयर धनराज आचार्यले सोही ठाउँमा झोलुङ्गे पुल र पार्क निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘दुर्घटना उत्सव होइन । सम्झिरहँदा पनि मन पोल्छ तर स्मृति सकिँदैन । उहाँहरुको स्मृतिमा पोखरा महानगरले झोलुंगे पुल र पार्क निर्माण गर्दै छ ।’ उनले स्तम्भसहित वरपर तारबार गर्न १० लाखको बजेट विनियोजन भएको र काम गरिरहेको उनले बताए । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले पनि दिवंगत आत्माको चिरशान्तिको कामना गरे ।

स्थानीय जमुना बस्नेतलाई गत वर्षको उक्त घटनाको अझै झलझली याद आउँदो रहेछ । भनिन्, ‘साना छोराछोरी थिए, आगोको मुस्लो देख्दा के गरौं र कसो गरौं भयो । सबै जना आत्तियौं । अहिले पनि यतातिरबाट प्लेन घुम्दा डर लाग्छ । विमानस्थल नपुगुञ्जेल हेरिरहन्छौं ।’

यती एयर दुर्घटनाको १ माघमा वर्षदिन पूरा भएको छ । नेपाली आकाशमा भएको यो दुर्घटना अहिलेसम्मकै ठूलो मानवीय क्षति हो । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी कल साइनको जहाज विमानस्थल अवतरण गर्नै लाग्दा सेती खोंचमा खसेर दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी चालक दलका सदस्य ४ सहित ७२ जना सेती खोंचमा विलय भएका हुन् ।

नेपालको हवाई इतिहासमै एटिआर ७२–५०० सिरिजको जहाजको यो पहिलो दुर्घटना थियो । नेपाली हवाई आकाशमा आन्तरिकतर्फको सबैभन्दा ठूलो उक्त दुर्घटनाको दिएको पीडाको घाउ अझै आलै छ । उक्त दुर्घटना मानवीय त्रुटिका कारण भएको हालैमात्र जाँचबुझ आयोगले बुझाएको अन्तिम प्रतिवेदनमा औंल्याइएको छ । तर, जे–जसो भए पनि मृतकका परिवार र आफन्तका लागि कहालीलाग्दो उक्त घटनाको त्रासदी बरोबर आइरहन्छ ।

यसैबीच, पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको प्रथम पुण्यतिथि पारेर नेपाल पत्रकार महासंघ कास्कीमा सोमबार श्रद्धाञ्जली सभा भयो । सभामा उपस्थित सबै जनाको आँखा रसाएको थियो ।

दुर्घटनाबारे गठित दुर्घटना जाँच आयोगको प्रतिवेदन अनुसार सो दुर्घटना मानवीय त्रुटि प्रमुख कारक हो भनिएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले गत १२ पुसमा सोको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको थियो ।

गत वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर १७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटनको दुई साता नबित्दै उक्त दुर्घटना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width